October 20, 2021

प्रधानमन्त्री ओलीले भने–‘पार्टीमा बल प्रयोग भयो, प्रधानमन्त्री र अध्यक्ष छाड्दिनँ’

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बल प्रयोग भएको आरोप लगाएका छन् । ओलीको चाहनाविपरीत आइतबारका लागि स्थायी कमिटी बैठक तय भएपछि उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्यले बल प्रयोग गरेको आरोप लगाएका हुन् ।

‘पार्टीमा बल प्रयोग हुन थालेको छ । यो पनि बल प्रयोगकै बैठक हो । धेरै बल प्रयोग नगरौं । मैले पहिला पनि भनेको थिएँ । प्रचण्डको लान्छना पत्र छलफलको निम्ति उपयुक्त हैन । त्यसलाई फिर्ता लिनुपर्छ, यसलाई लिएर स्थायी कमिटीमा जान सकिन्नँ । स्थायी कमिटीको बैठक भोलि बस्दैन । यहीं छलफल गरौं । एउटा निष्कर्ष निकालौं । त्यसपछि मात्रै स्थायी कमिटीको बैठक हुन सक्छ’, शनिबारको सचिवालय बैठकमा ओलीले राखेको धारणा उद्धृत गर्दै एक सदस्यले भने ।

बुधबारको सचिवालय बैठकमा ओली अनुपस्थित थिए । उनको अनुपस्थित भएको निर्णयअनुसार शनिबार सचिवालय बैठक बसेको हो । तर, अन्तिम समयमा बैठकमा सहभागी भए पनि उनले पार्टीमा बल प्रयोग भएको बताएका छन् ।

ओलीले स्थायी कमिटी बैठकमा आफू सहभागी नहुने संकेत गरेका छन् । ‘तपाईंहरुको तयारी पुगेको होला । पुगेको छ भने बैठक गर्नुस् । स्थायी कमिटीमा फेरी गालीगलौज सुन्ने र रत्यौली नाच्ने मलाई मन छैन’ सचिवालय बैठकमा ओलीको भनाइ थियो ।

ओली दाहालले प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा रहे पनि बहुमत सदस्यले दुवै प्रस्ताव स्थायी कमिटीमा छलफलका लागि लैजाने निर्णय लिएपछि उनीमाथि गम्भीर दबाब सुरु भएको छ ।

सहमति नभए बहुमत अल्पमतबाट भए पनि विवाद टुंगाउने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले बल प्रयोग भएको बताएका हुन् । बैठकमा वामदेव गौतमले आवश्यक परे ओलीलाई केही समय दिनुपर्ने प्रस्ताव गरेका थिए । ‘केपी कमरेडले स्थायी कमिटी बैठक बस्ने हो । तर, बैठक बस्न अलि कति समय लाग्छ भन्नु भएको हो भने समय दिउँ ’ गौतमको प्रस्ताव थियो ।

तर, जवाफमा ओलीले आफूले सचिवालयबाट निकास निकाल्न खोजेको र प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछाड्ने बताएका छन् । ‘के को तयारी मलाई ? मैले सचिवालयबाटै निष्कर्ष निकालौं भनेको हुँ । अध्यक्ष र प्रधानमन्त्री छोडेर त्याग गर्छ कि यो बीचमा भन्नुभयो होला । सहमति आउँछ कि भनेको हो भने त्यो कल्पना गर्न छोड्नुस् । महाधिवेशनसम्म अध्यक्ष छोड्दिन, चुनाव नभएसम्म प्रधानमन्त्री छोड्दिनँ ।’

यसअघि दाहालले पेस गरेको प्रस्तावमा ओलीलाई त्याग गर्न आग्रह गरिएको थियो ।

Source:Ekantipur

Facebook Comments