आजबाट ७५ वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू

२५ चैत, काठमाडौं । पाँचौ स्वास्थ्य बिमा दिवसको अवसरमा बुधबार काठमाडाैंमा आयोजित कार्यक्रममा सरकारले थप छ वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्‍चालन गर्ने घोषणा गरेको छ।बुधबारबाटै स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा कार्यक्रम सुरु गरिएको छ। स्वास्थ्य बिमा सेवालाई नेपाल सरकारले सञ्‍चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ।कार्यक्रम शुभारम्भ गर्दे स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले स्वास्थ्य बिमा कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्त्व दिएको बताँउनुभयो। उहाँले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी र पदाधिकारी लाग्‍नुपर्नेमा जोड दिनुभयो। विद्यमान स्वास्थ्य सेवा प्रणालीका सबै समस्या एकै पटक समाधान गर्न नसकिने भन्दै मन्त्री त्रिपाठीले कार्यक्रमबाट पछाडि फर्कने विकल्प नरहेको बताँउनुभयो।मन्त्री त्रिपाठीले स्वास्थ्य बिमामा सहभागी भएका वीमितहरुको सेवा सुविधामा हेलचेक्र्याइ नगर्न सचेत गराउनु भयो। स्वास्थ्य बिमाका वीमितहरुलाई दिइने सेवा सुविधालाई बोझको रुपमा नहेर्न उनले चेतावनी समेत दिनुभयो।

‘अस्पतालले वीमितलाई दिने सुविधालाई थप बोझको रुपमा बनाउने प्रयत्‍न सेवाग्राही संस्थालाई अस्पतालहरुले नगर्नुहोस्। आफ्नो संस्था आफैंले सुदृढ गर्ने काममा लाग्‍नुहोस्। वीमितहरु आए पालो दिन सकिएन भनेर पन्छिन मिल्दैन,’ मन्त्री त्रिपाठीले भन्नुभयो।

सरकारले २०७२ चैत २५ देखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो। पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो। थप ६ जिल्लामा विस्तार भएसँगै स्वास्थ्य बिमा कार्यक्रम आजबाट ७५ वटा जिल्लामा लागू भएको छ। यो कार्यक्रममा सहभागी भएका वीमितहरुले औषधि र उपचार सेवामा सहुलियत पाउने छन्। 

पाँच जनासम्मको परिवार भएको वीमितले प्रतिवर्ष तीन हजार ५०० रुपैयाँ प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बिमा कार्यक्रमको सम्पूर्ण सुविधा लिन पाउँछन्। आज थपिएका छ जिल्लाबाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६०० जना बिमा कार्यक्रममा सहभागी भइसकेका छन्।

Facebook Comments