लकडाउनको अन्त्यले सङ्क्रमणको जोखिम अझ बढाएको छ

काठमाडौँ, साउन १० गते । सरकारले १२० दिन लामो लकडाउन खोल्ने निर्णय गरेको छ । लकडाउन घोषणा गर्दाका बखत नेपालमा जम्मा कोरोना भाइरसका दुई सङ्क्रमित भेटिएका थिए । एक सय २० औँ दिनमा सङ्क्रमितको सङ्ख्या १८ हजारभन्दा बढी पुगेको छ । सङ्क्रामक महामारीको जोखिमकै बीच मानिसको दिनचर्या सामान्य अवस्थामा फर्कँदैछ ।
यसै सन्दर्भमा जनस्वास्थ्य विज्ञ रवीन्द्र पाण्डेसँग लकडाउन अन्त्य गरिएपछि जनस्वास्थ्यसम्बन्धी सरोकार र समुदायमा भाइरस फैलने जोखिमलगायत विषयमा राइजिङ नेपाल डेली डटकमका सम्पदा अनुरञ्जनी खतिवडाले गर्नुभएको कुराकानीको शान्ति लामाद्वारा अनुवादित अंश ।

सरकारले १२० दिनपछि लकडाउन अन्त्य गरेको छ । यसबारे के भन्नुहुन्छ ?
भाइरस सङ्क्रमणको जोखिम रहेकै अवस्थामा सरकारले लकडाउन हटाउने निर्णय हत्तपत्त गरेजस्तो देखिन्छ । सरकारले केही गृहकार्य गरेर मात्र लकडाउन हटाउने निर्णय गरेको भए अझ सुरक्षित हुन्थ्यो ।
यो अन्त्य भन्ने शब्दले मानिसमा सङ्क्रमणको डरसमेत अन्त्य गराएको छ । त्यसकारण महामारीबाट सुरक्षित र सावधान रहनका लागि अझै पनि विद्यालय खुल्ने, सेमिनार, उत्सव मनाउनेजस्ता धेरै मानिस जमघट हुने कार्यहरू गर्न नपाइने हुनाले लकडाउन अन्त्य भएको छैन भन्ने हामी सबैले बुझ्नु अत्यावश्यक छ ।
साउन ७ गते सरकारले लकडाउन अन्त्य गरेको भोलिपल्ट काठमाडौँ उपत्यकामा मानिस र सवारी साधनको चाप अत्यधिक बढेको थियो । लकडाउनको अन्त्यले सङ्क्रमणको जोखिम अझ बढाएको छ ।
त्यसैले सर्वसाधारणले लकडाउन अन्त्य भइसक्यो र हामी सुरक्षित छौँ भन्ने सोच्नुहुँदैन । सरकारले सिफारिस गरेको सुरक्षाका मापदण्डहरू सबैले अक्षरशः पालना गर्नुपर्छ । अर्काेतिर सरकारले पनि सुरक्षाका उपाय पालना नगर्नेलाई कडा कार्बाही र जरिवाना गर्ने नियम लागु गर्नुपर्छ ।

