हालै विभिन्न संचारमाध्यममा आएको सूचना अनुसार प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । अहिलेसम्म हैजाले ७ पटक सम्म विश्वमा महामारीको रुप लिएको छ। अन्तिम महामारी सन १९९१ मा अमेरिकामा देखिएको थियो। तुरन्तै समाजमा फैलन सक्ने र समयमा उपचार नपाए केही घण्टामा मृत्यु पनि गराउने भएकाले आउनुहोस् आज यसबारे केही चर्चा गरौं।
हैजा भिब्रियो कलेरा नामक ब्याक्टेरियाले आन्द्राको सन्क्रमण गराई छिट्टै नै शरीरमा पानीको मात्रा नपुगेर जलबिनियोजन गराउने रोग हो। संसार भरीमा १ दशमलव ३ अर्ब मानिसहरु हैजाको जोखिममा छन् भने वर्षेनी १० देखि ४० लाख केस र ९५००० जना व्यक्तिको मृत्यु हुने तथ्यांक छ। हैजा संक्रमित हरेक १० जनामा १ जनालाई गम्भिर किसिमको असर देखिने गरेको छ।
हैजाको जोखिम कसलाई हुन्छ त?
हामीले पिउने पानी तथा खानामा हैजा गराउने किटाणु सन्क्रमित भई दूषित भएमा र व्यक्तिगत सरसफाइमा कमी भएमा, हैजा सन्क्रमित बिरामीको हेरचाह गर्ने आफन्त र स्वास्थ्यकर्मीहरु, कुपोषित बच्चाहरु, २ वर्ष मुनीका बालबालिकाहरु, रोग प्रतिरोधात्मक शक्ति कम भएका, ब्लड ग्रुप ओ भएका व्यक्तिहरुमा।
लक्षणहरु
दुषित खाना वा पानीको प्रयोग गरेपश्चात १२ घन्टा देखी ५ दिन भित्रै लक्षण देखा पर्दछ। प्रायमा अचानक पानी जस्तो तारन्तार दिसा हुन्छ भने केहीमा सुरुवाती अवस्थामा पेटमा असजिलो हुने र खान मन नलाग्ने हुन सक्छ। पछि गएर पिडारहित चौलानी पानी जस्तो पातलो दिसा भइरहन्छ जुन माछा जस्तो गन्ध पनि आउन सक्छ। बान्ता पनि पानी जस्तो तारन्तार हुने गर्दछ। खुट्टाका मासुहरु बाउडिने, असाध्यै तिर्खा लाग्ने, झिझिने तथा छटपटाहट हुने, पिसाबमा कमी आउने, सानो बच्चाहरुमा तालुमा खाल्टो पर्ने, आँखाहरु भित्र गाडीने, आँसु नआउने, ओठमुख सुख्खा हुने, छालाको चमक हराउने, सुरुमा एकदम तिर्खाएको जस्तो देखिए पनि पानी पिउन पनि नसक्ने भई बेहोस् र अचेत हुन थाल्ने गर्दछन।
जटिलता
समयमै उपचार नपाएमा शरीरमा पानीको मात्रा कमी भई प्रेसर कम हुने, मिर्गौला फेल हुने, मुटुमा असर गर्ने, ग्लुकोज कम हुने तथा कुनैमा छारेरोग जस्तो शरीर काम्ने पनि हुन्छ। समयमा उपचार हुन नपाएमा केही घण्टामै मृत्यु समेत हुन सक्छ।
उपचार
झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा १ पुरिया जीवनजल प्रयोग गरी राम्ररी घोल्ने र पटकपटक गरी खुवाउने ,प्रशस्तै मात्रामा झोलिलो पदार्थ खाने,स्वास्थ्यकर्मीले दिएको सल्लाह बमोजिम आवश्यकता अनुसार एन्टिबायोटिक तथा जिन्कको प्रयोग गर्ने ।
बर्षायाममा पानीको स्रोत दूषित भई झाडापखाला तथा हैजाको प्रकोप बर्षेनी फैलिदै आएको छ । रोगका किटाणुहरु गर्मी याममा बढी सक्रिय हुने भएकाले पनि हिउँदमा भन्दा बर्षामा बढी रोग फैलिने सम्भावना बढी हुन्छ ।
हैजा तथा झाडापखाला सरुवा रोग भएकाले धेरै मानिसहरुमा फैलिन गई महामारीको रुप पनि लिन सक्छ । त्यसैे रोग लागेर उपचार गराउनुभन्दा रोगै लाग्न नदिनु उत्तम हुन्छ । यसका लागि निम्न उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ ।
१. खानेपानीको मुहान सफा राख्ने : बर्षातको बेला खानेपानीको मुहानमा फोहोर बस्तुहरु जुत्ता, चप्पल, कपडा, मरेका पशुपंक्षी, काठपात, मानिस लगायत पशुचौपायाको दिसापिसाब मिसिन सक्छ । त्यसैले पानीको मुहान बेलाबेला सफा राख्नुपर्छ र यस्ता वस्तुको प्रवेश नहुने तरिकाले भल काट्ने वा गाइवस्तु तथा केटाकेटी भित्र छिर्न नसक्ने तरिकाले तारबार गर्नुपर्छ ।
