नेपाल-चीन रेलमार्ग: सिगात्सेदेखि केरुङसम्मको सर्वे धमाधम, २०२२ सम्म रेलमार्ग निर्माण सक्ने

काठमाडौं।  नेपाल-चीन रेलमार्गको चीनतर्फको सर्वेक्षणको काम धमाधम भइरहेको छ। चिनियाँ सर्भेयर टोलीले सिगात्सेदेखि केरुङसम्मको रेलमार्गको सर्वेक्षण गरिरहेका छन्।

दुई देशबीच आर्थिक तथा सामाजिक महत्व राख्ने रेलमार्गको निर्माणले दुई देशबीचको सम्बन्धलाई थप गहिराइमा पुर्‍याउने विश्वास गरिएको छ।

तिब्बतको सिगात्सेसम्म सन् २०१४ मा नै रेल आइपुगेको थियो। सिगात्सेसम्म आइपुगेको रेल नेपालको सीमासम्म ल्याउँदै केरुङ हुँदै काठमाडौं जोड्न दुई देशबीच सहमति भइसकेको छ।

सोही अनुरुप चीनले सिगात्सेदेखि केरुङसम्मको ५५६ किलोमिटर लामो रेलमार्ग सन् २०२२ सम्म सम्पन्न गर्ने अपेक्षा गरिएको छ। केरुङसम्म आइपुगेको रेल रसुवा हुँदै नेपाल भित्र्याउने र ७२ किलोमिटर वर काठमाडौंसम्म जोड्ने सहमति भएको छ।

सिगात्सेबाट चीनको राष्ट्रिय राजमार्ग ३१८ हुँदै न्यालम पुग्ने र त्यहाँबाट राजमार्ग २१९ हुँदै केरुङसम्म पुग्ने बताइएको छ। हाल नेपाल चीन कार्गो फ्राइट ट्रान्सपोर्ट सर्भिस चीनको लान्चो र सियानबाट सुरु भएको छ। यो सेवा सिगात्सेसम्म कार्गो रेल र त्यहाँबाट यी दुई राजमार्ग हुँदै केरुङसम्म आइपुग्छन्।

चीन तर्फको खण्डमा हाल धमाधम सर्भेको काम चलिरहेको चीनको सरकारी टेलिभिजन सीजीटीएनका कार्यक्रम निर्माता सन सिवेइले ट्वीटरमार्फत तस्विर सार्वजनिक गरेका छन्। तर, नेपालतर्फ भने रेलमार्ग सर्भेको कुनै छाँटकाँट देखिँदैन। Source: Bizmandu

Facebook Comments