डा. उत्तम उपाध्याय न्यौपाने

वैदिक सनातन हिन्दु संस्कारमा श्राद्ध महत्त्वपूर्ण कर्ममध्येको एक हो। श्रद्धा मूलमा रहेका श्राद्धको मानव जीवन पद्धतिमा महत्त्व छ। श्रद्धा शब्दका दुई भाग छन्– श्रत् र धा श्रत्को अर्थ सत्यप्रतिको विश्वास र धाको अर्थ धारणा गर्नु हो। जुन भावनाले ईश्वरीय दिव्यता र शास्त्रीय आदेशमा सम्पूर्ण विश्वास धारणा गर्छ, त्यो श्रद्धा हो। मार्कण्डेय पुराणमा भनिएको छ–

‘श्रद्धया परया दत्तं पितृणामनामगोत्रतः।
यदादारास्तु ते जातास्तदाहारत्वमेतितत्।।’

अर्थात् परम श्रद्धाका साथ पितृहरूको नाम, गोत्र उच्चारण गर्दै जुन अन्न प्रदान गरिन्छ; त्यो आहारका रूपमा परिणत हुन्छ।

श्राद्धकालमा रामगीता, पितृसुत्त र भागवत आदि पाठ गर्नाले बुद्धि मन र कर्म तीनै कुरा सिद्धिका लागि फलदायी मानिन्छ ।

हिन्दु धर्ममा कर्म तीन किसिमले बताइएको छ। यसमा नित्य, नैमित्तिक र काम्यकर्म छन्। जसअनुरूप श्राद्धका भेदहरू यस प्रकारले व्याख्या गरिएको छ। नित्य श्राद्ध : दिनदिनै गरिने श्राद्धलाई नित्य श्राद्ध भनिन्छ। यो श्राद्ध वै श्रदेरहित हुन्छ। नैमित्तिक श्राद्ध : माता–पिता आदिमध्ये कसैको मृत्युतिथिमा गरिने एकोद्धिष्ट श्राद्धलाई नैमित्तिक श्राद्ध भनिन्छ। काम्य श्राद्ध : अविष्ट सिद्धिका लागि गरिने श्राद्धलाई काम्य श्राद्ध भनिन्छ। वृद्धि श्राद्ध : अभ्युदय वा विवाहवारि या सप्ताह पुराणमा गरिने श्राद्धलाई आभ्युदयिक श्राद्ध भनिन्छ। पार्वण श्राद्ध : औंसी या पर्वमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ। एकपार्वण श्राद्ध : सोह्र श्राद्ध तिथिभित्र मृत्यु भएमा तीनवटा पिण्ड दिएर गर्ने श्राद्धलाई एकपार्वण श्राद्ध भनिन्छ। जसअनुरूप सपिण्ड श्राद्ध, गोष्ठी श्राद्ध, शुद्धि श्राद्ध, कर्मांग श्राद्ध, दैविक श्राद्ध, यात्रा श्राद्ध र महालय श्राद्ध रहेका छन्। विशेषगरी श्राद्ध दुईपटक गरिन्छ। मृत्यु तिथि अश्विन कृष्ण प्रतिपदादेखि अमावश्यासम्म १५ दिन र भाद्र शुक्ल पूर्णिमाका एक तिथि जोडेर १६ दिनको समय अवधिलाई सोह्र श्राद्ध भनिन्छ। संस्कृत भाषामा यसलाई महालयपार्वण श्राद्ध भन्ने प्रचलन रहेको छ। यस समयलाई पितृहरूलाई तृप्ति तुल्याउने समय भनिन्छ। त्यसैकारणले हिन्दु संस्कारभित्र रहनेहरूले श्राद्ध कर्म गर्छन्, दिवंगत आत्माहरूको मुक्तिका निमित्त पितृपक्ष र मृत्यु तिथिमा घरतर्फ तीन पुस्ता श्राद्ध, मामा घरतिर चार पुस्तालाई तर्पण गर्ने प्रचलन रहेको छ। पौराणिक ग्रन्थअनुसार विष्णु पुराण, नृसिंह पुराण, गरुड पुराण, श्रीमद् भागवत महापुराणले पनि सोह्र श्राद्ध अनुसरण प्रसंग पाइन्छ। त्रेत्रायुगमा श्री रामचन्द्रले वनवास बस्दा सोह्र श्राद्ध गरेको पाइन्छ।

श्राद्ध गर्दा मुख्य दुई अंग मानिएको छ। श्राद्धको सुरुमा तर्पण गरिन्छ। हाम्रा पितृहरूको रक्षा र हामीले दिएको अन्न एवं जलस्वधादेवीमार्फत आआफ्नो लोकमा पुर्‍याइदिने सम्पूर्ण ऋषिहरूलाई तर्पण गरिन्छ। दोस्र्रो पक्ष दीपपूजन, ब्राह्मण पूजनसहित पिण्डदान गरिन्छ। यो किन र कसका लागि भने ब्राह्मणदेखि स्तम्वपर्यन्त सबै चाराचर स्थावर, जंगमले प्राप्त गर्छन्। श्राद्ध गर्दा धैरै विधि र नियम छन्, जसअनुरूप स्थानको शुद्धीकरण हुन आवश्यक छ। ब्राह्मण वेद अर्थको ज्ञाता, गृहस्थि, सत्य वचन बोल्ने, मातापिताको सेवक पत्नी सन्तानलाई माया गर्ने हुनुपर्छ।

श्राद्धमा प्रयोग गरिने सामग्री गंगाजल, तुल्सीपत्र, सेतो फूल, जौ, तिल, जनै, सुपारी, दुना, टपरी, गाईको दूध, कुश, छोरीको छोरो, चामल सिधा अन्न शुद्ध र पवित्र हुनुपर्छ। श्राद्धकालमा रामगीता, पितृसुत्त र भागवत आदि पाठ गर्नाले बुद्धि मन र कर्म तीनै कुरा सिद्धिका लागि फलदायी मानिन्छ। श्राद्ध गर्दा घरमा बसेर वा नभए पवित्र तीर्थ या गंगाको किनार र शुद्ध भूमिमा गर्न सकिन्छ। अतः सबैको यो लोक र परलोकसमेत राम्रो होस् तथा सबैको सद्गति प्राप्त गरून् भनी सन्तान भएर पितृकार्य अर्थात् पितृऋण तपाईंहामीले तिर्‍यौं भने जीवन सुःख, शान्ति समृद्धिको भएर जान्छ।

Source :Annapurnapost
 

Facebook Comments