काठमाडौंसहित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको अपिल

सरकारले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले भने संक्रमण बढेका १४ जिल्लामा बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो । सरकारले कुनै औपचारिक निर्णय नगर्ने तथा स्वास्थ्य मन्त्रालयले विद्यालय नजान आग्रह गर्दा विद्यार्थी र अभिभावक भने अन्योलमा परेका छन् । 

जोखिमको आकलन गरेर नै विद्यालय बन्द गर्न सिफारिस गरिएको, तर त्यसको सुुनुवाइ नभएपछि यस्तो अपिल गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । कोभिड– १९ को संक्रमण देशभरि बढेपछि मन्त्रालयले गत २५ चैतमा नै कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)मा तीन हप्ता शैक्षिक संस्था बन्द गर्न सिफारिस गरेको थियो । तर, मन्त्रालयले गरेको शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव सिसिएमसी र मन्त्रिपरिषद्ले अस्वीकार गरेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि यसबारे छलफल भए पनि तत्काल विद्यालय बन्द नगर्ने निर्णय भएको थियो । 

सरकारले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि स्वास्थ्य मन्त्रालयले बिहीबार एक जरुरी अपिल जारी गर्दै कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्न अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले अत्यन्त जरुरी अपिल गर्दै भनेका छन्, ‘भिडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नभइदिनुहोला ।’

स्वास्थ्यले विद्यालय नजान आग्रह गरे पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने यसबारे मौन छ । यसबारे स्थानीय तहसमेत अन्योलमा छन् । जोखिम हेरेर आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न सक्ने अधिकार स्थानीय तहलाई छ । केन्द्रीय सरकारजस्तै स्थानीय तह पनि विद्यालय बन्द गर्ने–नगर्ने अन्योलमै छ । विद्यालय सञ्चालकहरूले विद्यालय बन्द नगर्न सरकारलाई दबाब दिँदै आएका छन् । 

युके भेरियन्ट तीव्र गतिमा 
नेपालमा कोरोनाले आफ्नो स्वरूप परिवर्तन गरेपछि ८ चैतयता तीव्र रूपमा संक्रमण बढिरहेको छ । विश्वमा युके भेरियन्ट, ब्राजिलियन भेरियन्ट, अफ्रिकन भेरियन्ट र भारतको डबल म्युटेन्ट भेरियन्ट देखिएको छ । यसमध्ये नेपालमा भने हालसम्म युके भेरियन्ट र भारतको डबल म्युटेन्ट भेरियन्ट देखिएको छ । डबल म्युटेन्ट भेरियन्ट भनेको एकै भाइरस परिवर्तन भएर दुई फरक प्रकारको स्वरूप देखिनु हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा युके भेरियन्ट तीव्र गतिमा फैलिएको छ । कोरोना भाइरस कोभिड– १९ पुरानै भाइरसको लक्षण भए पनि युके भेरियन्टको फैलावट तीव्र छ । विगतमा एक संक्रमितले औसतमा ११ जनालाई सारेकोमा युके भेरियन्ट संक्रमित एकजनाले नेपालमै १९ जना बढीलाई सारेको पाइएको थियो । 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशमा विभिन्न जिल्लामा युके भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ । ठूलो संख्यामा परीक्षण गर्दा संक्रमितमध्ये करिब ६० प्रतिशतमा ‘एस जिन’ नेगेटिभ भेटिएको महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए । सरकारले यसअघि ‘एस जिन’ नेगेटिभ आएको नमुना परीक्षण गर्दा युके भेरियन्ट पुष्टि भएपछि हाल परीक्षणका क्रममा ‘एस जिन’ नेगेटिभ भए त्यसलाई युके भेरियन्ट मान्ने गरेको छ । 

‘पछिल्लो समय १८ वर्ष (विद्यालय उमेर समूह)का बालबालिकामा संक्रमण बढ्दै गएको पाइएको छ,’ निर्देशक पौडेलले भने, ‘यसले शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्नुपर्छ ।’ ८ चैतयता तीन सयभन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् । यसलाई मध्यनजर गर्दै कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द र ७ बजेपछि होटेल तथा रेस्टुरेन्टमा सहभागी नहुन त्यस क्षेत्रका सबै नागरिकलाई सार्वजनिक अपिल गरेको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीले सबै अस्पताललाई ज्वरो क्लिनिक सञ्चालन गर्न अनुरोध गरेका छन् । त्यस्तै, मन्त्रालयले नियमित रूपमा अस्पतालहरूमा सेवा लिन आइरहेका सेवाग्राहीलाई कोभिड– १९ संक्रमण पुष्टि भएका आधारमा मात्र अन्य अस्पतालमा पठाउने गरेर अनावश्यक दुःख दिने काम नगर्न पनि आग्रह गरेको छ । सबै सरकारी अस्पतालले उपलब्ध शड्ढयाको कम्तीमा ५० प्रतिशत बेड कोरोना संक्रमितको व्यवस्थापनमा छुट्याउन मन्त्रालयले निर्देशन दिएको छ । 

१४ जिल्ला अति प्रभावित 
संक्रमणका आधारमा स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई अति प्रभावितमा राखी विद्यालयलगायतका क्षेत्रमा भिडभाड नगर्न आग्रह गरेको छ । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावितमा राखिएको छ । 

६० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लालाई मन्त्रालयले अति जोखिमको सूचीमा राखेको छ । बिहीबारको तथ्यांकअनुसार काठमाडौंमा एक हजार चार सय ९४, ललितपुरमा तीन सय ६३, भक्तपुरमा एक सय २५, कास्कीमा दुई सय ९१, रुपन्देहीमा दुई सय तीन, चितवनमा एक सय ७३, बाँकेमा दुई सय ८६, पसार्मा एक ३०, कैलालीमा एक सय एक, मोरङमा एक सय एक, दाङ ९४, सुर्खेत ६१, बारा ६० र बाग्लुङमा ६० जना सक्रिय संक्रमित छन् । 

पछिल्लो २४ घन्टामा देशभर पाँच सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार एक सय ५२ जनामा परीक्षण गर्दा चार सय ९० आरटी–पिसिआर र ४४ जनामा एन्टिजेन पुष्टि भएको हो । यसबीचमा पाँचजना संक्रमितको मृत्यु भएको छ । हाल ९१ जना आइसियू र ३५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Source: Nayapatrikadaily

Facebook Comments

You may have missed