विश्व बैंकले ५४ अर्ब रुपैयाँ ऋण दिने

नेपाललाई विश्व बैंकले करिब ५४ अर्ब रुपैयाँ बराबरको ऋण सहायता दिने भएको छ ।
विश्व बैंकले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार र रणनैतिक सडक सञ्जल व्यवस्थापन क्षमताको सुदृढीकरणका लागि ४५ करोड अमेरिकी डलर अर्थात् ५४ अर्ब रुपैयाँ ऋण सहायता दिने भएको हो । ऋण सहायता सम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितीमा अर्थ सचिव शिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे । अर्थमन्त्री खतिवडाले उक्त आयोजनाले सीमापार बजार लगायत सडक संजालको विस्तार र राष्ट्रिय एकीकरणलाई बढावा दिदैं कोरोना पश्चातको आर्थिक पुनरुत्थानलाइ सघाउने बताए । नेपालको द्रुत र दिगो विकासको एजेण्डामा सडक संजाल सम्पर्कको उच्च महत्व रहेको प्रसंग उठाउँदै उनले गुणस्तरीय पूर्वाधारहरूको महत्व सर्वव्यापी रहेको समेत बताए।
यस रणनैतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाले भारत लगायतका छिमेकी राष्ट्रहरूसँग सम्पर्क सञ्जाल तथा व्यापार वृद्धि गर्न सघाउने विश्वास लिइएको छ । परियोजना अन्तर्गत नागढुंगा–नौबिसे–मुग्लिंग खण्डलाई सुधार गर्नुका साथै कमला–ढल्केबर–पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाइने छ । विद्यमान व्यापारिक सेवालाई सहज बनाउनुका साथै कृषिजन्य निर्यातलाई प्रवर्द्धन गर्नका लागि यस आयोजनाले सीमा–नाकाहरूमा पूर्वाधार, सेवा सुविधा तथा सरसफाइमा सुधार गर्ने छ । साथै, कोभिड–१९ महामारीका बीच सीमा नाकाहरूमा वस्तु तथा मानिसहरूको जाँच गर्ने प्रक्रियाको सुधार र सुरक्षित दुरी कायम गर्दै टाढाबाट काम गर्ने लगायतका कामकाजका विशेष प्रबन्धहरू समेत विकास गर्ने छ । Source: Karobardaily

Facebook Comments