बिहिबारदेखि जिल्लाभित्र सबै सार्वजनिक सवारीसाधन चल्ने, त्यसपछि प्रदेश र देशैभरी चलाइने

काठमाडौं। व्यवसायीहरु सार्वजनिक सवारीसाधन चलाउन तयार भएका छन्।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वीचमा विहीबारबाट जिल्लाभित्र पूर्ण रुपमा सवारी चलाउन सहमति गरेका हुन्। व्यवसायीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरे औपचारिक जानकारी दिने छन्।

सोमबार  यातायात व्यवस्था विभागमा महासंघ, तीनवटै यातायात सम्वद्ध ट्रेड युनियन,महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच छलफल भएको थियो। यातायात श्रमिकहरुका कोरोना बिमाको ५० प्रतिशत सरकार  र व्यवसायीले ५० प्रतिशत व्योहोर्ने सहमति भएको छ।

मजदुरको कोरोनाका कारण निधन भएमा आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारको तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिश गर्ने छ। श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू(मास्क, स्यानिटाईजर, पन्जा, पिपिई) सम्बन्धीत व्यवसायीले उपलब्ध गराउने सहमति भएको छ।

 लामो ,छोटो र मध्य सबै सवारीसाधन संचालनका लागि विभागले मन्त्रालयमा मार्फत सिफारिस गर्ने सहमती भएको  महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। विभागका महानिर्देशक गोगनबहादुर हमालले यातायात संचालनमा सहमति भएको बताए।

‘हाम्रो मुख्य चासो स्वास्थ्यका मापदण्ड पालना गर्ने विषयमा हो। चालक, सहचालक,यात्रुको स्वास्थ्यको विषय छ,’ उनले भने। व्यवसायीहरुले सवारीसाधनमा स्यानिटाइजर राख्नुपर्नेछ। चालक, सहचालक मास्क, पंजा, सेनिटाइज, पीपीइ लगायतका स्वास्थ्य सामाग्री दिनुपर्छ।

बसहरु स्टपहरुमा मात्र रोकेर यात्रु चढाउने र ओराल्ने गर्नुपर्नेछ। हमालले कोरोनाको प्रभाव कम हुदै गए विस्तारै जिल्लाबाट प्रदेश हुदै देशैभरि गाडी चलाउने गरि कार्ययोजना बनेको बताए। अहिले उपत्यकामा  धेरै सवारीसाधन संचालनमा आइसकेका छन्। उपत्यका बाहिर पनि केही कम्पनीका सवारीसाधन संचालन भैरहेका छन्। source: Pahilopost

Facebook Comments