कालजयी स्रष्टाको महाप्रस्थान

काठमाडौँ, भदौ ३ गते । नेपाली काव्यजगत्का शिखर पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरे हामीबीच रहनुभएन । सात महिनादेखि विभिन्न स्वास्थ्य समस्याका कारण थलिनुभएका राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मङ्गलबार बेलुकी ५ः५५ बजे लैनचौरस्थित निवासमा निधन भएको हो ।
स्व. घिमिरेका ज्वाइँ हेमाङ्गराज अधिकारीका अनुसार सात महिनादेखि अस्वस्थ घिमिरेको चार दिनदेखि बोलीसमेत बन्द भएको थियो । उहाँको पशुपति आर्यघाटमा बुधबार बिहान १० बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । नेपाली सेनाका मानार्थ सहायक रथीसमेत रहनुभएका राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी गरेको नेपाली सेनाले जनाएको छ ।
लम्जुङ जिल्लाको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मनुभएका घिमिरे तीन वर्षको हुँदा आमा बित्नुभएको थियो । छ वर्ष हुँदा अक्षर चिनेका घिमिरे ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडाको संस्कृत पाठशालामा पढ्न पुग्नुभएको थियो । त्यसपछि काठमाडौँको रानीपोखरीस्थित संस्कृत प्रधान पाठशाला हुँदै तीनधारा संस्कृत पाठशालाबाट प्रथमा उत्तीर्ण गर्नुभएका घिमिरेले बनारसको क्विन्स विश्वविद्यालयबाट शास्त्री अध्ययन गर्नुभयो ।

कालजयी रचना
वि.सं. १९९४ मा आफ्नो पहिलो कृति ‘नवमञ्जरी’ खण्डकाव्यमार्फत नेपाली साहित्यिक फाँटमा अगाडि बढ्नु भएका राष्ट्रकवि घिमिरेका अधिकांश रचनाहरू कालजयी मानिन्छन् । उहाँ आफ्नो समकक्षीदेखि पछिल्लो पुस्तासम्म उत्तिकै लोकप्रिय र सम्मानित मानिनुहुन्छ । राष्ट्रकवि घिमिरेको साहित्यिक योगदान र व्यक्तित्वबारे साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले भन्नुभयो, “उमेरले स्रष्टाहरू धेरै वर्ष बाँचे पनि आफ्नो उर्वरकालदेखि अहिलेसम्मका पुस्ताको प्रतिनिधित्व गर्न सक्ने एक मात्रै स्रष्टाका रूपमा राष्ट्रकविको परिचय बनेको छ ।”
धेरै स्रष्टाले आफ्नो कालखण्डको मात्रै प्रतिनिधित्व गर्छन् तर राष्ट्रकवि यसमा अपवाद रहनुभयो । “उहाँ सबैकालको प्रतिनिधित्व गर्न सक्ने एक मात्र स्रष्टाको परिचय बनाएर बिदा हुनुभयो,” श्रेष्ठले भन्नुभयो । उहाँ आफ्नो समकक्षीदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविवर धरणीधर कोइराला, भूपि शेरचन, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, धर्मराज थापालगायत सबैबीच लोकप्रिय मानिनुहुन्थ्यो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा पछिका सर्वाधिक लोकप्रिय स्रष्टाका रूपमा राष्ट्रकवि घिमिरेलाई लिइन्छ । स्वच्छन्दतावादी र परिष्कारवादी कविका रूपमा परिचित राष्ट्रकवि घिमिरेका नेपाली हामी रहौँला कहाँ, गाउँछ गीत नेपाली, फूलको थुङ्गा बगेर गयो, आजै र राति के देखेँ सपनी, झमझम पानी प¥यो असारको रात, सारङ्गी त रेटे पनि बज्छ मीठो धून लगायत दर्जनौँ कालजयी गीत नेपालीको मनमनमा गुञ्जिएका छन् ।
‘राष्ट्रकवि’ उहाँको कालजयी चिनारी हो । शोककाव्यमा उहाँका रचना सबैभन्दा उत्कृष्ट मानिन्छन् । किन्नरकिन्नरी, गौरी, मालती मङ्गले, शकुन्तला लगायतका दर्जनौँ कृति नेपाली समाजमा लोकप्रिय छन् । त्यति मात्र होइन उहाँका राष्ट्रिय गीतहरू पनि उत्तिकै कर्णप्रिय छन् ।
एक युग बाँचेर नेपाली साहित्य भण्डारमा ‘युगयुग’ योगदान गर्नुहुने घिमिरेको ‘अश्वस्थमा’ कृति नोबल पुरस्कारका लागि नेपालबाट सिफारिस गरी पठाइएको थियो । साहित्यका बहुआयामिक विधामा कलम चलाए पनि राष्ट्रकवि आफ्नो मूल विधा साना साना फुटकर रचना तथा कृतिलाई नै मान्नुहुन्थ्यो । बाल साहित्यकारका क्षेत्रमा उहाँको सार्वजनिक चिनारी पूरै लुकेको छ । स्रष्टा तथा साहित्यकारसित उहाँले आफू महाकाव्य लेखनमा त्यति रुचि नभएको र केहीको आग्रहमा मात्रै लेख्ने गरेको बताउनुहुन्थ्यो । पछिल्ला सार्वजनिक कार्यक्रममा राष्ट्रकवि घिमिरेले आफू महाकाव्य लेखनमा व्यस्त रहेको सुनाउनुहुन्थ्यो । तर अन्तिम महाकाव्य ‘ऋतम्भरा’ नेपाली साहित्य फाँटमा उपहार दिने राष्ट्रकविको सपना भने पूरा हुन सकेन ।
राष्ट्रकविका पारिवारिक सदस्य हेमाङ्गराज अधिकारीका अनुसार ऋतम्भरा महाकाव्य लगभग सकिएको छ । त्यसका केही सर्ग राष्ट्रकविलाई चित्त बुझेको थिएन, त्यो सच्याउन पाउनुभएन ।
लैनचौरस्थित राष्ट्रकविको आँगनमा पछिल्लो केही वर्ष नेपाली साहित्यका धेरै साहित्यिक भेटघाट र कार्यक्रमहरू भए । साहित्यिक भेटघाट र कार्यक्रममा निकै नै ओजपूर्ण र जोशिलो भाषण दिनुहुने घिमिरे आफूलाई भेट्न निवासमा पुगेका स्वेदशी तथा विदेशी साहित्यका पारखीलाई आफ्ना रचना निकै उत्साहपूर्वक सुनाउने गर्नुहुन्थ्यो ।

