सिद्धार्थ बैंक ‘बेस्ट अपरेशन बैंक इन साउथ एसिया’ अवार्डबाट सम्मानित भएको छ ।
विश्व बैंक समूहको सदस्य इन्टरनेश्नल फाइनान्स कर्पोरेशनद्वारा (आईएफसी) आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो । आईएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्पर्धात्मक प्रक्रियाको आधारमा विभिन्न विधामा ४८ विजेता छनोट गरिएको हो । जसमध्ये सिद्धार्थ बैंकले सो अवार्ड प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।
आईएफसी अन्तर्गत रहेका नेटवर्क बैंकहरु मध्ये आफ्ना ग्राहकलाई सरल र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रूपमा प्रस्तुत हुन सफल भएको बताइएको छ ।
आईएफसीकातर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गरे ।
ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ उच्चस्तरीय सेवा प्रदान गर्न यस उपाधिले थप प्रेरित गरेको बैंकले जनाएको छ ।
News Source: karobardaily