कोभिड–१९ को वर्तमान अवस्थामा बालबालिका

विष्णु ब. खत्री (अनुसन्धानकर्ता)

भदौ ७, काठमाडौ – कोभिड–१९ संक्रमणको जोखिमका कारण विद्यालयहरु लामो समयदेखी बन्द नै छन् । विद्यालय बन्द भएको समयमा केही विद्यालयहरुले वैकल्पिक कक्षाहरुको व्यवस्था गरेको भएतापनि अधिकांश बालबालिका शैक्षिक कृयाकलापबाट वाहिर छन् । तथ्यांकहरुमा सार्वजनिक गरिए अनुसार करिव ८७ लाख बालबालिका र किशोरकिशोरी वर्तमान अवस्थामा नियमित अध्ययन अध्यापनबाट बंचित भएका छन् । कोभिडको वर्तमान अवस्थामा घरमा रहन बाध्य बालबालिकाहरुले कतिपय सृजनात्मक कृयाकलापहरुमा सहभागी भएका असल उदाहरणहरु पनि सार्वजनिक भएका छन् । कतिपय बालबालिकाहरु भने यही समयमा हिंसा र शोषणमा परेका समाचारहरु पनि सार्वजनिक भएका छन् । सबै तहका सरकारहरु र सरोकारवालाहरुको कोभिडमा बढी ध्यान जाँदै गर्दा बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा कम ध्यान पुगेको देखिन्छ ।

बाल सहभागिताको क्षेत्रमा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल) को सहजिकरण तथा वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा ३१ वटा जिल्लामा कोभिड–१९ को कारणले बालबालिकामा परेको असर तथा बालबालिकाको अवस्थाको बारेमा सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरिएको छ । सातै प्रदेशमा सम्पन्न सर्वेक्षणमा प्रत्येक प्रदेशबाट कम्तिमा ४ वटा जिल्ला समेटिएका छन् । बालबालिका, अभिभावक, सरकारी कर्मचारी तथा जनप्रतिनिधिलाई लक्षितगरी गरिएको सर्वेक्षणमा २९६ बालबालिका, २५६ अभिभावक तथा १०३ जना सरकारी कर्मचारी र जनप्रतिनिधिहरुले सर्वेक्षणमा प्रत्यक्ष सहभागी जनाएका थिए ।

सर्वेक्षणमा सहभागी भएकामध्ये ८८.३५ प्रतिशत बालबालिकाहरु विद्यालय जान नपाएकोमा खुशी देखिएनन । उनीहरु सकेसम्म चाँडो विद्यालय जाने चाहना राख्दछन् । सर्वेक्षणमा सहभागी भएकामध्ये करिव २९ प्रतिशत बालबालिका मात्र कुनै खालको वैकल्पिक पठन पाठनमा सहभागी हुन पाएका छन् । तर वैकल्पिक पठनपाठनहरु संचालन भएका विद्यालयहरुमध्ये करिव २० प्रतिशत मात्र सन्तोषजनक वा प्रभावकारी देखिएको छ । वैकल्पिक पठनपाठनमा सहभागी हुने बालबालिकाहरुमा मुख्य गरी नीजि विद्यालयमा पढ्ने बालबालिका र माथिल्लो कक्षामा पढ्ने बालबालिकाहरु मात्र रहेका छन् । सरकारी विद्यालय पढ्ने र सानो कक्षामा पढ्ने बालबालिकामा यस्ता बैकल्पिक कक्षामा कम पहुँच रहेको छ ।

वैकल्पिक कक्षाको पहँुचमा भएका बालबालिकाहरुमा बढी मात्रामा अनलाइन कक्षा रहेको छ । तर त्यस्ता अनलाइन कक्षाहरुको प्रभावकारिताका लागि विद्यालयहरुमा विश्वासिलो इन्टरनेट सुविधा नहुने, नियमित विद्युत नहुने, विद्यार्थीसँग अनलाइन कक्षाका लागि आवश्यक ल्यापटप, मोवाइल नहुने, परिवारले यस्ता सामग्री किनीदिन नसक्ने, प्रविधी सम्वन्धी परिवारका सदस्यहरुमा आवश्यक जानकारी नहुने, अनलाइन वा वैकल्पिक कक्षाका लागि परिवारमा शान्त वातावरण नपाउने, अनलाइन कक्षामा अनलाइन देखिएर बालबालिकाहरु अनलाइन कक्षा समयमा बालबालिकाहरु अरु नै कृयाकलापहरुमा सहभागी हुने गरेको सर्वेक्षणमा पाइएको छ । सर्वेक्षण अनुसार करिव ५१ प्रतिशत विद्यालयसँग अनलाइन कक्षाका लागि न्युनतम आधारभुत सामान्य व्यवस्था नै नभएको पाइएको छ । करिव ६८ प्रशिशत शिक्षकहरु अनलाइन कक्षा व्यवस्थित संचालन गर्न क्षमतावान छैनन । करिव ८० प्रतिशत विद्यार्थीसँग अनलाइन कक्षाका लागि आवश्यक सामग्री नै छैन । सर्वेक्षणका क्रममा करिव ६० प्रतिशत परिवारले अनलाइन कक्षाका लागि आवश्यक सामग्रीको व्यवस्था गर्न असमर्थता जाहेर गरेका छन् ।

