काठमाडौँ- आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानी ई -पासपोर्ट को परीक्षण वितरण सुरु गरिने भएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष जनवरी २०२२ देखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले ई पासपोर्टको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ ।
अन्तराष्ट्रिय नागरिक उड्यन संगठन आइकाओले बाध्यकारी निमय लगाएपछि २०६७ पुस ६ मा नेपालले एमआरपी लागू गरेर हस्तलिखित पासपोर्ट विस्थापित गरेको थियो । अहिले बाध्यकारी नभए पनि सुरक्षित र आवागमनलाई सहज गर्न तेस्रो पुस्ताको अर्थात अन्तराष्ट्रिय स्तरको सुरक्षित पासपोर्ट नेपालले जारी गर्न लागेको हो ।
पासपोर्टको बाहिरी आवरणसमेत फरक बनाएको हुँदा कुनै हतारो छैन भने अहिले लिनुभन्दा केही समय ढिलाइ गरेर ई-पासपोर्ट लिँदा राम्रो हुनेछ । विभागले माघदेखि ई-पासपोर्ट जारी गर्ने भने पनि दुई महिना अघिदेखि नै यो जारी गर्न लागेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए । ‘यसको परीक्षण सफल भएमा मंसिरदेखि नै ई-पासपोर्ट सर्वसाधारणलाई जारी गर्नेछौँ,’ उनले भने, ‘सबै ठिक भएका जारी गर्न समस्या हुँदैन ।’
विभागले आगामी माघ महिनादेखि पूर्णरूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम तय गरेको थियो । ‘यति काम गरेछौँ की सबै थोकले साथ पनि दिएको छ । कोभिड भुलेर काम अघि बढेको छ । त्यसैले तोकिएको समयभन्दा अगाडि नै ई-पासपोर्ट जारी गर्न सकिने छ,’ उनले भने, ‘सबै काम सम्पन्न हुँदै गएका छन्। परीक्षण सुरु भएको छ । मंसिर महिनामै ई-पासपोर्ट दिन सकिने छ ।’
एमआरपीको तस्वीर भएको पेज अर्थात् डाटा पेजमा अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फर्म्याटमा मेसिन रिडेबल जोन हुन्छ । राहदानी रिडर मेसिनले रिड गर्दा राहदानीमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन् । विद्युतीय राहदानीमा यसको अलावा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले इमिग्रेसनमा सहज पनि हुन्छ । चिपमा औंठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन्। यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने हुनाले यसको आफ्नै प्रकारको महत्व रहन्छ ।
पोलिकार्बोनेट सहितको डाटाकोे तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हनाले पनि यसलाई जतिसक्दो छिटो जारी गर्न तयारी गरिएको हो । अन्य राहदानीलाई पुरानै रंगमा छोडे पनि साधारण राहदानीको रंग भने परिवर्तन गरेको छ । साधारण राहदानी चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ । यद्यपि राहदानीहरू साधारण, कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुने छन् । सिम्यान्स अभिलेख किताबलाई केही समय लाग्ने विभागको ठहर छ ।
हातले लेख्ने राहादीबाट मेसिनले पढ्ने हुँदै अहिले ई-पासपोर्ट आएको हो । चिप्स र विद्युतीय बारकोड सहित यो विशेष र सुरक्षित राहदानी हो । यो भन्दा अत्याधुनिक पासपोर्ट पनि आइसकेको भए पनि खासै उपयोगमा आएका छैनन् । भिसा नचाहिने मुलुकमा स्मार्ट कार्डहरूको प्रयोग भएको देखिन्छ । त्यही स्मार्ट कार्ड, स्मार्ट फोन पासपोर्ट, क्लाउड पासपोर्ट, भर्चुअल आइडी लगायतकालाई अर्को अर्थात फोर्थ जेनेरेसन पासपोर्ट पनि भिनिन्छ ।
अहिले एमआरपी हुनेले ई-पासपोर्ट बनाई हाल्न अनिवार्य छैन । तर, नयाँ बनाउनेले किन १० वर्षको लागि यो पासपोर्ट बनाईने हुनाले र केहीसाता कुरेर त ई-पासपोर्ट नै आउँने पासपोर्ट विभागका निर्देशक शरद अरनले बताए । यसमा विदेशस्थित कुटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयहरूले रुजु गर्ने लाइभ इन्रोलमेन्ट गर्ने र भेलिडेट गर्ने कार्य गरी सकेपछि राहदानी विभागले बनाउने काम गर्छ ।
एमआरपीका लागि आईसीआर फर्म स्क्यान गर्दा त्रुटि हुने सम्भावना थियो । र, भएका पनि छन् । तर ई-पासपोर्ट त्यसबाट मुक्त हुने, अरनले बताउँदै भने,‘यसमा डिजिटल रूपमा फर्म भर्नुपर्ने हुनाले त्रुटि हुने सम्भावना पनि कम हुनेछ ।’ अरन बेलायतमा नियोग उपप्रमुख हुनु अघि पनि राहदानी विभागमा नै थिए । अहिले फर्केपछि केही समय राष्ट्रपति कार्यालय बसेर अनुभवी भन्दै पुन: विभागमा ल्याइएको हो । महानिर्देशक आर्यालसँग मिलेर ई-पासपोर्ट जतिसक्दो छिटो तयार गर्नेमा लागि परेका छन् ।
‘विश्वमा हाल चलेको सबैभन्दा सुरक्षित र भरपर्दो राहदानी हुनाले विश्वासयोग्य पनि छ । नेपालले आइकाओबाट पब्लिक कि डाइरेक्टरी (पीकेडी) पनि पाइसहेकाले थप सहज र सम्मानित हुनेछ,’ अरनले भने, ‘विदेश यात्रामा ई-पासपोर्टले निकै सहजता ल्याउँछ । विद्युतीय गेटहरूमा पनि आफैं स्क्यान गरेर जान सकिने हुन्छ । लाइभ इनरोलमेन्ट गर्नुपर्ने हुनाले पहिले जस्तै तस्बिरहरू नमिलेर दुःख पाउनुपर्ने पनि हुँदैन ।’
नेपालमा नै रहेर ई-पासपोर्ट बनाउनेको हकमा राष्ट्रिय परिचय पत्रको नम्बर आवश्यक पर्ने हुनाले त्यसको नम्बर लिन आवश्यक छ । परिचयपत्र नभए पनि त्यसको नम्बरको लागि भए पनि परिचयपत्र बनाउन फर्म भर्ने कार्य गर्न आवश्यक छ ।
यो समाचार ई कागजबाट खोजी पढ्नेकुरामा पोस्ट गरिएको हो।