छोटो दूरीका सवारी साधनहरू चल्न थालिसकेका छन् । लामो दूरीका यातायात पनि छिट्टै सञ्चालन गरिँदैछ । यसरी यातायात सेवाको पुनः सञ्चालनबाट जनस्वास्थ्यमा के कस्ता जोखिमहरू आउन सक्छन् ?
बन्दाबन्दीको समयमा मानिसहरूको कम चहलपहलका कारण काेभिड-१९ सङ्क्रमण र समुदायमा फैलने जोखिम सीमित थियो । अहिले लकडाउन अन्त्य गरिसकेपछि मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम पनि बढेको छ ।
माइक्रोबस तथा टेम्पोजस्ता सवारीसाधनमा भौतिक दूरी कायम गर्न सम्भव हुँदैन । अनेक ट्राभल हिस्ट्री भएका विभिन्न मानिसहरू सार्वजनिक यातायातमा यात्रा गर्छन् । त्यसैले सार्वजनिक यातायात प्रयोग गरिँदाको अवस्थामा कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको छ ।
यदि नजिकैको यात्रा छ भने हिँड्नु नै उत्तम हो । तर सार्वजनिक यातायात चढ्नुपर्ने अवस्था भएमा त्यो सवारी साधन राम्रोसँग स्यानिटाइज गरिएको र सुरक्षाका मापदण्ड पालना गरेको सुनिश्चित हुनुपर्छ ।
चालक र सहचालकको बारम्बार पीसीआर परीक्षण गरिनुपर्छ । गाडीलाई दैनिक कम्तीमा दुई पटक निसङ्क्रमण गरिनुपर्छ । मास्क नलगाएको यात्रुलाई गाडी चढ्न दिइनुहुँदैन । गाडी चढ्दा र झर्दा भौतिक दूरी कायम गरिनुपर्छ । चालक, सहचालक र यात्रुले पनि सम्भव भएसम्म पञ्जा लगाउनुपर्छ ।
सङ्क्रमण दर कम भएका स्थानहरूमा मात्र लामो दूरीका यातायात सञ्चालन गरिनुपर्छ । हामीले भारतबाट सिक्नुपर्छ । भारतमा सार्वजनिक यातायात पुनः सञ्चालनमा ल्याएपछि सङ्क्रमण अत्यधिक वृद्धि भयो ।
अझ सम्भव भएमा सुरक्षा मापदण्ड तथा निर्देशिकाहरूको पालना सुनिश्चित गर्नका लागि एक गाडीमा एक प्रहरी खटाइनुपर्छ ।

 भारतमा कोरोना सङ्क्रमण बढिरहेको छ । यसले नेपालमा प्रभाव पार्ला ?
भारतमा काेभिड-१९ सङ्क्रमण अगस्टको मध्यमा अधिकतम अवस्थामा पुग्ने र अक्टोबरको अन्त्यसम्म नियन्त्रणमा आउने पूर्वानुमान गरिएको छ । हामीले भारतको सङ्क्रमितको सङ्ख्या हेर्दा त्यसैअनुसार वृद्धि भइरहेको पाउँछौँ । यसले नेपाललाई निश्चित रुपमा असर गर्छ ।
भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल तथा उत्तराखण्डजस्ता नेपालसँग सिमाना जोडिएका स्थानहरूमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । त्यसैले आउँदा दिनमा भारतमा असुरक्षा महसुस गरी मानिसहरू नेपाल फर्कने क्रम बढ्न सक्छ ।
भारतमा सङ्क्रमणको वृद्धिसँगै आइसोलेसन वार्ड तथा बेडहरूको शुल्क पनि बढिरहेको छ । यस्ताे अवस्थामा नेपालका अस्पतालहरूमा तुलनात्मक सस्तो उपचार हुनाले काेभिड-१९ को उपचारका लागि मानिसहरू नेपाल भित्रिन सक्छन् ।
त्यसकारण, सीमाक्षेत्रमा कडा निगरानी राखिनु जरुरी छ । सीमा क्षेत्रमा बनाइएका क्वारेन्टाइनहरू प्रभावकारी रुपमा व्यवस्थापन गरिनुपर्छ । नेपाल प्रवेश गर्ने सबैलाई होल्डिङ सेन्टरमा कम्तीमा पाँचदेखि सात दिन राखिनुपर्छ । त्यसपछि बल्ल उनीहरूको पीसीआर परीक्षणको नतिजाका आधारमा उनीहरूलाई घर वा आइसोलेसन पठाउने गरिनुपर्छ ।

चाडबाडको समय पनि नजिकिँदैछ । काेभिड-१९ महामारीमा यसको प्रभाव कस्तो पर्नसक्छ ?
चडबाड नजिकिँदै जाँदा झण्डै दुई लाखदेखि तीन लाख जना नेपाली भारत तथा अन्य देशबाट फर्कने अनुमान गरिएको छ । आउँदो अक्टोबरमा भारतमा सङ्क्रमण उच्च विन्दुमा पुगेको हुनेछ, जतिबेला नेपालमा दसैँ चाड मनाउने समय पर्छ ।
अनि, हवाई सेवा खुला गरिँदा विदेशबाट नेपाल आउनेको सङ्ख्या पनि बढ्नेछ । विमास्थल र हवाईजहाजहरू कोरोना भाइरस सङ्क्रमण हुने सबैभन्दा असुरक्षित स्थानमध्ये मानिन्छन् ।
त्यसकारण, समुदायमा हुने सङ्क्रमण रोक्नका लागि हवाईमार्गबाट आउने र नेपाल भारतको सीमाबाट प्रवेश गर्ने नेपालीलाई कम्तीमा पाँचदेखि सात दिन होल्डिङ सेन्टरमा राखी पीसीआर परीक्षण गरेर मात्र समुदायमा पठाउनुपर्छ ।