बन्दाबन्दीका समयमा बालबालिकाहरु प्रत्यक्ष रुपमा वैकल्पिक कक्षामा जोडिन नसकेपनि सृजनशिल कृयाकलापहरुमा भने सहभागी भएको सर्वेक्षणमा पाइएको छ । बन्दाबन्दीको समयमा ६२ प्रतिशत बालबालिका विभिन्न पुस्तक पढ्ने, सृजनशिल कृयाकलापमा सहभागी हुने, जिवन उपयोगी सिपहरु सिक्ने र घरपरिवारसँग विभिन्न कृयाकलापहरुमा सहभागी हुने गरेको पाइएको छ । सर्वेक्षणमा प्राप्त भए अनुसार बन्दाबन्दीका समयमा बालबालिकाहरुले खाना बनाउने, फुलवारी सजाउने, परिवारसँग अन्तरकृया गर्ने, परिवारलाई घरायसी काममा सघाउने, विभिन्न भाषाहरु सिक्ने, नयाँ नयाँ प्रविधी चलाउन सिक्ने, व्यक्तिगत सरसफाइलाई ध्यान दिने, सिलाइ लगायत आवश्यक सिप सिक्ने, नाच्ने, गाउने रमाइलो गर्ने, योगा, ध्यान गर्ने, पेन्टिङ्ग लगायतका बालबालिकाको रुचीसँग सम्वन्धित सृजनात्मक कार्यहरुमा सहभागी हुने गरेको पाइएको छ ।

कोभिड–१९ को संक्रमणबाट बच्नका लागि ४६ प्रतिशत बालबालिकाले विभिन्न रोकथामका उपायहरु अवलम्वन गरेको पाइएको छ । कोरोना रोकथामको उपायका रुपमा बालबालिकाहरुले मुख्य रुपमा नियमित सावुन पानीले हात धुने गरेको पाइएको छ ।
कोभिड–१९ का कारण लामो बन्दाबन्दीले बालबालिकामा विभिन्न खालका समस्याहरु देखिएका छन् । जसमध्ये मुख्य रुपमा विर्सने, दिक्क लाग्ने, हैरानी महशुुस हुने, अरुसँग कुरा गर्न मन नलाग्ने, व्यक्तिगत सरसफाइ गर्न मन नलाग्ने, समय विताउन गाह्रो हुने, टाउको तथा शरिर दुख्ने, परिवारका सदस्यहरुसँग सँगै बस्न मन नलाग्ने, रिस उठ्ने लगायतका समस्याहरु बालबालिकाहरुमा देखिएको पाइएको छ ।

बन्दाबन्दीको समयमा समेत परम्परागत हानिकारक अभ्यास (कुरितीजन्य अभ्यास) हरु देखिएको छ । जसमा बालविवाह, लैंगिक विभेद, दलित बालबालिकालाई छुवाछुतसँग सम्वन्धित विभेद, यौनजन्य हिंसा, महिनावारी हुँदा गरिने विभेद लगायतका अभ्यासहरु भएको बालबालिकाहरुले महशुस वा अवलोकन गरेका छन् । यस्ता अभ्यासहरु बन्दाबन्दीमा समेत नरोकिएको वा बन्दाबन्दीको समयमा समेत कम नभएको अनुसन्धानका क्रममा पाइएको छ ।

