कम्प्युटर भिजन सिन्ड्रोम: लक्षण, कारण र बच्ने उपाय

आस्था सुवेदी
                

      अत्याधुनिक प्रविधिको विकाससँगै डिजिटल सामाग्रीहरु मानवजातिको अभिन्न हिस्सा बनेका छन्। हामी बिहान उठेदेखि राती नसुतुन्जेलसम्म पढाइका, कामका तथा मनोरञ्जनका निमित्त दिनका कैयौं घण्टा यिनै सामाग्री प्रयोग गरेर समय बिताउँछौ। Nepal Telecommunication Authority का अनुसार गत एक वर्षमा छ लाखको हाराहारीमा सोसल मिडिया युजर्स थपिएका छन् र औसत रुपमा नेपालीले दैनिक ४.५ घण्टा मोबाईल फोनमा समय बिताउँछन्।अझ यो लकडाउनका समयमा त झन् यसको प्रयोग अत्याधिक बढेको पाइन्छ।
        यस्ता सामग्रीको अत्याधिक प्रयोग र उचित तरिकाले प्रयोग नगर्दा आँखामा विभिन्न समस्याहरु देखा पर्छन्। आउनुहोस् आज यस्तै एक अति सधारण तर असाध्यै पिरोल्ने समस्याका बारेमा चर्चा गरौँ।

के हो कम्प्युटर भिजन सिन्ड्रोम?
     दिनमा २ घण्टा वा सो भन्दा बढी निरन्तर डिजिटल सामाग्री जस्तै :- मोबाइल,ल्यापटप,ट्याब्लेट,इत्यादिको प्रयोगबाट आँखामा तथा दृष्टिमा आउने विविध समस्याहरुलाई एक शब्दमा जनाउनुपर्दा `कम्प्युटर भिजन सिन्ड्रोम´अर्थात् मेडिकल भाषामा`डिजिटल आइ स्ट्रेन´भनिन्छ।
   भिजन काउन्सिल नामक अन्तर्राष्ट्रिय संस्थाको अनुसन्धान रिपोर्ट अनुसार अमेरिकामा मात्र ५०-८०% कम्प्युटर प्रयोगकर्तालाई यो समस्याले पिरोलेको पाइन्छ।

लक्षणहरु     
१. टाउको  दुख्ने
२. आँखा वा यसको वरिपरि दुख्ने
३. आँखा सुख्खा हुने   
४. धमिलो देखिने
५. आँखा रातो हुने, ज्यादा आँसु बग्ने       
६. आँखा पोल्ने, बिझाउने, चिलाउने
७.आँखामा थकान, भारी महसुस हुने
८.उज्यालोमा हेर्न अफ्ठ्यारो हुने
९.निद्रामा असर पर्ने
१०.बेलाबेलामा वस्तु दुइटा देखिने
११.घाँटी,कुम,गर्धन दुख्ने

कारण र बच्ने उपाय
१.  पिक्सेल
डिजिटल समाग्रीको स्क्रिनमा पिक्सेल अर्थात् अक्षरहरुको स्पष्ट किनार नहुने र मध्यभाग परिधिभन्दा ज्यादा चम्किलो हुने कारणले प्रकाश केन्द्रित गरी वस्तु हेर्न अफ्ट्यारो हुन्छ।

२. नीलो प्रकाश (३८०-५००nm) र ग्लेर
डिजिटल सामाग्रीबाट आउने अत्याधिक उज्यालोपन (ग्लेर) र ज्यादा छरिने छोटो तरंग दुरी भएको नीलो प्रकाशको किरणलाई एकत्रित गरी आकृति बनाउन बारम्बार आँखालाई बल पर्छ। नीलो रङको प्रकाशलेआखाँको पर्दामा असर गर्ने साथै मेलाटोनिन नामक तत्वको कमिले निद्रामा समेत असर गर्दछ । परावर्तित प्रकाश ,अधिक उज्यालो तथा नीलो रङको किरणबाट आँखालाई जोगाउन Anti-Reflective Coating(ARC) वा blue ray cut चस्माको प्रयोग गर्न सकिन्छ। कोठाको भित्ताहरु गाढा रङको बनाउने, झ्याल लगाई सोझै आँखामा उज्यालो पर्न बाट जोगाउने तथा anti-glare कम्प्युटर मोनिटर, ARC coated ग्लास मोनिटरको प्रयोग गर्नु उचित मानिन्छ।

३.  आँखा कम झिम्काउने
सामान्यतया एक मिनेटमा मानिसले १६-२० पटकसम्म आँखा झिम्काउने गर्छ तर डिजिटल सामाग्रीको प्रयोग गर्दा ह्वात्तै घटेर ६-७ पटकसम्म पुग्न सक्छ जसले आँखा सुख्खा बनाउँछ। आँसुको तहमा अवरोध आउन नदिन बेलाबेलामा सम्झिएर आँखा झिम्काउने र चिकित्सकको सल्लाहबमोजिम कृत्रिम आँसुको प्रयोग गर्नुपर्छ। कोठामा सोझै आँखामा पर्ने गरी ए.सी, हिटर वा फ्यानको प्रयोग गर्नु हुँदैन।

