६ महिनादेखि बन्द रहेको नयाँ ड्राइभिङ लाइसेन्स (चालक अनुमतिपत्र)को आवेदन फारम खुला गरिएको छ। यातायात व्यवस्था विभागले कोरोना संक्रमण बढ्न सक्ने भन्दै गत वैशाख १६ गतेदेखि नयाँ आवेदन फारम भर्न बन्द गरेको थियो।
विभागले सोमबार रातिदेखि नै अनलाइन प्रणालीबाट फारम भर्न सक्ने गरी आवेदन खुला गरेकाे हो। विभागका प्रवक्ता लोकनाथ भुसालले लामो समयदेखि कैयौँ व्यक्तिहरू लाइसेन्स निकाल्न पर्खाइमा बसेकाले नयाँ आवदेन खुला गरिएको बताए। उनका अनुसार अब नियमित रूपमा फारम भर्न सकिनेछ। आवेदन संख्याका आधारमा विभागले चरणबद्ध रूपमा लाइसेन्सको परीक्षा सञ्चालन गर्नेछ।
‘अब हामीले कार्यालयको कोटा निर्धारण गरी आवेदन लिन सुरु गरेका छौँ,’ उनले भने, ‘विगतमा जसरी असीमित आवेदन लिँदैनौँ, चरणचरण रूपमा आवेदन लिन्छौँ।’ उनका अनुसार एक वर्षअघिदेखि नै आवेदन दिएकाहरूले लिखित र प्रयोगात्मक परीक्षा कुरिरहेका छन्।
विभागले परीक्षामा सोधिने प्रश्नको नयाँ ढाँचा र नयाँ निर्देशिका जारी गरेको प्रवक्ता भुसालले जानकारी दिए। उनले लिखित परीक्षामा अब चार–चार नम्बरका २५ वटा प्रश्न सोध्ने नियम लागू हुने बताए। नयाँ आवेदकहरूले यसै ढाँचाअनुसार लिखित परीक्षाको तयारी गर्नुपर्नेछ। लिखित परीक्षा उत्तीर्ण गर्नका लागि ६० अंक ल्याउनुपर्ने विभागले जनाएको छ।
ट्रायलमा गल्ती गरे पनि सहज
यसअघि प्रयोगात्मक परीक्षा (ट्रायल)मा एउटा मात्रै गल्ती गरे पनि लाइसेन्स लिन अयोग्य मानिन्थ्यो। फेरि सुरुदेखि नै ट्रायल दिनुपर्ने व्यवस्था थियो। तर, विभागले जारी गरेको नयाँ निर्देशिकाअनुसार अब ट्रायलको चरण–चरणमा फरकफरक अंकभार दिइने व्यवस्था गरिएको छ। जसअनुसार एक ठाउँमा सामान्य गल्ती गरे पनि अर्को ठाउँमा गल्ती नगरेमा जोडिएको नम्बरका आधारमा लाइसेन्स लिन योग्य मानिनेछ। विभागले सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनेको संख्या धेरै रहेको भन्दै नयाँ निर्देशिकाअनुसार अंकभार थपघट हुने प्रावधान ल्याएको हो।
source:nayapatrika