October 20, 2021

युवामाझ नचिनिएको युवा परिषद् : ६ वर्षमा साढे १ अर्ब खर्च, उपलब्धि खोई ?

२०७२ मा स्थापित राष्ट्रिय युवा परिषद्ले ६ वर्षमा एक अर्ब २४ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ । यति ठूलो रकम खर्चिए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन ।

स्थापना कालदेखि नै परिषद्लाई ‘राजनीतिक भर्तिकेन्द्र’ बनाइयो । फलस्वरुप परिषद्ले युवाका एजेन्डामा प्रभावकारी काम गर्न सकेन । परिषद् अन्तर्गत जिल्ला युवा समितिहरू क्रियाशील छन् । ती समितिहरूले गरेका कामहरू पनि खासै देखिएका छैनन् ।

देशभरका जिल्ला समितिका अध्यक्षहरूले परिषद् नियमावलीअनुसार मासिक २० हजार रुपैयाँ तलब पाउँछन् । त्यसमा पनि राजनीतिक आस्थाका आधारमा कार्यकर्ताहरूलाई नियुक्ति दिइएको छ । ७७ जिल्लाका युवा समितिका अध्यक्षको तलबमा मासिक १५ लाख ४० हजार रुपैयाँ खर्च भइरहेको छ । जिल्ला युवा समितिको काम जिल्लाभित्र रोजगार, कृषि, शिक्षा र अन्य विषय हेर्ने हो । तर, त्यस्तो काम भइरहेको छैन ।

परिषद्‌का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल परिषद्‌ले देश विकास र अन्य विषयमा युवालाई जागरुक बनाउने काम गरिरहेको दाबी गर्छन् ।

युवाको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न परिषद् सफल नभएको तथा युवामैत्री काम गर्न नसकेको आरोप तपाईंमाथि लाग्दै आएको छ नि ? भन्ने प्रश्नमा ढुङ्गेलले भने, ‘एउटा संस्था व्यवस्थापन गर्न र अगाडि बढाउन समय लाग्छ । सबै कुरा एकै पटक हुँदैन ।  विस्तारै नयाँ–नयाँ योजना बनाउँदै अगाडि बढ्ने हो । सोहीअनुसार काम भइरहेको छ ।’

किन गठन भयो परिषद्

सरकारले २०७२ सालमा ‘युथ भिजन २०२५’ को मर्म र भावनाअनुसार युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् ऐन २०७२ जारी गरेको थियो । सोही ऐनअनुसार राष्ट्रिय युवा परिषद् गठन भएको हो ।

गुणस्तरीय र व्यवसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जनका पाँच वटा मुख्य उद्देश्यका साथ परिषद्‌को गठन भएको थियो ।

परिषद् गठन भएको ६ वर्ष भइसक्दा पनि लक्ष्यअनुसार काम हुन सकेको छैन । परिषद्‌ र त्यसले गर्ने कामका बारेमा युवाहरूलाई खासै जानकारी छैन ।

शिक्षालाई गुणस्तरीय, व्यवसायिक, सीपमूलक  र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्ने भन्दै सरकारले युथभिजन २०२५ सहित १० वर्षको रणनीतिक योजना अघि सारेको थियो । तर, सरकारको योजनका बारेमा पनि धेरै युवालाई जानकारी छैन । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहकालाई युवाको दायरामा राखिएको छ ।

परिषद्‌को योजना र उद्देश्यअनुसार नै काम भइरहेको कार्यकारी उपाध्यक्ष ढुङ्गेलको दाबी छ । सरकारले राजनीतिक तथा सामाजिक आन्दोलनमा युवाहरूको योगदान र आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय युवा परिषदको परिकल्पना गरेको ढुङ्गेल बताउँछन् ।

निर्दिष्ट गरिएका नीति र कार्यनीतिहरूलाई कार्यन्वयन गर्ने, साधन स्रोत प्रयोग गर्ने, युवाका हकमा सम्भावना पहिचान गरी योजना तथा कार्यक्रम तय गर्ने, युवालाई युवा क्षेत्रको विकासका मूल समस्या चुनौती र युवा राष्ट्रिय अभियानमा सहभागिता गराउने काम भइरहेको ढुङ्गेलले जानकारी दिए ।

परिषद्‌ले खर्च गर्ने क्षेत्र

परिषद्‌का अनुसार युवा उद्यमशिलका ३९७ समूह छन् । परिषद्‌ले प्रत्येक एक समूहका पाँच जनालाई ५ लाख रुपैयाँ सहुयलित ऋण प्रदान गर्दै आएको छ । सरकारले छुट्याएको रकमको ६० प्रतिशत युवा उद्यमशिलतामा खर्चिंदै आएको परिषद्‌ले जानकारी दिएको छ ।

