October 20, 2021

नारायणहिटीभित्रको हलमा सर्वसाधारणले डकुमेन्ट्री हेर्न पाउने

काठमाडौँ

राजपरिवारले मात्र हेर्न पाउने नारायणहिटी हल अब सर्वसाधरणका लागि खुल्ला हुने भएको छ। दर्शकलाई राजपरिवारसँग सम्बन्धित विविध डकुमेन्ट्री देखाउने उद्देश्यले यो हल खोल्ने तयारी सुरु भएको हो ।

‘संरक्षणको हिसाबले खोल्ने निर्णय गरेका हौं । यहाँ भएका कुराहरु दर्शकलाई देखाउने संग्रहालयको दायित्व र कर्तव्य हो । अतिआवश्यक भएरै खोल्ने तयारीमा लागेका हौं,’ संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल बताउँछन् । यसअघि हलमा अनावश्यक सामग्री राखिँदै थन्काइँदै आएको थियो । हल खोल्ने निर्णयसँगै हलको मर्मत सम्भार कार्य सुरु भइसकेको छ ।

१६ वर्षदेखि बन्द यो हल पुग्दा प्रोजेक्सन कोठामा भरतप्रसाद नेपाल रिलको प्रोसेसिङमा व्यस्त देखिन्थे । कोठाका भित्तामा खिया लागेका, चुँडिएका पुराना रिलका क्यान भरिभराउ थिए । सिनकियो नामक पुरानो जापानिज प्रोजेक्टर एक्लै उभिएको थियो । हलभित्रका कुर्सी धुलाम्मे थिए । तत्कालीन महाराजधिराज, बडामहारानी, अधिराजकुमार, युवराजहरु बस्ने सोफालाई सेतो कपडाले छोपिएको थियो । सोफाका बीच-बीचमा स्ट्रे । सिगार बक्समा चुरोटका ठुट्टा । छेउको टि-रुमा कुर्सीहरु यत्रतत्र छरिएका अवस्थामा थिए । सेतो रङ्गको पर्दा धूलोले पहेँलै देखिन्थ्यो ।

Photo Source : THT

हलको यस्तो अवस्था देख्दा गुरङको मन दुख्छ । ३४ वर्षदेखि दरबारसँग जोडिएका उनलाई हल मात्र होइन नष्ट हुन लागेका धेरै कुराले निमोठ्छ । सरसफाईको काम सुरु हुनअघि प्रोजेक्सन कोठामा केमिकल पोखिएर पाइला टेक्ने ठाउँ नै थिएन । अहिले नै मर्मत सभ्मार नगरिएको भए हल पूर्णरुपले नष्ट हुन्थ्यो भन्ने शंका थियो उनलाई । ‘भेषनारायण सरले ठिक समयमा यसको संरक्षण गर्ने पहल गर्नुभयो,’ उनले भने, ‘उहाँ आउनु भएपछि श्री सदन खोल्ने मिसन सुरु गर्‍यौं । नष्ट हुन लागेका कुराहरुको संरक्षण गर्ने क्रममा नै हल खोल्ने निर्णय भएको हो ।’

नारायणहिटी दरबार संग्रहालयका प्रमुख दाहालका अनुसार हलमा राजाको राज्यरोहण, राज्यभिषेक, छोराछोरीहरुका अन्न प्रासन, व्रतबन्ध, विवाह र राजाको स्वदेश तथा विदेश भ्रमणका डकुमेन्ट्री छन् । रिलको प्रोसेसिङ सकिएपछि संग्रहालय अवलोकन गर्न आएका दर्शकलाई हलमा डकुमेन्ट्री देखाउने उद्देश्य रहेको उनले बताए ।

तर त्यतिबेलाको प्रविधि जान्ने प्राविधिक नभेटिदा हल खुल्‍न अझै केही समय लाग्‍ने देखिन्छ । उक्त प्रविधि चलाउन जान्ने प्राविधिकको खोजीका क्रममा नै भरतप्रसाद उनीहरुको सम्पर्कमा आए । लामो समय चलचित्र संस्थानमा काम गरेका उनी अहिले यी नै डकुमेन्ट्री रिलको प्रोसेसिङ गर्दैछन् । ‘अहिले रिलको सरसफाई गर्दैछु । ढुसी परेका रिलको सफाई सकिएपछि कुन-कुन चल्ने अवस्थामा छन् यकिन हुन्छ,’ उनले भने, ‘अहिले नै कुन चल्छ चल्दैन भन्ने थाहा हुँदैन ।’

