खरिद र अनुदानसहित ८० लाख खोप सुनिश्चित

पछिल्लो समय सरकारले कोरोना विरुद्धको खोप आयात गर्ने प्रक्रियालाई तीव्रता दिएपछि आम नागरिकले खोप पाउने सुनिश्चिता भएको छ ।
अमेरिका र जापानले दिएको ३१ लाखबाहेक मित्रराष्ट्र चीनबाट यसअघि आएको ८ लाखसहित २ हप्ताभित्र थप ३२ लाख भन्दा बढी मात्रामा खोप आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनको १५ गतेसम्म चीनबाट ३२ मात्रा भेरोसेल खोप आउने जनाएको छ । यसबाहेक चीनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १६ लाख मात्रा खोप अनुदानमा दिने भएको छ । हालसम्म चीनबाट खरिद गरिने र अनुदान पाउनेसहित जापान र अमेरिकाले दिएको तथा प्रतिवद्धतासहित ८० लाख भन्दा बढी मात्राको खोपको सुनिश्चिता भएको छ ।
सरकारले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रण गर्दै संक्रमणको जोखिमबाट नागरिकलाई जोगाउन खोप अभियानलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले खोप आपूर्तिको समस्यालाई समाधान गर्दै १८ वर्षमाथिका नागरिकलाई निःशुल्क खोप लगाउने योजना तयार भइसकेको जानकारी दिए । उनका अनुसार, खोप व्यवस्थापनलाई देशव्यापी बनाउने योजना अनुसार पछिल्लो समय प्राप्त खोपहरु धेरै जिल्लाहरुमा पुगिसकेका छन् ।
“केही जिल्लाहरुबाट भेरोसेल खोप अभियान सुरु गरेर अर्को चरणको अभियान सञ्चालन गर्न हाललाई स्थगित गरेको जानकारीसमेत प्राप्त भएका छन्” मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “जहाँ अर्को चरणको खोप अभियान ४ गतेबाटै सुचारु हुँदैछन् ।” हाललाई भेरोसेल खोप लगाउने वर्गमा ५५ वर्षभन्दा माथि र जोन्सन एण्ड जोनसनको खोप लगाउने वर्गमा ५० देखि ५४ वर्ष उमेरका एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरु रहेका छन् ।
खोप केन्द्रमा बढी भीडभाड भएपछि मन्त्रालयले चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गलाई खोप लगाउने अभियान निरन्तर सञ्चालन हुने जनाउँदै तोकिएका वर्ग र उमेर समुहको पालो अनुसार उमेर खुल्ने परिचयपत्र लिएर मात्रै खोप लगाउन जान हुन र अरुको खोप लगाउने पालोमा भीडभाड नगरी खोप अभियानमा सहयोग गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले शनिबार सूचना अनुसार गर्दै साउन ६ गतेबाट मित्रराष्ट्र चीनबाट खरिद गरिएका थप खोपहरु आउने र साउन १५ गतेभित्र कम्तिमा ३२ लाख तथा त्यसपछि पनि निरन्तर अन्य खोपहरु नेपाल आउने क्रम जारी रहने जनाएको छ । यसैगरी भेरोसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका सम्पूर्ण व्यक्तिका लागि दोस्रो मात्राको खोप व्यवस्था भइसकेको मन्त्रालयले जनाएको छ । केही दिनमै ती खोपहरु प्राप्त भएसँगै प्रतीक्षामा रहेका सबैलाई दोस्रो मात्रा उपलब्ध गराइने प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण ३, २०७८ आईतबार

News Source:karobardaily

Facebook Comments