गुणस्तर नजाँची सेनिटाइजर बेच्न नदिन औषधि उत्पादकको माग

काठमाडौँ — नेपाल औषधि उत्पादक संघले औषधि व्यवस्था विभागलाई उद्योग दर्ता र गुणस्तर परीक्षणबिना सेनिटाइजर उत्पादन र बिक्री गर्न दिने निर्णय फिर्ता लिन माग गरेको छ । सरकारले सेनिटाइजर उद्योग दर्ताको समय थपको निर्णय पनि फिर्ता लिन माग गरिएको संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए ।

सरकारी निर्णयको विरोध गर्दै संघका प्रतिनिधिले मंगलबारदेखि विभाग परिसरमा शान्तिपूर्ण धर्ना दिँदै आएका छन् । ‘हामीले स्वास्थ्यमन्त्री, मन्त्रालयका विभिन्न पदाधिकारी र विभागका महानिर्देशकलाई भेटी आफूहरूका माग सम्बोधन गरिदिन ज्ञापन बुझाइसकेका थियौं,’ क्षत्रीले भने, ‘हाम्रा मागको बेवास्ता गरी असार २२ मा मन्त्रिपरिषद्ले अर्कै निर्णय गर्दा हामी आन्दोलनमा उत्रिएका हौं ।’

विभागले ०७६ चैत ९ मा ह्यान्ड सेनिटाइजर दर्तासम्बन्धी सूचना जारी गरेको थियो । सूचनामा सेनिटाइजर उत्पादन गर्न इच्छुक र त्यसअघि सेनिटाइजर उत्पादन गर्दै आएका उद्योग वा कम्पनीलाई असार ९ भित्र विभागबाट स्वीकृति लिन निर्देशन दिइएको थियो । उत्पादन गर्ने उद्योग वा कम्पनीले ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका–०७४’ अनुसार गर्नुपर्ने भनिएको थियो । निर्देशिकामा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार ह्यान्ड सेनिटाइजर बनाउन भनिएको छ ।

Facebook Comments