४.  कार्य अवधि
लामो समयसम्म डिजिटल सामाग्रीको प्रयोगले आँखाको बाहिरी र भित्री मांसपेशीमा जोड पर्छ। मांसपेशी कमजोर हुँदा कम्प्युटर भिजन सिन्ड्रोममा बढावा दिने भएकाले आँखाको जाँच गरी उचित व्यायामद्वारा मजबुत बनाउनुपर्छ। निरन्तर कम्प्युटर चलाउँदा ढाड, गर्धन, काँध थाक्ने भएकाले बेलाबखतमा विश्राम लिई हात- खुट्टा तन्काउनु उचित हुन्छ।

५.  दृष्टिदोष
अदुरदृष्टि, दुरदृष्टी, दृष्टिवैषम्य लगायतका त्रुटिहरु सुधार नभएमा डिजिटल स्क्रिनमा हेर्दा आँखालाई जोड पर्छ। यसका निमित्त उचित चस्माको प्रयोग साथै टाढा र नजिकको पावर फरक पर्दा, आवश्यक परेको खण्डमा कम्प्युटर चलाउने दुरिका लागि छुट्टै चस्मा बनाउन सकिन्छ।

६. कार्य वातावरणको अनुकुलता
कम्प्युटर चलाउँदा कोठामा अत्याधिक उज्यालो, अतिन्युन उज्यालो, सोझै आँखामा परेको उज्यालो वा स्क्रिनमा ज्यादा परावर्तित प्रकाशले आँखामा भार पार्छ। कोठामा उज्यालो अन्य बेलाको भन्दा लगभग आधा र सोझै सुर्यको प्रकाश आँखामा,स्क्रिनमा पर्न नदिन मोनिटर झ्यालको छेउ छाउमा राख्ने तर अगाडि पछाडी नराख्नु उचित हुन्छ।

७. सहि मुद्रामा काम गर्ने
कम्प्युटर  चलाउँदा स्क्रिन र आँखाको दुरि ५०-६५ से.मि हुनुपर्छ। स्क्रिनको माथिल्लो भाग १०-२०डिग्री ले पछाडि ढल्काउने र मोनिटरको केन्द्रिय भाग आँखाको स्तरबाट १०-२० डिग्रीले तल राख्नुपर्छ। मोबाइल वा ट्याब्लेटको आँखादेखिको दुरि २५ से. मि भन्दा कम राख्नु हुँदैन। टाइप गर्दा डकुमेन्ट र स्क्रिन एउटै सतहमा राख्ने, आरामदायी कुर्सी छनोट गरी पैतालाले जमिनमा टेक्ने, हात जमिनसँग सिधा राख्ने, ढाडलाई सिधा राखी कुर्सीमा आढेस लगाउने र बेलाबखतमा मुद्राको ख्याल गरिराख्नुपर्दछ।

८.  सामाग्रीको सेटिङ्ग अपग्रेड गर्ने
डिजिटल सामाग्रीको स्क्रिनको उज्यालो र कोठाको उज्यालो लगभग उस्तै राख्नु उचित हुन्छ। अक्षरको फन्ट साइज आफू अनुकुल बनाउने (लगभग आफूले पढ्न सक्ने भन्दा ३× ठूलो) र उपयुक्त कन्ट्रास्टको प्रयोग गर्नुपर्छ। जस्तै: – हलुका ब्याकग्राउण्डमा गाढा अक्षर, इत्यादि साथै रातिको बेलामा मोबाइल, कम्युटर प्रयोग गर्दा नाइट मोडमा चलाउने र जुनसुकै बेलामा ब्लु लाइट फिल्टर मोडमा चलाउने।

९.  २०-२०-२० नियम
यो अत्यन्त प्रभावकारी समाधान मानिन्छ। निरन्तर २० मिनेटको डिजिटल सामाग्रीको प्रयोग पछि २० सेकेन्ड २० फिट (६ मि) पारी (सकभर झ्यालबाट बाहिर ) हेर्नु उचित मानिन्छ। विभिन्न एप्लिकेसनहरुले २० मिनेटपछि स्वत: स्क्रिन बन्द गरिदिने र विश्राम लिन वाध्य गराउँछन्। जस्तै:- Protect your vision, Eye care, Time out, Break timer जस्ता एप इन्स्टल वा २०-२० मिनेटमा अलार्म लगाउन पनि सकिन्छ।

१०. नियमित आँखा जाँच
National Institute of Occupational Safety & Health (NIOSH) का अनुसार कम्प्युटर निरन्तर काम गर्नुपर्ने व्यक्तिहरुले कम्तिमा एक-एक वर्षमा आँखा जाँच गर्न जरुरी छ। कुनै पनि आँखासँग सम्वन्धित समस्या देखिएमा तुरुन्तै नजिकैको दृष्टि विशेषज्ञ वा नेत्र विशेषज्ञसँग परामर्श लिनुपर्दछ।
   बालबालिकाहरु आफ्नो बारेमा कम सचेत हुने र छिटै समस्यामा अनुकुल रहन सक्ने भएकाले उनीहरुको विशेष ख्याल गर्न जरुरी छ।

यो रिपोर्ट यहाँ पस्तुत बिषय सम्वन्धित अन्य वेबसाइटका लेखहरुलाई पनि आधार बनाएर तयार पारिएको हो ।

आस्था सुवेदीबी.अप्टोमेट्री, त्रि. वि. , चिकित्सा शास्त्र अध्ययन संस्थान, बी.पी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रमा अन्तिम बर्षमा अध्ययनरत हुनु हुन्छ ।  

Facebook Comments

2 thoughts on “कम्प्युटर भिजन सिन्ड्रोम: लक्षण, कारण र बच्ने उपाय

Comments are closed.