दैनिक गरिरहेको पीसीआर परीक्षण पर्याप्त छ ? वा यसको दायरा बढाउनुपर्छ ?
अधिक जनघनत्व भएका क्षेत्रहरू सधैँ सङ्क्रमण फैलने उच्च जोखिममा हुन्छन् । त्यसैले काठमाडौँ उपत्यकाजस्ता धेरै जनघनत्व भएका ठाउँमा पीसीआर परीक्षणको दायरा बढाउनु अत्यन्त आवश्यक छ ।
काठमाडौँमा ४० लाख जनसङ्ख्या छ । उपत्यकाको कम्तीमा दुई प्रतिशत जनसङ्ख्याको पीसीआर परीक्षण गर्नु जरुरी छ ।
पीसीआर परीक्षणको दायरा बढाउँदा लागत कम गर्न काेभिड-१९ परीक्षणको पुलिङ विधि अवलम्बन गर्न सकिन्छ । पुलिङ विधिमा धेरै नमुनाहरूको एकैपटक परीक्षण गर्न सकिन्छ ।
पुलिङ विधिमा धेरै वटा नमुनाहरूलाई एकै ठाउँ मिसाई एउटा नमुना बनाइन्छ । त्यसपछि मिसाइएको नमुनालाई पीसीआर परीक्षण गरिन्छ । यदि सामूहिक नमुनाको परीक्षण नतिजा नेगेटिभ आएमा नमुना लिइएका सबै व्यक्तिहरू सङ्क्रमणरहित मानिन्छन् । यदि सामूहिक नमुना परीक्षणको नतिजा पोजिटिभ आयो भने हरेक नमुनाको फेरि भिन्दाभिन्दै परीक्षण गरी सङ्क्रमितको पहिचान गरिन्छ ।
अमेरिकाले एक पटकमा चार जना व्यक्तिको परीक्षण गर्न पुलिङ विधि प्रयोग गरेको छ । नेपालमा अत्यधिक जनसङ्ख्या भएको क्षेत्रमा यसको प्रयोग दश जना व्यक्तिको परीक्षणका लागि गर्न सकिन्छ ।
साथै, काठमाडौँ उपत्यका भएर दर्जनौँ खोला नदी बग्छन् । सुरक्षा मापदण्ड नअपनाइएका नदी तथा खोला किनाहरूमा धेरै वटा अव्यवस्थित बसोबास क्षेत्रहरू पनि छन् । यस्ता अव्यवस्थित तथा साँघुरा बस्तीहरू, इट्टाभट्टा, चिया पसल, मदिरा पसल, कोल्ड स्टोर, मासु पसल, तरकारी बजार तथा फोहोर व्यवस्थापनलगायत क्षेत्रमा पनि पीसीआर परीक्षण गरिनुपर्छ ।
महामारीबारे कम जानकार मानिसहरूमा काेभिड-१९ परीक्षणलाई विस्तार गरिनुपर्छ । उदाहरणका लागि, दिल्लीको स्वास्थ्य तथा परिवार शाखाले गरेको एन्टीबडी सर्वेक्षणमा २८ प्रतिशत मानिसमा एन्टीबडी पाइएको थियो । यसको अर्थ, उनीहरूमा भाइरसको सङ्क्रमण भएर पनि कुनै लक्षण नदेखिई निको भए । समुदायमा सङ्क्रमणको अवस्था निश्चय गर्न नेपालमा पनि यस्तै खालको सर्वेक्षण गर्न सकिन्छ । यसले सरकारलाई पनि अवस्थाअनु्सार काेभिड-१९ को प्रतिकार्य नीति निर्माण गर्न सहयोग पुग्छ ।