बालबालिकाहरुले बन्दाबन्दीको समयमा पनि बालबालिकाहरुमाथी हुने हिंसाहरु महशुस वा अवलोकन गरेका छन् । यस्ता हिंसाहरुमा फोन मार्फत हिंसा, मानसिक तनाव वा दवाव, यौनजन्य हिंसा वा दुव्र्यवहार, इन्टरनेट मार्फत हुने हिंसा, बलात्कारको प्रयास र बलात्कार लगायतका हिंसाहरु रहेको बालबालिकाहरुले वताएका छन् । अभिभावकहरुसँग गरिएको सर्वेक्षणमा ३६ प्रतिशत अभिभावकहरुले आफ्ना बालबालिकालाई बन्दाबन्दी समयमा घरायसी कामका क्रममा शारिरिक कार्यबोझ भएको स्विकारेका छन् । सर्वेक्षणमा सहभागी २० प्रतिशत बालबालिकाले आफ्नो परिवारमा बन्दाबन्दीको समयमा विभिन्न खालको हिंसा वा पारिवारिक झगडा भएको बताएका छन् । बालबालिकाको पठनपाठन र सृजनशिलतामा यसको प्रत्यक्ष असर पुगेको पाइएको छ ।

बन्दाबन्दीको समयमा बाल संरक्षणका लागि स्थानीय तहका न्यायीक समितिहरु, प्रहरी, बालअधिकार संस्था र बालक्लव तथा बालक्लव संजालहरु तुलनात्मक रुपमा सकृय रहेको पाइएको छ । यद्यपी ५० प्रतिशत भन्दा कम बालबालिकाहरु मात्र बालक्लवको सदस्य रहेको पाइएको छ । सर्वेक्षणमा करिव ६५ प्रतिशत जनप्रतिनीधि र सरकारी कर्मचारीहरुले क्वारेन्टीनहरुमा बालमैत्री व्यवस्थान नभएको, क्वारेन्टीनहरुमा बालबालिकाका लागि कुनै विशेष व्यवस्था नगरिएको वा सो वारेमा नसोचिएको बताएका छन् ।

विद्यालय कहिले खुल्छ भन्ने केहीपनि जानकारी नहुँदा बालबालिकामा अन्यौलता देखिएको छ । विद्यालय खुल्ने नखुल्ने, सिक्ने सिकाउने प्रकृया वा विद्यालय र बालबालिकाका विच संभावित नियमित अन्तरकृया सम्वन्धमा विद्यालय परिवारले बालबालिकालाई आवश्यक सुचना जानकारी नियमित दिनु आवश्यक देखिएको छ । धेरै विद्यालयहरुमा अनलाइन वा वैकल्पिक कक्षाका लागि आधारभुत संरचना र प्रविधी नै नभएको पाइएको छ । शिक्षकहरुको सो सम्वन्धी आवश्यक प्राविधिक क्षमता समेत नहुँदा बैकल्पिक कक्षाको प्रभावकारितामा समस्या देखिएको छ । विद्यालयलाई सबल र शिक्षकहरुलाई सक्षम बनाउन तिनै तहको सरकार, विकास साझेदार र सरोकारवाला निकायहरुको सहकार्यता र विशेष प्राथमिकता आवश्यक छ । विद्यालय र विद्यार्थीहरुसँग अनलाइन कक्षाका लागि विश्वासिलो इन्टरनेट र आवश्यक सामग्रीहरुको सुविधा नहुँदा अनलाइन कक्षाको आशातित उपलब्धी हुन सकेको छैन । यसतर्फ स्थानीय सरकार, विद्यालय परिवार र अभिभावकको ध्यान जानु जरुरी छ । परिवारका अभिभावकहरुको समेत अनलाइन कक्षाका लागि विश्वासिलो इन्टरनेट र आवश्यक सामग्रीहरुको व्यवस्था गर्ने क्षमता नभएको अवस्थामा वैकल्पिक कक्षाका लागि परिवारले आवश्यक सहयोग गर्न सकेका छैनन । स्थानीय सरकार र सरोकारवालाहरुले विद्यार्थीहरुको वैकल्पिक कक्षामा सहयोग गर्नुका साथै परिवारको समेत आर्थिक अवस्थामा सुधार गर्ने कार्यक्रमहरुमा जोड दिनु आवश्यक छ । कतिपय विद्यालयहरुमा वैकल्पिक कक्षाहरुको शुरुवात भएको भएतापनि धेरै विद्यालयमा निरन्तरता पाउन सकेको छैनन । वैकल्पिक कक्षाहरुको निरन्तरताका लागि विद्यालय, विद्यार्थी र परिवारलाई के कस्ता सहयोग र समन्वय आवश्यक हुन्छ त्यसमा स्थानीय सरकारको प्रभावकारी उपस्थितीको आवश्यकता छ ।