गोरखापत्र परिवारका सदस्य
राष्ट्रकवि माधवप्रसाद घिमिरेले गोरखापत्रमा समेत सेवा गर्नुभएको थियो । २००५ सालमा गोरखापत्रमा सहायक सम्पादक भएर सेवा गर्नुभएका घिमिरेले १९९२ सालमा १४ वर्षकै उमेरमा ‘ज्ञानपुष्प’ शीर्षक रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएको थियो । उहाँका दुई परिवारबाट छ छोरी र दुई छोरा हुनुहुन्छ । पहिलो श्रीमती गौरीको २००४ सालमा निधनपछि महाकालीसँग दोस्रो विवाह गर्नुभएको थियो ।

राष्ट्रपतिबाट समवेदना प्रकट
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले स्तब्ध भएको बताउनुभएको छ ।
शोक सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘‘काव्य र कविताका माध्यमबाट राष्ट्र, राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पु¥याउनुभएको योगदानलाई हामी सधैँ सम्झिरहने छौँ ।’’
राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै राष्ट्रपति भण्डारीले शोक विह्वल परिवारमा गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ ।

विशिष्ट साधक गुमायौँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ,
‘‘उहाँको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको छ ।”
उहाँले सामाजिक सञ्जालमा ट्विट गर्दै भन्नुभएको छ, “साहित्यमार्फत उहाँले मुलुकलाई लगाउनु भएको गुन नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।’’ उहाँले भन्नुभएको छ, ‘‘शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु । साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’’
यसैगरी नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले भन्नुभएको छ, ‘‘राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहत भएको छु, नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने छ र उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाइ लिएको छ ।’’
पूर्वप्रधानमन्त्री झलनाथ खनालले महान् साहित्यकार राष्ट्रकवि घिमिरेले नेपाली साहित्यको विकास, विस्तार र प्रवद्र्धनमा असाधारण योगदान गर्नुभएको चर्चा गर्नुभएको छ ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ट्विट गर्दै भन्नुभएको छ, “असङ्ख्य उदाहरण बनेर महाबिश्रममा जानुभयो । एक युग बाँच्नु भयो, युग युग अमर रहनु हुनेछ ।”  Source: Gorkhapatraonline

Facebook Comments