परीक्षा सार्न नेविसंघको माग

कोरोना संक्रमणको त्रास कायम नै रहेको भन्दै नेविसंघले त्रिभुवन विश्वविद्यालयलगायतका शैक्षिक संस्थाले तोकेका परीक्षाका कार्यतालिका फेरबदल गर्न माग गरेको छ ।

अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै कोरोना, बाढीपहिरो र यातायातको अवस्थालाई हेरेर कार्यतालिका फेरबदल गर्न माग गरेका हुन् । 

‘एकातर्फ कोरोना संक्रमणको त्रास कायमै रहेको, अर्कोतर्फ बाढीपहिरो र डुबानले जनजीवन असहज भइरहेको र भदाै १ गतेदेखि मात्रै लामो दूरीका सवारीसाधन खुल्ने अवस्था रहेकोले विद्यार्थी तत्काल परीक्षामा सामेल हुन सक्ने अवस्था देखिँदैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘परीक्षाका लागि तयारी गर्नसमेत समय अपर्याप्त रहेको र शैक्षिक संस्थादेखि धेरै लामो दूरीमा आफ्ना घर भएमा रहेका विद्यार्थी यावत् कारणले परीक्षा केन्द्रमा आइपुग्न समस्या रहेकोले यो व्यावहारिक समस्यालाई ध्यान दिँदै परीक्षाको कार्यतालिकामा फेरबदल गर्न हामी जोडदार माग गर्दछौँ ।’

त्रिभुवन विश्वविद्यालयले भदौको पहिलो हप्तादेखि नै परीक्षाको तालिका सार्वजनिक गरेको भन्दै नेविसंघले यस्तो माग गरेको हो ।
 

Source: Nayapatrika

Facebook Comments