स्वास्थ्य क्षेत्रमा ठूलो फड्को;एकै दिन २५०भन्दा बढि अस्पताल निर्माणको शिलान्यास

 गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालु आवमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो । 

आज एकै दिन २५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव बसन्त अधिकारीले अधिकांश स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको शिलान्यास भएका जानकारी दिए ।

सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री, प्रदेश सकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलगायतले विभिन्न स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास गरेको उनले बताए । आज शिलान्यास हुन नसकेको स्थानीय तहले पनि चालू आर्थिक वर्षभित्रै अस्पताल निर्माण गर्नुपर्नेछ । 

सरकारले पाँच शैयाको अस्पताल निर्माण गर्न रु आठ करोड, १० शैयाको अस्पतालका लागि रु ११ करोड र १५शैयाका अस्पताल निर्माणका लागि रु १८ करोड बजेट विनियोजन गरेको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् ।

तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा  १९, गण्डकीमा  ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ । 

सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ । पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ शैयाको अस्पताल बनाउन रु ६४ अर्ब नौ करोड पठाइएको छ । पाँच शैयाको अस्पतालका लागि रु ७० लाख, १० शैयाका लागि रु ८५ लाख र १५ शैयाका लागि रु एक करोड पठाइसकिएको छ । अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले गर्नेछन् । 

Source:Ratopati

Facebook Comments