योजना आयोगले तोक्यो आगामी आवको बजेट सिलिङ

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि बजेट सिलिङ निर्धारण गरेको छ । आयोगले बजेटको सिलिङ तोकेर अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।
स्रोतका अनुसार योजना आयोगले १८ खर्बबराबरको बजेट सिलिङ तोकेको छ । मध्यकालीन खर्च संरचना तथा वार्षिक विकास कार्यक्रममा भने आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गर्ने प्रक्षेपण गरेको थियो ।
सरकारले राखेको आर्थिक वृद्धि तथा विकासको लक्ष्यलाई भेट्न १८ खर्ब बराबरको सिलिङ निर्धारण गरिएको आयोग स्रोतले जनाएको छ । तर, अर्थतन्त्रका सूचकांकहरूमा समस्या देखिएका कारण यतिकै बजेट आउँछ भन्ने अनुमान गर्न भने मुस्किल हुने जानकारहरू बताउँछन् ।
आयोगले अर्थ मन्त्रालयलाई सिलिङ पठाइसकेका कारण एक–दुई दिनमा नै मन्त्रालयले सिलिङको यकिन तथ्यांक सार्वजनिक गर्ने स्रोतले बताएको छ । योजना आयोगको मध्यकालीन खर्च संरचनामा भने आगामी आर्थिक वर्षमा पुँजीगततर्फ ४ खर्ब १९ अर्ब, चालूतर्फ ६ खर्ब ६३ अर्ब, वित्तीय हस्तान्तरणका लागि ४ खर्ब ७८ अर्ब तथा वित्तीय व्यवस्थाका लागि २ खर्ब ३२ अर्ब रुपैयाँको बजेट विनियोजन हुने प्रक्षेपण गरिएको थियो । यसमा केही बढाएर बजेटको सिलिङ पठाइएको स्रोतले जनाएको छ । सरकारले नयाँ आयोजना केकति ल्याउँछ, त्यसमा बजेटको आकार भर पर्ने बताइएको छ । चालू आर्थिक वर्ष २०७८÷०७९ का लागि योजना आयोगले १५ खर्ब ६२ अर्ब रुपैयाँबराबरको बजेट सिलिङ तोकेको थियो । तर, सरकारले बजेटको आकार बढाएर १६ खर्ब ४७ अर्ब पु¥याएको थियो । पछि शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट घटाएर १६ खर्ब ३२ अर्बमा झारेको थियो । त्यसमा पनि बजेटको अर्धवार्षिक समीक्षा गर्दै १५ खर्ब ४६ अर्ब रुपैयाँ खर्च गर्ने सरकारले लक्ष्य राखेको छ । तर, हालसम्म ४० प्रतिशत पनि बजेट खर्च भएको छैन । शतप्रतिशत बजेट खर्च नहुने भए पनि सरकारले बजेटको आकार भने बर्सेनि बढाइरहेको छ ।
News Source: karobardaily