फेरि मौलाउँदै क्रिप्टोकरेन्सीको कारोबार, सामाजिक सञ्जालमा भाइरल भएको ‘पाई’ के हो ?

काठमाडौं । ३ वर्षअघि अवैध घोषणा गरिएको क्रिप्टोकरेन्सीको व्यापार फेरि मौलाउन थालेको छ । बिटक्वाइनको कारोबारबाट सर्वसाधारण ठगिन थालेपछि नेपालमा प्रतिबन्ध लगाइएको भर्चुअल मुद्राको रुपमा रहेको क्रिप्टोकरेन्सी फेरि मौलाउन थालेको हो । यसले राष्ट्र बैङ्कदेखि प्रहरीलाई समेत चिन्तित बनाएको छ ।

केही दिनयता क्रिप्टोकरेन्सी प्रकृतिकै कारोबारका लागि खाता खोल्ने र नयाँ सदस्य बनाउने क्रम सामाजिक सञ्जालमा तीब्र बन्दै गएको छ । पाई नामको भर्चुअल मुद्राको लागि नेटवर्किङ शैलीमा सदस्य थप्दै जाने क्रम बढ्दा सामाजिक सञ्जालमा यो ‘भाइरल’ नै बनेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु जानेर वा नजानेर यसमा लागिरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आफन्त, साथीभाइ तथा आफूनजिकका चिनजानका मान्छेहरुलाई पीआई माइनिङ र कारोबार प्रयोग गर्न भनिरहेका छन् । तर ती व्यक्तिहरु जसले पाईको सदस्य बन्न आग्रह गरिरहेका छन्, उनीहरुलाई त्यसबारे जानकारी भने खासै रहेको देखिँदैन ।

पीआईलाई नेपाली प्रयोगकर्ताहरुले केबल अनलाईन बिजनेशको रुपमा बुझेका छन् । जसमा सदस्य बनाउने, पाई इकाई बढाउने र सेयर कारोबार जस्तै गरी एक दिन डलरमा कारोबार गर्ने सपना पालेका छन् । हुनत पीआईको प्रोत्साहन नै त्यसैगरी गरिएको हुन्छ । तर पीआईको वास्तविकता भने कमैलाई मात्र थाहाँ छ ।

आखिर के हो त पाई ?

पाईभन्दा पनि पहिला यहाँ निर क्रिप्टोकरेन्सी बारे बुझ्न जरुरी हुन्छ । वृक्ष चिनिसकेपछि फल चिन्न अझ सहज होला । पाईको बारेमा बुझ्न जो कोहीलाई पहिला क्रिप्टोकरेन्सी बारे बुझ्न जरुरी हुन्छ ।

अहिलेको चर्चामा रहेको पाई क्रिप्टो करेन्सीकै एक प्ल्याटफर्म हो । डा. निकोलस कोक्कालीस्, डा. चेन्डिया फान र भिन्सेन्ट एमसीफिलिपले संचालनमा ल्याउन लागेको उक्त प्ल्याटफर्म सन् २०२१ बाट प्रचलनमा आउने चर्चा चलेको छ । यसैकारण अहिले सामाजिक सञ्जालमा यसको व्यापक प्रचार प्रसार गरिएको छ ।

पहिले बुझौँ कि के हो क्रिप्टो करेन्सी ?

क्रिप्टो करेन्सी एक भर्चुअल मुद्रा हो । अनलाइनबाट पैसा जस्तै संकेत हुने भर्चुअल पैसा नै क्रिप्टो करेन्सी हो । यो भौतिक रुपमा देख्न नसकिए पनि अनलाइनको माध्यमबाट व्यक्ति व्यक्तिबीच किनबेच हुन्छ । यस्तो भर्चुअल कारोबार हुने क्रिप्टो करेन्सीका डिजिटल प्ल्याटफर्म विश्वमा हजारौंको संख्यामा छन् । बिटक्वाइन, इथेरेम, टिथर, एक्सआरपी, बिटक्वाइन क्यास जस्ता सैयौँ क्रिप्टोकरेन्सीहरु प्रचलनमा छन् ।

तर यस्ता डिजिटल मुद्रा कारोबार विश्वका धेरै जसो देशरुमा प्रतिबन्धित छन् । नेपालमा पनि ३ वर्षअघि देखि यस्ता करेन्सीमार्फत् हुने कारोबार र माइनिङ समेत प्रतिबन्ध लगाइरहेको छ । भारतमा भने सर्वाेच्च अदालतको आदेशपछि ३ महिना अघि मात्रै यस्तो प्रतिबन्ध हटाइएको छ । नेपालका साथै बंगलादेश, चीन, बोलिभिया, रुस, भियतनाम लगायतका देशमा अहिलेपनि क्रिप्टो करेन्सीको कारोबारलाई गैरकानुनी मानिन्छ । तर विश्वका केही देशहरुले भने यसलाई मान्यता दिएका छन् ।

यसै प्रतिबन्धित क्रिप्टो करेन्सी कारोबारको आरोपमा गत २०७४ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ७ जना क्रिप्टो करेन्सी प्रयोगकर्ताहरुलाई पक्राउ गरेको थियो ।