परिषद्‌ले नेतृत्व विकासमा पनि खर्च गर्दै आएको छ । ‘नमुना युवा संसद’मा प्रतिवर्ष २५ लाख खर्चिंदै आएको परिषद्‌ले जनाएको छ । त्यस्तै विज्ञान प्रविधि प्रवर्द्धन कार्यक्रम मार्फत स्नातकोत्तरमा थेसिसका लागि प्रत्येक वर्ष  ३० जनालाई ५० हजारका दरले सहयोग गर्दै आएको छ । जिल्लास्तरमा युवा लक्षित तालिम सञ्चालन गर्दै आएको पनि परिषद्‌ले जनाएको छ ।

यस्तै, युवाको नेतृत्वको विकास, युवालाई विभिन्न कार्यक्रममा सहभागिता जनाउने विकासमैत्री तालिम, प्रदेश तथा स्थानीय तहमा राजनीति र विकासमा सहभागिता बढाउन कार्यक्रमका साथै र युवा (आर्थिक, राजनीतिक र सामाजिक विकास) सहभागिता जनाउने तालिम सञ्चालन गर्दै आएको परिषद्‌ले जानकारी दिएको छ ।

हालसम्म २ हजारभन्दा धेरै युवालाई उद्यमी बन्ने परामर्श, १ हजार ५ सयभन्दा धेरै युवालाई सहुयलित ऋणका लागि बैंकसँग सहकार्य गराएको र अन्य उद्यमी बन्न विभिन्न क्षेत्रको तालिम दिइएको परिषद्‌ले जनाएको छ ।

परिषद्‌ले शिक्षा, श्रम, उद्योग, स्वास्थ्य, रोजगारलगायत सबै क्षेत्रमा युवासँगै जोडिएर कार्यक्रम सञ्चालन गर्दै आएको सूचना अधिकारी ध्रुवप्रसाद कोइराला बताउँछन् ।

‘विभिन्न निकायबाट सञ्चालन हुने युवा लक्षित कार्यक्रमहरूबारे युवालाई जानकारी गराउने काम युवा परिषद्ले गर्दै आएको छ । युवालाई रोजगारी र देशभित्र उद्यमी बनाउने काममा परिषद्‌ले भूमिका निर्वाह गरिरहेको छ,’ कोइरालाले भने, ‘तीनै तहका सरकारले युवालाई रोजगारी, शिक्षा, स्वास्थ्य र विशेषतः कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन योजना बनाइरहेको छ ।’

आगामी दिनमा युवालाई विकासको प्ररेणा र रोजगारीसहित उद्यमी बनाउने लक्ष्य परिषद्‌को रहेको उनको भनाइ छ ।

शिक्षित युवा स्वरोजगार कर्जा, व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, विदेशबाट फर्किएका युवा परियोजना कर्जा, महिला उद्यमशिल कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक शिक्षा कर्जा, भूकम्पपिडित निजी आवास निर्माण कर्जा, कपडा उद्योग स्थापनाका लागि कर्जा र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यता प्राप्त तालिमका लागि कर्जा गरी ९ प्रकारका कर्जा वितरणमा सहजीकरणको काम गर्दै आएको परिषद्‌ले जानकारी दिएको छ ।

परिषद्‌ले २ हजारभन्दा धेरै युवालाई सहुयलित कर्जाका लागि बैंक र सरकारसँग सहजीकरण गरेको जनाएको छ । हाल कर्जा साक्षरता तालिम समेत सञ्चालन गरिरहेको परिषद्‌ले जानकारी दिएको छ ।

४० प्रतिशत युवाको नेतृत्व गर्ने असफल 

श्रमशक्ति सर्वेक्षण २०७५ अनुसार कुल जनसंख्याको ४०.३५ प्रतिशत (एक करोड सात लाख) युवा छन् । अध्ययनअनुसार नेपालमा श्रम गर्न सक्ने उमेरको जनसंख्या २ करोड ७ लाख छ तर औपचारिक र अनौपचारिक क्षेत्रले ७० लाख ८६ हजारलाई मात्र रोजगार दिएको छ । योबाहेक युवाहरू बाध्यता अथवा अन्य कारणले वैदेशिक रोजगारीमा जाने गरेका छन् । प्रत्येक वर्ष साढे ५ लाख श्रमशक्ति बजारमा आउँछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार हाल ४५ लाख नेपाली वैदेशिक रोजगारीमा कार्यरत छन् ।

उर्जावान युवा शक्तिहरू वैदेशिक रोजगारीमा कार्यरत छन् । युवाको श्रम शक्तिको फाइदा देशले लिन सकिरहेको छैन । बेरोजगार, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षा जस्ता विद्यमान समस्या विगत भए पनि ती समस्यामा केन्द्रित भएर परिषद्‌ले काम गर्न नसकेको श्रम तथा रोजगारविज्ञ मधुविशाल पण्डित बताउँछन् ।

युवालाई कस्ता योजना र कस्तो कामका लागि परिचालन गर्ने यकिन भिजन परिषद्‌सँग नभएको पण्डित बताउँछन् । देशभित्रै युवालाई रोजगारी, तालिम तथा उद्यमी बनाउने भिजन परिषद्‌ले बनाउन नसकेको उनको भनाइ छ ।

पढ़नेकुरा

शिलापत्र्र द्वारा खोजि गरिएको

Facebook Comments