भेषनारायण ‘किटान गरेरै यही डकुमेन्ट्री देखाउँछौं’ भन्न सक्ने अवस्था नरहेको बताउँछन् । भरतप्रसादका अनुसार प्रोजेक्टर भने बिग्रिएको छैन । ‘जापानिज मेसिन त्यति बिग्रेको हुँदैन । ट्रान्सफर्मर ल्याएपछि प्रोजेक्टर चल्छ, ‘ उनले सुनाए । हाल उनी रिल, क्यान सफा गर्ने काममा व्यस्त छन् । त्यहाँ भएका सय भन्दा बढी रिललाई हावामा निकाल्ने र सफा गरेपछि चल्ने अवस्थामा छन् कि छैनन् भन्ने हेर्नेछन् । ‘हामीले त सकेसम्म चलाउन मिल्ने अवस्थामा ल्याउने प्रयास मात्र गर्न सक्ने हो,’ उनले भने । उनका अनुसार अहिलेसम्म सफा गरेका १६ वटा रिलमध्ये सबै प्रयोगमा आउने अवस्थामा छन् ।

रिल, मेसिन, हलभित्रको बिजुलीको काम सकेसम्म चाँडो सकेर हल खोल्ने तयारी छ । ‘प्रोसेसिङको काम सम्पन्न भएपछि चाँडै नै त्यो डकुमेन्ट्री देखाउँछौं । अहिले त रिलको ढुसी सफा गर्ने काम भइरहेको छ,’ दाहालले भने,’प्रोसेसिङ काम सकियो भने हल चाँडै नै खुल्छ । प्रोसेसिङको प्रविधि नेपालमा भेटिएन भने अलिकति समय लाग्न सक्छ । तर हामी उक्त हलमा अवश्य नै डकुमेन्ट्री देखाउँछौं ।’

मिलेसम्म रिलको डिजिटाइजेसन गरेर डकुमेन्ट्रीमा देखाउने सोच छ उनको । पूरानो प्रविधि हेर्नकै लागि पनि दर्शकहरु हलसम्म आउनेमा उनी आशावादी छन् । ‘रिल राखेर फिल्म हेर्न दर्शक पक्कै आउनुहुन्छ,’ उनले भने ।

उनी २०७८ भित्रमा दर्शकले यो हलभित्र डकुमेन्ट्री हेर्न पाउने बताउँछन् । ‘हामी दैनिक एउटा डकुमेन्ट्री देखाउनेछौं,’ उनले भने, ‘अहिले नै हल खोल्ने मिति तोकिहाल्दैनौं तर २०७८ भित्र संग्रहालय अवलोकन गर्न आउने दर्शकहरुले यहाँ डकुमेन्ट्री फिल्म अवश्य हेर्न पाउनुहुन्छ ।’

संग्रहालय हेर्ने टिकटमै डकुमेन्ट्री हेर्न मिल्ने व्यवस्था मिलाउने तयारी रहेको उनले बताए । बुद्धिलाई पनि हल खोल्ने हतारो रहेछ । वैदार भएर हलभित्र प्रवेश गर्दा र अहिले शाखा अधिकृत भएर डकुमेन्ट्री हेर्नुको मज्जाले उनलाई काउकुती लगाउँछ । ‘त्यतिबेला अनुशासनमा बस्नुपर्थ्यो । सानो आवाजमा खोक्नु पर्थ्यो । सासले बोल्नु पर्‍यो,’ बुद्धि भन्छन्,’कामको चिन्ताले फिल्मको कथा पनि बुझिँदैन थियो । तर अब त संग्रहालयको शाखा अधिकृत भएर छिर्दा त छुट्टै अनुभव भइहाल्ला नि !’

Padhnekura News source From

Ekantipur.

Facebook Comments