मुहम्मद युनुस बने बंगलादेशका अन्तरिम सरकार प्रमुख

बंगलादेशमा मुहम्मद युनुस अन्तरिम सरकार प्रमुख बनेका छन्।

मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेका हुन्।

आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व गरिरहेका नहिद इस्लाम र सेना प्रमुखसहित मंगलबार राष्ट्रपति शाहबुद्दिनसँग बैठक गरेका थिए।

आन्दोलनरत विद्यार्थीहरूको मागअनुसार नै राष्ट्रपति शाहबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेको अमेरिकी समाचार संस्था द न्युयोर्क टाइम्सले जनाएको छ।

युनुसले सन् २००६ को नोबल पुरस्कार पाएका थिए। उनले बंगलादेशमा माइक्रोफाइनान्सको अवधारणा सुरूवात गरेका थिए।   

न्युयोर्क टाइम्सका अनुसार गरिबहरूलाई पनि आर्थिक उन्नति गर्ने अवसर मिलोस् भन्ने हेतूले उनले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गरेका थिए । बैंकहरूले ऋण नपत्याउने गरिब नागरिकहरूले उनले स्थापना गरेको ग्रामीण बैंकबाट ऋण पाउँथे। सोही कार्यका लागि उनलाई नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो।  

उनी शेख हसिनाका कट्टर विरोधीसमेत मानिन्छन्। अब बंगलादेशमा उनकै नेतृत्वको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका मागहरू सम्बोधनका लागि काम गर्नेछ।

अन्तरिम सरकारमा रहने अन्य सदस्यहरूको नाम केही दिनमा घोषणा हुने बताइएको छ।

News From Setopati