नेटवर्कीङ विजनेशसँग जोडिएको उक्त कारोबारमा पक्राउ पर्नेहरुमा सिन्धुलीका ३८ वर्षीय ज्ञानप्रसाद पौडेल (जिपी), आर्घाखाँचीका ३४ वर्षीय माधव खनाल, नुवाकोटकी २४ वर्षीया बिन्दा ढकाल, सिन्धुपाल्चोकका ४४ वर्षीय मिङमार तामाङ, रुपन्देहीका मनिषकुमार गिरी र काठमाडौंका २५ वर्षीय प्रशान्तप्रताप शाह र दमन बस्नेत पक्राउ परेका थिए । यी व्यक्तिहरुले बिटक्वाइन नामको क्रिप्टो करेन्सी प्रयोग गरेका थिए । बिटक्वाइन मार्फत उनीहरुले झण्डै १०–१२ लाख अमेरिकी डलरको कारोबार गरेको अनुसन्धानले देखाएको थियो ।

सन् २०१७ तिर सरकारले नेटवर्किङ बिजनेशमा रोक लगाएसँगै सो बिजनेशका कारोवारी क्रिप्टो करेन्सी कारोबारमा सिफ्ट भएको सिआइबीको अनुसन्धानमा देखिएको छि । तर नेपालमा नेटवर्किङ बिजनेश र क्रिप्टो करेन्सी दुबै प्रतिबन्धित छन् ।

के मान्यता पाउला त क्रिप्टो करेन्सीले ?

विश्वका धेरै जसो मुलुकहरुमा क्रिप्टो करेन्सी प्रतिबन्ध रहेपनि केही मुलुकहरुमा भने यसले मान्यता पाएको छ । आधुनिक युगमा वस्तु तथा सेवाको कारोबारमा डिजिटल मार्फत नै भुक्तानी गर्न वा सेयरिङ गर्न क्रिप्टो करेन्सीको प्ल्याटफर्म प्रयोग गर्नुपर्ने आवाजहरु पनि नउठेका होइनन् ।

त्यसो त केही दिन अघि मात्र एक सार्वजनिक कार्यक्रममै अर्थमन्त्री डा. युवराज खतिवडाले अब नेपालले पनि भर्चुअल मुद्राको प्रयोग गर्नुपर्छ भन्ने धारणा राखेपछि एकाएक यसको चर्चा चुलिन पुगेको छ ।

नेपाल धितोपत्र बोर्डको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खतिवडाले बदलिँदो परिस्थितिमा हाम्रो कारोबारहरु भर्चुअल मुद्राबाट समेत गर्नुपर्ने अवस्था देखिएको भन्दै त्यसलाई समेत अघि बढाउने गरी वित्तीय क्षेत्रका नियमनकारी निकायहरुले समन्वय र क्षमता अभिवृद्धि गर्नुपर्ने धारणा राखेका थिए ।

यसका लागि भर्चुअल करेन्सी जस्तो क्राउड सोर्सिङदेखि क्लाउड सोर्सिङसम्मको प्रयोग गरेर जानु पर्ने भन्दै अर्थमन्त्री खतिवडाले बजारको क्षमता र साक्षरता दुबै बढाउनु पर्ने बताएका थिए ।

तर नेपाल राष्ट्र बैङ्कले भने, क्रिप्टो करेन्सीको बारेमा अहिले नै केहि नसोचेको बताएको छ ।

‘डिजिटल मुद्रा कारोबारको फाइदा बेफाइदा पहिला हेरिनुपर्छ । जतिबेला बेफाइदा भन्दा बढि फाइदा हुने अवस्था रहन्छ अनिमात्र कार्यान्वयनमा जाने हो । तर अहिले हाम्रो त्यस्तो कुनै तयारी छैन । त्यसका लागि ठूलो गृहकार्यको आवश्यकता पर्छ ।’

राष्ट्र बैङ्कका प्रवक्ता डा.गुणाकर भट्टले भने, ‘अहिलेसम्म कुनैपनि क्रिप्टो करेन्सीको प्रयोग गैरकानुनी हो । र, यसलाई अवैधानिक नै मानिन्छ ।’

राष्ट्रिय अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका प्रवक्ता भट्टले यसबारेमा अहिले राष्ट्र बैङ्कले केही नसोचेको र त्यस्तो अवस्था बने कार्यान्वयनका लागि राष्ट्र बैङ्कले सुझबुझका साथ अघि बढ्ने जानकारी दिए ।

यता, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले भने क्रिप्टो करेन्सीको कारोबार गैरकानुनी भएकाले यस्तो कारोबार भएको भेटिए कानुन अनुसार कारबाही गरिने बताएको छ । गत वर्षहरुमा छिटफुट क्रिप्टो करेन्सीका मुद्दाहरु आएपनि पछिल्लो समय यस्तो मुद्दा नआएको सिआइबीका प्रवक्ता एसपी बेल बहादुर पाण्डेले जानकारी दिए । Source : Ratopati

Facebook Comments