कोभिडको वर्तमान अवस्था र बन्दाबन्दीको समयमा गर्भवती जाँच, आमा र बच्चाको नियमित स्वास्थ्य जाँच, खोप, पोषण लगायतका प्रकृयाहरुमा समेत समस्या भएको पाइएको छ । त्यसको प्रभाव आमा र बच्चाको स्वास्थ्यमा लामो समय देखिन सक्ने जोखिम पनि रहन सक्ने भएकाले त्यसतर्फ सरकार र सम्वन्धित सरोकारवालाहरुको ध्यान पुग्नु पर्ने आवश्यकता देखिएको छ ।

विद्यालय परिवार, शिक्षक, अभिभावक र विद्यार्थीहरुका विच बन्दाबन्दी समयमा अन्तरकृया, छलफल र विद्यालयका तर्फबाट सुचना प्रवाह हुन नसक्दा अभिभावक र बालबालिकामा अन्यौल भएको पाइएको छ । यो अनुभवका आधारमा हेर्दा विपद् वा महामारीको समयमा विद्यालय, विद्यार्थी र अभिभावकविच सुचना प्रवाह गर्ने माध्यम नरहेको देखिएको छ । भविष्यमा यस्ता प्रकारका विपद् वा महामारी आइपर्दा र कोभिड–१९ कै वर्तमान अवस्थामा विद्यालय परिवार, विद्यार्थी र अभिभावकबिच नियमित आवश्यक सुचना प्रवाह गर्ने विश्वासिलो वैकल्पिक माध्यमहरुको पहिचान र प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।

कोभिड–१९ सँग सम्वन्धित विभिन्न पक्ष तथा प्रभावहरुलाई प्राथमिकता दिइएको भएतापनि विद्यालय र बालबालिकामा कोभिडले पारेको प्रभावहरु स्थानीयतहको प्राथमिकतामा पर्न नसकेको सर्वेक्षणमा देखिएको छ । अहिलेको अवस्थामा कोभिड–१९ को प्रभावलाई सम्वोधन हुने र बालबालिकाको अध्ययन अध्यापनलाई सहयोग पुग्नेगरी विद्यालयको लागि आवश्यक पर्ने उपयुक्त बजेटको व्यवस्था हुन नसकेको पाइएको छ । बालबालिका, विद्यालय र सुरक्षित पठनपाठनलाई सहयोग पुग्नेगरी सबै विद्यालयहरुका लागि आवश्यक बजेटको व्यवस्था गरिनु आवश्यक छ ।

स्थानीय तहको यो आर्थिक वर्षको योजना निर्माण प्रकृयामा बालसहभागिता सुनिश्चित नगरेको पाइएको छ । बन्दाबन्दीको समयमा गाँउ सभा र नगर सभाबाट तय गरिएका नीति, कार्यक्रम तथा बजेट उपयुक्त माध्यम मार्फत बालबालिकाहरुलाई जानकारी दिने र बालबालिकाका भावना र आवश्यकताहरुको सम्वोधन नभएको रहेछ भने विद्यमान र उपयुक्त प्रकृयाका आधारमा स्थानीयतहहरुले त्यसको सम्वोधनका लागि समेत प्रयास गर्नुपर्ने अवस्था देखिएको छ ।

स्थानीय तहहरुमा रहेका बालअधिकारसँग सम्वन्धित संरचनाहरु कृयाशिल हुन सकेको छैनन । स्थानीय सरकारहरुले त्यस्ता बालअधिकार संरचनाहरुलाई सबल बनाउनु पर्ने आवश्यकता छ । बालअधिकार हनन्का घटनाहरुको सुनुवाइका लागि उपयुक्त व्यवस्था गर्नुपर्ने देखिएको छ । बालअधिकारसँग सम्वन्धित नीति, नियम र कार्यक्रमहरुको संभावित विपद् वा महमारीको परिस्थितीलाई मध्यनजर गर्दै पुनरावलोकन गर्नुपर्ने देखिएको छ । कोभिड–१९ को वर्तमान अवस्थालाई समेत विश्लेषण गरी थप आवश्यक व्यवस्था समावेश गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने अवस्था छ ।

(लेखक तथा यो अध्ययनका टिम लिडर युनिभर्सिटी अफ लिङ्कन, बेलायतको मोबाइल आर्ट्स फर पिस (म्याप) कार्यक्रममा अनुसन्धानकर्ताका रुपमा कार्यरत छन्)
Facebook Comments