एमडी/एमएस पढ्न खुलामा ५०, सरकारी ४० र विदेशीलाई १० प्रतिशत कोटा

सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७’ जारी गरेको छ।

मन्त्रिपरिषदको हालैको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ५४ ले दिएको अधिकार प्रयोग गरी सरकारले नियमावली जारी गरेको हो।

चिकित्सा शिक्षा आयोगले गत माघमा बनाएको नियमावलीका प्रस्तावमाथि कानुन, अर्थ, शिक्षा र स्वास्थ्य मन्त्रालयमा छलफलपछि मन्त्रिपरिषदमा पेश भएको थियो।

आयोगले नियमावलीमा प्रस्ताव गरेका केही व्यवस्था स्वास्थ्य मन्त्रालयले राय दिने क्रममा हेरफेर गरेको थियो।

विशेष गरी स्नातकोत्तर तह (एमडी/एमएस) तहका लागि प्रवेश परीक्षा दिन सिट निर्धारण गर्ने विषयमा खुल्ला प्रतियोगितालाई जम्मा ५० प्रतिशत कोटा निर्धारण हुने भएपछि सात हजारभन्दा बढी संख्यामा रहेका गैरसरकारी चिकित्सकहरूले विरोध गरेका थिए।

आयोगले नियमावलीमा खुलाका लागि ७० प्रतिशत सिट राख्नुपर्ने उल्लेख गरेकोमा स्वास्थ्य मन्त्रालयले राय दिने क्रममा घटाएर ५० प्रतिशतमा झारेको थियो। मन्त्रिपरिषदले उक्त व्यवस्थालाई नै नियमावलीमा निरन्तरता दिएको हो।

अब नियमावलीअनुसार स्नातकोत्तर तहमा विद्यार्थी छनौट गर्दा खुला प्रतिस्पर्धाबाट पचास प्रतिशत, सरकारी सेवामा कार्यरत व्यक्तिबाट चालिस प्रतिशत र विदेशी विद्यार्थीबाट दश प्रतिशत भन्ने व्यवस्था समेटिएको छ।

Facebook Comments