कोरोना महामारीमा मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने?

कोरोना महामारीले ल्याएको अनिश्चितता, बदलिएको दैनिकी, आर्थिक समस्या तथा सामाजिक दूरीले सबैको जीवनमा धेरै परिवर्तन ल्याएको छ। एकातिर हामी आफ्नो स्वास्थ्यलाई  लिएर सबै चिन्तित छन् भने अर्कोतिर कतै कोरोना लागिहाल्ने त होइन भनेर चिन्ता पनि सबैमा छ। यो महामारीले भविष्यमा पार्न सक्ने प्रभावलाई लिएर समेत चिन्ता उत्पन्न भएको छ। गलत सूचना, समाचार एवं महामारीको बारेमा चाहिनेभन्दा बढी भ्रम फैलाइएका कारण जीवन नै असुरक्षित रहेको अनुभव धेरैले गर्दै आइरहेका छन्।

महामारीको अवस्थामा तनाव, चिन्ता,  डर, उदासिनता अथवा एक्लोपनको महशुस कुनै न कुनै रुपमा सबैले गरेको हुनुपर्छ। पहिलादेखि नै मानसिक समस्या भएकाहरूमा त झनै चिन्ता र डिप्रेसनको समस्या बढ्दै जान सक्छ।  फरक यति मात्रै छ कि, यदि तनाव, चिन्ता,  डर, उदासिनता अथवा एक्लोपनको उचित व्यवस्थापन गर्न सकियो भने मानसिक रुपमा स्वस्थ हुन सकिन्छ, उचित व्यवस्थापन गर्न सकिएन भने मानसिक समस्याले  जेल्दै  जान्छ।

केही समय अगाडि हामीले एउटा सरकारी तथ्यांक सुनेका थियौं जसमा भनिएको थियो, तीन महिनाको बन्दाबन्दीको अवधिमा १२ सय जनाभन्दा बढिले आत्महत्या गरेका छन्। यी आत्महत्याको पछाडि कोरोना महामारीको पनि ठूलो हात हुनसक्छ। यदि यस्तै अवस्था रहिरह्यो भने अबको केही समयमा नै मानसिक समस्याले ठूलो महामारीको रुप लिनसक्छ। तसर्थ सबैले मानसिक स्वास्थ्यको ख्याल राख्नु अत्यन्त जरुरी छ।

मानसिक अस्वस्थताका लक्षण 
•    डर, रिस, उदासिनता चिन्ता तथा निराश भावनाको अनुभव हुनु।
•    भोक कम लाग्नु, शरीरको ऊर्जा कम हुँदै जानु तथा काम गर्ने क्षमता घट्दै जानु।
•    कुनै कुरामा ध्यान केन्द्रित गर्न तथा निर्णय गर्न कठिन हुनु।
•    राम्रोसँग निद्रा नलाग्नु।
•     विनाकारण टाउको दुख्नु, शरीर दुख्नु, पेट दुख्नु तथा छालाको समस्या देखिन थाल्नु।
•    कुनै पनि दीर्घरोग छ भने बिरामीको अवस्था बिग्रिँदै जानु।
•    रक्सी, चुरोट तथा नशाको प्रयोग बढ्दै जानु।
•    यौन शक्तिमा ह्रास आउनु।
•    नजिका व्यक्तिहरु तथा  पारिवारिक सदस्यसँग भावनात्मक दूरी बढ्दै जानु।
•    अचानक मुड परिवर्तन हुनु।
•    आत्महत्याको विचार आउनु।
•     कहिलेकाहीँ मानसिक समस्या, शारीरिक समस्याको रुपमा पनि देखा पर्छन्, जस्तै:  पेट दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने अथवा विनाकारण कुनै पनि दुखाइ हुनु। 

मानसिक समस्या समाधानका दुई वटा पाटा रहेका छन्। यदि समस्या एकदमै जटिल अवस्थामा छ अथवा जटिल हुने अवस्थामा छ भने मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्नु आवश्यक हुन्छ। यदि मानसिक समस्या अहिलेको  महामरीको अवस्थाका  कारणले मात्रै आएको हो र  सामान्य अवस्थामा छ भने आफ्नो मानसिक स्वास्थ्यको ख्याल आफैं राख्न सिक्नुपर्छ। मानसिक स्वास्थ्यको ख्याल राख्ने उपायहरू यस प्रकार रहेका छन्:
•    आफ्नो शरीरको  ख्याल राख्ने।
•    आफ्नो मनको ख्याल राख्ने।
•    भावनात्मक  रूपमा अरूसँग जोडिने।