२. खानेपानी शुद्धिकरण गरेर मात्र पिउने : धारामा आएको पानी आँखाले हेर्दा सफा देखिएपनि त्यसमा विभिन्न किटाणुहरु मिसिएको हुन सक्छ । डाक्टरहरु खानेपानीको शुद्धिकरण गरेर मात्र पिउन सल्लाह दिन्छन् । यसका लागि आवश्यक मात्रामा क्लोरिन, ब्लिचिङ पाउडर वा आक्वा ट्याब प्रयोग गर्न सकिन्छ । सबैभन्दा उत्तम घरेलु उपाय पानी उमालेर मात्र पिउनुपर्ने डाक्टरको सुझाव छ ।
३. साबुन पानीले मिचिमिची हात धुने : हात चलायमान अंग भएकाले घरी घरी फोहोरवस्तुको सम्पर्कमा पुग्न सक्छ । त्यसैले खाना खानु अघि, दिसा गरिसकेपछि, फोहोरमैला छोएपछि, र बच्चाको दिसा धोएपछि साबुन पानीले हात मिचीमिची धुनुपर्छ ।
४. सफा राख्ने : घर वरिपरिको वातावरण सधैं सफा राख्नुपर्छ । आँगन, चोक, चर्पी सधैं सफा राखेमा झाडापखाला फैलिन पाउँदैन ।
५. चर्पीमा मात्र दिसापिसाब गर्ने : जथाभावी दिसापिसाब गर्नुहुँदैन । चर्पीमा मात्र दिसापिसाब गर्ने, बच्चाको दिसापिसाब पनि चर्पीमा मात्र विर्सजन गर्ने बानीले झाडापखालाको संक्रमणबाट बच्न सकिन्छ । चर्पी नभएको ठाउँमा खाल्डो खनेर माटोले पुर्ने गरेमा पनि दिसापिसाबमा भएको किटाणु फैलिन पाउँदैन ।
६. सफा र ताजा खानेकुरा मात्र खाने : खानेकुरा पकाउँदा भाँडाकुँडा राम्रो सँग पखालेर मात्र पकाउने, सधै ताजा खानेकुरा मात्र खाने गरेमा झाडापखाला लाग्न पाउँदैन ।
७. झिँगा भन्केको खानेकुरा नखाने : बाहिर खुला ठाउँमा बेच्न राखिएका, झिँगा भन्केका खानेकुरा खानु हुँदैन । त्यस्ता खानेकुरा बासी, सडेगलेको हुन सक्छ । यस्तो खानेकुरा खाँदा झाडापखाला लाग्ने सम्भावना धेरै हुन्छ ।
९. बच्चालाई आमाको दुध मात्र खुवाउने : बच्चा जन्मेको १ महिना देखि ६ महिनासम्म आमाको दुध मात्र खुवाऔँ । ६ महिना पुगेपछि थप पोषिला ताजा खानाहरु खुवाउने र २ वर्ष नहुन्जेलसम्म आमाको दुध खुवाई रहने गरौं ।
१०. काँचै खान मिल्ने खानेकुरा पखालेर मात्र खाने : गाजर, मूला, काँक्रो, स्याउ जस्ता नपकाई खान मिल्ने खानेकुरा राम्ररी सफा पानीले पखालेर मात्र पिउने गरौँ ।
११. घरसँगै जोडेर गाईवस्तु नपाल्ने : घरसँगै जोडेर गाईवस्तुको गोठ बनाउँदा पनि दुर्गन्ध फैलिने, गाईवस्तुको मलमूत्रमा भएका रोगका किटाणुहरु प्रसार भई झाडापखाला लगायत अन्य रोगहरु फैलिने सम्भावना धेरै हुन्छ ।
१२. कुकुरको दिसा तथा कुखुराको सुलीलाई नियन्त्रण गर्ने : मानिसले चर्पीमा मात्र दिसापिसाब गरे झैं कुकुर तथा कुखुरालाई पनि निश्चित स्थानमा मात्र दिसा गर्न लगाई विसर्जन गर्नुपर्छ । मानिसको दिसामा जस्तै कुकुरको दिसा र कुखुराको सुलीमा पनि हानिकारण ब्याक्टेरियाहरु हुने भएकाले मानिसको संसर्गबाट टाढै राख्नुपर्छ ।
१३. पानी राख्ने भाँडालाई नियमित सफा राख्ने : घरमा पानी राख्ने भाँडा सफा हुनुपर्दछ । भाँडा सफा भएपनि बाहिरको धुलो, किटाणु लगायत वस्तु पर्न सक्ने भएकाले पानीलाई सधैँ छोपेर मात्र राख्ने गरौं ।
१४. मरेका पशुचौपायाको मासु नखाने : बर्षातको भेल बाढीले बगाएर ल्याएका पशुचौपाया तथा माछा खानुहुँदैन । यसले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्छ ।
१५. झाडापखाला लागि हालेमा तुरुन्त स्वास्थ्य चौकीमा लैजाने : झाडापखाला लागेको मानिसबाट अर्को व्यक्तिमा पनि सर्न सक्ने भएकाले तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
Information Source: Washkhabar, Swasthyakhabar