October 20, 2021

कोरोना तेस्रो लहरका लागि सावधानी

एकातिर दिनप्रतिदिन बन्दाबन्दी खुकुलो हुँदै छ, अर्कातिर मानिसहरूको स्वास्थ्यसम्बन्धी मापदण्डमा लापरबाही बढ्दै छ, जसका कारण कोभिड–१९ को तेस्रो लहरले पुनः नेपाली जनजीवन आक्रान्त बनाउने देखिन्छ । पछिल्लो समयमा कोरोनाको नयाँ भेरियन्ट डेल्टा र डेल्टा प्लस पनि देखा परिसकेको छ । कोभिड–१९ का विभिन्न भेरियन्टले विश्व मानव समुदाय नराम्रोसँग प्रभावित भएको छ । समयमा खोपको व्यवस्थापन नगर्ने हो भने डेल्टा प्लसले ठूलो असर पु¥याउने देखिन्छ । यो भेरियन्ट भारतसहित विश्वका अन्य ११ वटा मुलुकमा देखा परिसकेको छ । यो म्युटेसनको नाम के–४१७ एन हो । डेल्टा प्लस हालसम्म देखिएका भेरियन्टमध्ये सबैभन्दा बढी उच्च संक्रामक खालको छ ।
स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगर्ने हो भने डेल्टा प्लस कोभिडको तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको छ । यो डेल्टा प्लसका भाइरस कोशमा टाँसिन सक्ने क्षमता अरूभन्दा बढी भएका कारण यसले बढी नै असर पु-याउने विज्ञहरुको दाबी पनि छ । जबकि शरीरमा उत्पन्न हुने एन्टीबडीलाई डेल्टा प्लस भाइरसले कम गराउन सक्छ । त्यसैले यसले बालबालिकादेखि बूढाबूढी सबै उमेरका मानिसको फोक्सोमा बढी असर पार्ने क्षमता भएका कारण योबाट बच्न बढी स्वास्थ्य सुरक्षा कायम राख्न वा मापदण्ड पूरा गर्न आवश्यक छ । हालसम्मका कोभिडका भेरियन्टमा डेल्टा प्लस ज्यादै खतरनाक भेरियन्टका रूपमा देखा परेको छ ।
डेल्टा प्लस भेरियन्ट फोक्सोको रिसेप्टरमा बलियोसँग टाँसिएर बस्न सक्ने भएका कारण यसले फोक्सोलाई छिट्टै असर पु-याउँछ । यसले मोनोक्लोन एन्टिबडी ककटेललाई समेत माथ दिन सक्ने भएका कारण डेल्टा प्लस भेरियन्टको फैलन क्षमता र फोक्सोमा टाँसिने क्षमता उच्च रहेको छ, जसका कारण भारत सरकारले डेल्टा प्लसलाई भेरियन्ट अफ इन्टरेस्टको सूचीमा राखेको हो । पछि यसको असर बढ्दै गएका कारण उसले यसलाई भेरियन्ट अफ कन्सर्नमा राखी सकेको छ । त्यसैले यसको लहरबाट बच्न सबैभन्दा पहिले बन्दाबन्दीको पूर्ण रूपमा पालन गर्नु आवश्यक छ भने स्वास्थ्य मापदण्डमा कुनै पनि किसिमले सम्झौता गर्न नहुने देखिन्छ । नत्रभने यो भेरियन्टबाट धेरै मानिस नराम्रोसँग प्रताडित हुन सक्ने देखिन्छ । निषेधाज्ञा पूर्ण रूपमा खुला गर्ने हो भने यसले नेपाली जनमानसमा ठूलै क्षति पुग्ने देखिन्छ । डेल्टा प्लससहित देशमा हालसम्म भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा र डेल्टा भेरियन्ट देखिएका छन् । पहिलो लहरको भाइरसभन्दा यो शतप्रतिशत बढी संक्रामक रहेको छ । यसका ६४ वटा नमुना देखिइसकेका छन् । त्यसैले यो डेल्टा प्लस भेरियन्टबाट बच्न हामी सबैले स्वास्थ्य सुरक्षामा विशेष रूपमा जोड दिनुपर्छ । यसैगरी भेरियन्ट अफ इन्टरेस्टका रूपमा रहेको अर्को भेरियन्ट कप्पा पनि नेपालमा देखा परिसकेको छ । कप्पा भेरियन्ट २८ देखि ८९ प्रतिशतसम्म बढी संक्रामक देखिएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोनाका विभिन्न भेरियन्टका बारेमा अमेरिकामा व्यापक रूपमा खोज–अनुसन्धान जारी छ । भाइरसको स्वरूप परिवर्तन र त्यसका भेरियन्टमाथि व्यापक रूपमा खोज–अनुसन्धान भए पनि हालसम्म यसका कतिवटा भेरियन्ट देखा परेका छन् भन्ने तथ्य सार्वजनिक भएको छैन । जहाँ म्युटेन्ट भएर आएका भाइरसका प्रत्येक भेरियन्टको अध्ययन तीव्र रूपमा भइरहेको छ । अध्ययनबाट थप कुरा के प्रमाणित भएको छ भने म्युटेन्ट भएर आएका नयाँ भेरियन्ट अघिल्ला भेरियन्टभन्दा बढी घातक हुने गरेका छन् ।
भाइरसहरू जति बढी म्युटेन्ट हुन्छन्, ती बढी घातक बन्न सक्छन्, जसका कारण शरीरमा तीव्र फैलिने हुँदा मृत्युदर बढी हुन्छ । लगातार म्युटेड भइरहेका यस्ता भेरियन्टहरूमध्ये केही प्रतिशत मात्र उच्च संक्रामक र घातक छन् । यस्ता भेरियन्टहरूमध्ये केहीले अन्य भाइरसलाई नै असर गरिरहेका हुन्छन् । तर, केही भेरियन्ट यस्ता छन्, जुन शतप्रतिशत घातक हुन्छन् । उच्च संक्रामक भेरियन्टहरू त्यत्तिकै घातक देखिएका छन् । कोभिड भ्याक्सिन नलगाएकाहरूमा नयाँ भेरियन्टको असर बढी देखा परेको छ ।
यो महामारीबाट बच्ने उपाय नै पूर्ण रूपमा स्वास्थ्य मापदण्डको पालना र खोप नै हो । जबसम्म सबैले पूर्ण रूपमा खोप प्राप्त गर्न सक्दैनन् तबसम्म यसको त्रास र जोखिम सबैमा उत्तिकै बढिरहन्छ । त्यसैले कोरोना संक्रमितको पहिचान गर्न दु्रत गतिमा परीक्षण कार्य बढाउने र संक्रमित पत्ता लगाएर उपचार गर्न सकेमा कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । मुलुकमा देखिएको स्वास्थ्य सुरक्षाका राज्य नै बढी जिम्मेवार हुनुपर्छ । समयमा नै खोपको व्यवस्था नहुन हो भने कोभिडको तेस्रो लहरको असरले भयावह अवस्था सिर्जना गर्न सक्छ । त्यसैले समयमा नै कोभिड खोपको व्यवस्थापन गर्ने हो भने कोभिडका विभिन्न भेरियन्टको लहरबाट हुने असर वा जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

जनहितको लागी जारी देवेन्द्र अर्याल ‘आँसु From Karobardaily.com

Facebook Comments