October 20, 2021

सुरुमा २० प्रतिशत नागरिकलाई पुग्ने गरी कोभिड–१९ विरुद्धको खोप ल्याउने नेपाल सरकारको तयारी

सुरुमा दीर्घरोगी, वृद्धवृद्धा, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई उपलब्ध गराइने

कोभिड–१९ विरुद्धको खोप ल्याउन सरकारले तयारी सुरु गरेको छ । कोभ्याक्स सुविधाअन्तर्गत २० प्रतिशत नागरिकलाई पुग्ने गरी खोप ल्याउन लागिएको हो । अहिले विभिन्न देशमा कोभिड– १९ विरुद्धको खोप अन्तिम परीक्षणको चरणमा रहेको छ । कुन खोप ल्याउने भन्ने यकिन नभए पनि देशको २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी ल्याउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसका लागि स्वास्थ्य मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि आठवटा उपसमिति बनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा खोप सचिवालय, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा खोप कोष सचिवालय गठन गरिएको छ ।

मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), गाभी र सेपीको ‘कोभ्याक्स सुविधा’मार्फत सहुलियतदरमा २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप ल्याउने तयारी गरेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए । डब्लुएचओले गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप वितरण गर्ने तयारी गरेको छ ।

प्रमुख डा. शर्मा गौतमका अनुसार फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया) र अक्सफोर्ड एक्ट्राजेनिका (बेलायत) कम्पनीका खोप अहिले परीक्षणका क्रममा रहेका छन् । खोप उत्पादन गर्ने मुलुकमा दर्ता भइसकेपछि डब्लुएचओमा दर्ता र त्यसपछि नेपालको औषधि व्यवस्था विभागमा खोप दर्ता हुनेछ । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप ल्याउने तयारीका साथ काम भइरहेको बताए । उनका अनुसार खोपका लागि आवश्यक रकम, खोप ल्याइसकेपछि भण्डारण, खोप सुरुमा क–कसलाई दिने, खोप कसरी दिने भन्ने स्वास्थ्यकर्मीलाई तालिमजस्ता काम भइरहेका छन् । यसका लागि कूटनीतिक तहमा पनि छलफल भइरहेको उनको भनाइ छ । नेपालमा सुरुमा खोप दीर्घरोगी, वृद्धवृद्धा, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई उपलब्ध गराइनेछ । 

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको छ । त्यसमध्ये, दुई लाख २१ हजार आठ सय ४७ जना निको भएका छन् भने एक हजार पाँच सय ६७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Source:Nayapatrikadaily

Facebook Comments