राष्ट्रिय परिचयपत्र बिना अव पासपोर्ट नबन्ने

आगामी आर्थिक वर्षदेखि राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । त्यसकै विवरणका आधारमा पासपोर्ट जारी हुनेछ । सरकारले गत २९ असारमा राहदानी नियमावली जारी गरेर यस्तो व्यवस्था गरेको हो । मन्त्रिपरिषद्बाट पारित नियमावली राजपत्रमा प्रकाशनका लागि अहिले मुद्रण विभाग छ ।

गत वर्ष नयाँ राहदारी ऐन जारी भएपछि त्यहीअनुसार नयाँ नियमावली बनाइएको हो । आगामी आर्थिक वर्षदेखि विद्युतीय पासपोर्ट (इ–पासपोर्ट) वितरण सुरु भएपछि यो व्यवस्था कार्यान्वयनमा लगिने राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले बताए । 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बायोमेट्रिक प्रविधिको राष्ट्रिय परिचयपत्र वितरणको काम गरिरहेको छ । हालसम्म करिब एक लाख राष्ट्रिय परिचयपत्र वितरण भइसकेका छन् । आगामी आर्थिक वर्षभित्र परिचयपत्र वितरण गरिसक्ने लक्ष्य रहेको पञ्जीकरण विभागका सूचना अधिकारी शिवराज जोशीले बताए । 

राहदानी विभागले हालको एमआरपी प्रविधिको राहदानी छपाइ छाडेर इ–पासपोर्टको तयारी गर्दै छ । इ–पासपोर्टमा राष्ट्रिय परिचयपत्र नम्बरसहितका डाटासमेत समावेश गर्ने सरकारको योजना छ । त्यसका लागि दुई विभागबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । त्यसैले नयाँ पासपोर्ट लिन चाहनेले पहिला राष्ट्रिय परिचयपत्र लिनुपर्नेछ । हाल विभागसँग करिब पाँच लाख एमआरपी बाँकी छन् । त्यो राहदानी करिब एक वर्षलाई पुग्ने र त्यसपछि इ–पासपोर्ट जारी गरिने विभागका महानिर्देशक खड्काले बताए । 

दुईथरी पासपोर्ट थपिए

विदेशस्थित कूटनीतिक नियोगमा करारमा कार्यरत कर्मचारी र सामुद्रिक यातायातमा काम गर्ने नेपालीलाई फरक खालका पासपोर्ट दिने सरकारको तयारी छ । राहदानी नियमावली संशोधन गर्दै सरकारले ‘सर्भिस पासपोर्ट’ र ‘सी म्यान्स पासपोर्ट’ गरी दुई खालका पासपोर्ट थप्ने व्यवस्था गरेको हो । दुवै पासपोर्ट तत्कालै वितरण सुरु गरिने राहदानी विभागले जनाएको छ । 

विद्यमान व्यवस्थाले विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत करारका कर्मचारीलाई समस्या परेको भन्दै नयाँ पासपोर्टको व्यवस्था गरिएको हो । अहिले उनीहरूलाई साधारण पासपोर्ट दिने गरिएको छ । विभिन्न देशमा गरेर नेपालका ३८ वटा कूटनीतिक नियोग छन् । ती नियोगमा राजदूतका सहयोगीका रूपमा जाने र करार भर्ना गरिने कर्मचारीलाई लक्षित गरेर पासपोर्टमा नयाँ व्यवस्था गरिएको विभागले जनाएको छ । 

त्यस्तै, सामुद्रिक कामदारका लागि लक्षित गरेर ‘सी म्यान्स पासपोर्ट’ पनि जारी गरिनेछ । समुद्रमा यात्रा गरिरहनुपर्ने तथा त्यहीँबाट विभिन्न मुलुकमा पुग्नुपर्ने प्रकृतिका काम गर्ने नेपालीका लागि बेग्लै खालको पासपोर्टको व्यवस्था गरिएको हो । यी दुवै खालको पासपोर्ट लिनका लागि प्रक्रियामा भने धेरै भिन्नता छैन । लगभग साबिककै प्रक्रियाबाटै यस्तो पासपोर्ट लिन सकिने राहदानी विभागले जनाएको छ । हाल साधारण, विशेष र कूटनीतिक गरी तीन प्रकारका पासपोर्टको व्यवस्था छ ।

Source :नयाँ पत्रिका अन्लाईन

Facebook Comments