अब दैनिक १८ हजार जनाको पीसीआर परीक्षण गरिने : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले एकै दिन १८ हजारभन्दा बढीको पीसीआर गर्न सकिने बताएको छ। चाँडै १८ हजार बढीको दैनिक परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

उनका अनुसार हालसम्म अधिकतम एक दिनमा ६ हजार ३ सय ६० जनाको परीक्षण गर्न सकिने क्षमता छ। गौतमले ११ वटा एक्ट्र्याक्सन मेसिन जडान गर्न लागिएको जानकारी दिए।

‘११ वटा एक्ट्र्याक्सन मेसिन जोडेपछि ८ हजार ८ सय थप हुन सक्छ,’ उनले भने।

निजी अस्पतालका ल्याबमा दैनिक ३ हजारको परीक्षण गर्ने क्षमता रहेको छ। ११ वटा पीसीआर जडान भएमा दैनिक १८ हजार १ सय ६० को परीक्षण गर्न सकिने गौतमको दाबी छ। आइतवार कोभिड १९ को दैनिक प्रेस ब्रिफिङमा गौतमले चाँडै परीक्षणको दायरा बढाउन लागेको जानकारी दिएका हुन्।

पछिल्लो केही दिनयता नेपालमा कोभिड १९ का संक्रमित दैनिक थपिने संख्या घटेको छ।

आइतवार थप १ सय ३० जनामा कोभिड १९ का संक्रमित फेला पर्दा हालसम्म संक्रमितको संख्या १८ हजार ६१३ जना संख्या पुगेको छ। Source: Pahilopost

Facebook Comments