चौथो जितसहित मुम्बई आइपिएलको शीर्ष स्थानमा

काठमाडौं- डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चौथो जित निकालेको छ। मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको हो।

युएईको अबुधाबीमा १९४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले खराब सुरुवात गर्दै १८.१ ओभरमा सबै विकेटको क्षतिमा १३६ रन मात्रै बनाएपछि मुम्बईले सहज जित निकालेको हो। शुन्यमै यशास्वी जैसवाल आउट भएपछि राजस्थानको विकेट पतन सुरु भयो। सात रन हुँदा कप्तान स्टेभ स्मिथ ६ रनमा आउट भए। १२ रन हुँदा तेस्रो विकेटको रुपमा सन्जु सामसन आउट भएपछि राजस्थान निकै संकटमा परेको थियो। एकपछि अर्को विकेट गएपनि ओपनर जस बटलरले भने उत्कृष्ट प्रदर्शन गरिरहे। तर ४४ बलमा पाँच छक्का र चार चौका प्रहार गर्दै ७० रन बनाएका बटलर जेम्स पिटिनसनको बलमा आउट भए। उनी आउट भएसँगै राजस्थानको हार पक्का जस्तै भयो। त्यस्तै, जोफ्रा आर्चरले २४ र टोम कुरनले १५ रन बनाए।

बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले चार ओभरमा २० रन खर्चिएर चार विकेट लिए। जेम्स पिटिनसन र ट्रेन्ट बोल्टले समान २–२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १९३ रन बनायो। मुम्बईका लागि सुर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा ११ चौका र दुई छक्काको मद्दतमा अविजित ७९ रन बनाए। त्यस्तै, कप्तान रोहित शर्माले ३५, हार्दिक पाण्ड्याले अविजित ३० र डि ककले २३ रनको योगदान दिए। राजस्थान रोयल्सका लागि बलिङतर्फ श्रेयस गोपालले दुई विकेट लिए।

जितसँगै मुम्बई इन्डियन्स ६ खेलबाट चार खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै आठ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा दिल्ली क्यापिटल्स छ। पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको दिल्लीको पनि आठ अंक नै छ। मुम्बईसँग पराजित भएको राजस्थानले भने पाँच खेलमध्ये दुई खेलमा जित र तीन खेलमा हार ब्यहोरेको छ।

Source:Nepal live

Facebook Comments