अहिले नेपालमा सङ्क्रमण दर घटिरहेको छ । दोस्रो चरणको महामारी फैलने सम्भावना कति छ ?
हामीले विश्वको उदाहरण हेर्याैँ भने, बेलायतमा ५० हजारदेखि साढे दुई लाख सङ्क्रमितको ज्यान लिने गरी दोस्रो चरणको महामारी हिउँदमा हुने अनुमान गरिएको छ । त्यस्तै, अस्ट्रेलियाको मेलबर्नमा दोस्रो चरणको सङ्क्रमणपछि छ हप्ताको लागि लकडाउन थपियो । चीनको बेइजिङमा दैनिक दश लाख नमुना परीक्षण गरिएसँगै दोस्रो चरणको सङ्क्रमण नियन्त्रणमा ल्याइयो ।
भारतको उत्तर प्रदेश र बिहारलगायत विभिन्न ठाउँहरूमा दोस्रो चरणको सङ्क्रमण हिउँदमा हुने अनुमान गरिएको छ । यदि भारतमा दोस्रो चरणको सङ्क्रमण फैलियाे भने नेपाल पनि यसले प्रभावित हुने सम्भावना अति उच्च हुनेछ ।
श्वासप्रश्वास प्रणालीमा असर गर्ने खालको भाइरस भएकोले काेभिड-१९ भाइरस चिसो मौसममा अझ सक्रिय हुन्छ । हाम्रा नाक र मुखबाट निस्कने छिटाहरू हिउँदको समयमा लामो समयसम्म रहन्छन् । यस मौसममा भाइरस समुदायमा प्रवेश गर्ने सम्भावना अत्यधिक हुन्छ । साथै, मौसमी रुघाखोखीसँग यो भाइरस मिसिएमा समुदायमा सङ्क्रमण हुने जोखिम थप बढ्छ । मौसमी रुघाखोकी र काेभिड-१९ को लक्षण उस्तै हुने हुनाले कोभिड परीक्षण गर्न चाहने मानिसको सङ्ख्या पनि हिउँदको समयमा वृद्धि हुनेछ । हिउँद यामका काेभिड-१९ परीक्षणको सेवा दिनका लागि सरकार तयार रहनुपर्छ ।
नेपाल दोस्रो चरणको सङ्क्रमणको अवस्थामा पुग्छ वा पुग्दैन भनी यसै भन्न सकिन्न । यद्यपि दोस्रो चरणको पूर्वतयारी भने गरिरहनुपर्छ ।

 काेभिड-१९ विरुद्ध खोप विकाससम्बन्धी विश्वव्यापी अनुसन्धानमा नेपालको भूमिका के हुनुपर्छ ?
काेभिड-१९ विरुद्धको खोप विकासमा १५० भन्दा बढी प्रयोगशालाहरूले अनुसन्धान गरिरहेका छन् । जसमध्ये १८ वटा प्रयोगशालाले उल्लेख्य प्रगति हासिल गरेको पनि छ । केही नाम लिनुपर्दा, अक्सफोर्ड युनिभर्सिटीले तेस्रो चरणको भ्याक्सिन परीक्षण थालिसकेको छ । संयुक्त राज्य अमेरिका र जर्मनीसँगको सहकार्यमा फाइजर नामको कम्पनीले विकास गरिरहेको खोप परीक्षण पनि तेस्रो चरणमा पुगेको छ । त्यस्तै, अमेरिकी कम्पनी मोडर्ना पनि खोप परीक्षणको दोस्रो चरणमा छ । भारतले पनि काेभिड-१९ विरुद्ध खोप विकास गर्ने प्रयास गरिरहेको छ ।
खोप परीक्षण सफल भएमा संसारभर नै खरिद गर्नका लागि नै बुकिङसमेत सुरु भइसकेको छ । नेपालले पनि यी केही कम्पनीसँग खोप बुक गर्न आफ्नो कूटनीतिक संयन्त्रको उपयोग गर्नुपर्छ, जहाँबाट काेभिड-१९ विरुद्धको खोप तयार हुनेबित्तिकै प्राप्त गर्न सकोस् । Source: Gorlkhapatraonline

Facebook Comments