१. शरीरको ख्याल राख्ने 
शारीरिक तथा मानसिक स्वास्थ्यको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ तसर्थ स्वस्थ मनको लागि स्वस्थ शरीर हुनु जरुरी छ।
•    निन्द्रा पुग्नेगरी २४ घन्टामा  ६-८ घन्टा सुत्ने, बेलुका चाँडो सुत्ने तथा बिहान सकेसम्म चाँडै उठ्ने।
•     नियमित रुपमा कुनै पनि प्रकारको शारीरिक व्यायाम गर्ने। सम्भव भएसम्म योग अभ्यासलाई प्राथमिकता दिने।
•    प्राकृतिक सन्तुलित आहार सेवन गर्ने, अस्वस्थकर खाना त्याग्ने।
•    कफीको प्रयोग कम गर्ने किनभने कफीमा हुने क्याफिनले डर र चिन्ता बढाउनमा मद्दत गर्छ।
•    समयसमयमा शरीर शुद्धी गर्ने तथा उपबास बस्ने।
•    जाँड, रक्सी, चुरोट तथा कुनै पनि नशायुक्त पदार्थ सेवन नगर्ने।
•    मोबाइल, कम्प्युटर, टिभी जस्ता विधुतीय साधनहरूको प्रयोग कम गर्ने। राति सुत्नुभन्दा १ घन्टा अगाडिबाटै मोबाइल प्रयोग नगर्ने।
•    दैनिक रुपमा  योग, ध्यान, प्राणायामको अभ्यास गर्ने, यी अभ्यासले शरीर र मनलाई स्वस्थ र शान्त बनाइराख्न मद्दत गर्छन्।

२. मनको ख्याल राख्ने।
•    ‘खाली दिमाग सैतानको घर’ भनेजस्तै जब हामी खाली बस्छौं तब मनमा अनेक कुरा खेल्न थाल्छन्। तसर्थ कुनै न कुनै रूपमा आफूलाई सक्रिय तथा व्यस्त राख्ने।
•    गलत तथा भ्रामक समाचारको पछाडि नलाग्ने, जतिबेला पनि महामारीको समाचारमा केद्रित नहुने।
•    सामाजिक सञ्जालको प्रयोग कम गर्ने।
•    आफ्नो दैनिक कामलाई व्यवस्थित गर्ने।
•    जीवनका सकारात्मक कुराहरुमा ध्यान केन्द्रित गर्ने, आशावादी चिन्तनलाई मनमा ल्याउने, जीवनमा आएको परिवर्तनलाई स्वीकार गर्ने तथा समस्यालाई अवसरको रूपमा हेर्ने।
•    आफूले विश्वास गर्ने भगवानको आराधना गर्ने जसले हामीलाई समस्याको  सामना गर्नका लागि साहस प्राप्त हुन्छ।
•    योग, ध्यान प्राणायामको अभ्यास दैनिक रुपमा गर्ने।
•    जीवनमा कुनै न कुनै लक्ष्य निर्धारण गर्ने र त्यसमा काम गर्न सुरु गर्ने।
•    जीवनमा अत्यधिक महत्वकांक्षा नराखी सरल र सहज हुन सिक्ने।

३. भावनात्मक सम्बन्धको विकास गर्ने
•    भौतिक रुपमा दूरी बनाउनुपर्ने यो अवस्थामा पनि आफ्नो परिवार, साथीभाइ, इष्टमित्रसँग कुनै न कुनै माध्यमबाट नजिक रहने।
•    आफ्ना कुराहरु नजिकको तथा विश्वसनीय व्यक्तिसँग व्यक्त गरी भित्रैबाट हल्का हुन सिक्ने।
•    आफ्ना मनका कुराहरु अरुलाई व्यक्त गर्न नसकिने अवस्थामा कलात्मक हिसाबले व्यक्त गरी हल्का हुने। जस्तै: चित्र बनाउने, मुक्तक, कथा, गीत आदि।
•    सहयोगी भावनाको विकास गर्ने।

 मानसिक स्वास्थ्य विशेषज्ञलाई कतिबेला भेट्ने?
तनाव सबैको जीवनमा सामान्य रुपमा देखिने गर्छ र सबैले आ-आफ्नै तरिकाले यसको सामना गरिरहेका हुन्छन्। महामारीको अवस्थामा अलिअलि चिन्ता, तनाव, डर, त्रास आदि  देखिनु सामान्य नै हो। तर  माथि उल्लेख गरिएका मानसिक अस्वस्थताका लक्षणहरु लामो समयसम्म रहिरहनु र  जसको कारणले दैनिक जीवनयापनमा नकारात्मक प्रभाव पर्दै जान थालेमा मानसिक स्वास्थ्य विशेषज्ञसँग अनिवार्य रुपमा परामर्श गर्नुपर्छ।

मानसिक समस्याको उत्कर्षमा देखिने एउटा लक्षण भनेको आत्महत्याको सोच हो।  यदि यस्तो सोच उत्पन्न भएको छ भने जतिसक्दो चाँडो मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्नु अत्यन्त जरुरी छ। विशेषज्ञको सम्पर्कमा पुग्नु अगाडि आफ्नो परिवारका सदस्यहरु, साथीभाइ, इष्टमित्र अथवा नजिकको  विश्वसनीय व्यक्तिसँग खुलेर कुरा गर्नुपर्छ।

अन्त्यमा, हामी जति शारीरिक स्वास्थ्यको ख्याल गर्ने गर्छौं त्यति नै महत्व मानसिक स्वास्थ्यलाई पनि दिने गर्नुपर्छ।

Source:स्वास्थ्यखवरपत्रिका
 

Facebook Comments