नागरिक लगानी कोषको नाफामा १२ % वृद्धि
असार १६, काठमाडौं । नागरिक लगानी कोषले चैत मसान्तसम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कोषको नाफामा गत वर्षको तुलनामा १२ प्रतिशत बढी खुद नाफा भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म रू. ३३ करोड ७७ लाख खुद नाफा गरेको कोषले यस वर्ष सोहि अवधिसम्ममा रू. ३७ करोड ९४ लाख खुद नाफा गरेको हो ।
यस वर्ष कोषको कुल आम्दानी रू.७ करोड ८५ लाख भएको छ भने कुल खर्च रू.२० करोड २६ लाख भएको छ । कुल आम्दानी गत वर्षभन्दा २१ प्रतिशत बढी र खर्च ३४ प्रतिशत बढी भएको छ ।आर्थिक वर्ष २०७४/ ७५ को मुनाफाबाट २२ प्रतिशत बोनस वितरण गरि कोषले चुक्तापूँजी रू. १ अर्ब ३४ करोड ४८ लाख पुर्याएको छ ।
कोषको जगेडाकोष रकम गत वर्षभन्दा ४२ प्रतिशत बढी रू. ७ अर्ब २४ करोड ६८ लाख कायम भएको छ । गत वर्ष यस अवधिसम्म कोषको जगेडा कोषमा रू. ५ अर्ब ८ करोड ८५ लाख थियो । कोषको मुद्दती निक्षेप गत वर्षभन्दा यस वर्ष ११ प्रतिशत बढी रू. ८५ अर्ब १४ करोड छ ।
कोषले विभिन्न कम्पनीको शेयरमा रू. १० अर्ब १९ करोड ९४ लाख बराबर लगानी गरेको छ । यो लगानी गत वर्षभन्दा साढे ६७ प्रतिशत बढी भएको हो । धितोपत्र बजारमा आगामी साउनदेखि सहायक कम्पनी मार्फत स्टक डिलरको काम गर्ने तयारी गरेको कोषले धितोपत्रमा लगानी बढाएको छ । प्रतिशेयर आम्दानी रू. ३१ रहेको कोषको प्रतिशेयर नेटवर्थ रू. २०८ रहेको छ ।
कोषले गत आवको मुनाफाबाट २२ प्रतिशत बोनस सहित १ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्तावसहित विविध प्रस्ताव पारित गर्न असार २० गते वार्षिक साधारण सभा गर्दैछ ।
यस वर्ष कोषले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत गरेको छ ।
उक्त सभा र लाभांश प्रयोजनका लागि कोषले असार १० गतेनै बुक क्लोज गरेको छ । कोषको हकप्रद प्रति आकर्षित भई धितोपत्र बजारमा कम्पनीको शेयरमूल्यमा सकारात्मक प्रभाव परेको छ ।
मंगलवार नागरिक लगानी कोषको शेयरमूल्य सबैभन्दा बढी रू. २०७ ले बढेको छ । यस दिन १० प्रतिशतले कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।मंगलवारको कारोबारपछि कोषको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. २ हजार २७७ कायम भएको छ ।