October 20, 2021

प्रधानमन्त्रीमा देउवाकै निरन्तरता, १६५ सांसदले दिए बिश्वासको मत

काठमाडौं, साउन ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मतदानमा २४९ उपस्थित हुनु भएकाे थियाे । मतदानमा उहाँको पक्षमा   १६५  मत खसेको छ भने विपक्षमा  ८३  मत परेको थियो । साथै    एक संसद तटस्थ रहनुभएको थियो । प्रधानमन्त्री देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त हुनु भएकाे थियाे । 

यसैबीच विश्वासको मत पाउनु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले राखेको विश्वासको मत माग्ने प्रस्तावमा समर्थन जनाउने दललाई धन्यवाद व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा दलीय रुपमा दलका नेताहरुले समर्थन गर्ने प्रतिवद्धता जनाउनुभएपछि संसदमा उठेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री देउवाले धन्यवाद व्यक्त गर्नुभएको हो ।

प्रतिनिधिसभा विघटन गर्न कसैले नसकोस् भनेरै संविधानको धारा ७६ उपधारा ५ राखिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको नेपाली भूभागसहितको नक्सा छाप्ने र भूमि फिर्ता ल्याउने काममा सबै दलको साझा सहयोग रहेको बताउनुभयो । त्यसकालागि आफू नेतृत्वको सरकारले पनि पहल लिने बताउनुभयो ।

संविधान समावेशी र समानुपातिक चरित्रको भएको प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री देउवाले अझै जनजाति, थारु, मधेसको मुद्दा सम्बोधनका लागि आफूले दलसँग छलफल गर्न तयार रहेको बताउनुभयो । सबै नेपालीको साझा देश नेपाल भएकाले सबैको माग सम्बोधन गरिने बताउनुभयो । सबैको माग सुनुवाई गर्नकैलागि समावेशी संविधान निर्माण गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

अहिले कोरोना महमारी कायमै रहेकाबेला बाढी पहिरोको प्रकोपले समस्या पारिरहेकाले सबैले मिलेर समस्याको समाधानमा लाग्नुपर्ने उहाँले बताउनुभयो । विकासभन्दा अघि जनताको जीवन बचाउन आवश्यक भएकाले उहाँले खोपको उचित प्रबन्ध गरिने बताउनुभयो । छिमेकी देशसँग राम्रो सम्बन्ध बनाउँदै अन्य देशसँग पनि सहकार्य सुमधुर बनाउनेमा ध्यान दिने उहाँले प्रष्ट पार्नुभयो ।

अगाडिका दिन चुनौतिपूर्ण रहेकाले सबै दल सँगै मिलेर जानुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाले चर्चा गर्नुभयो । सकेसम्म सहमतीको राष्ट्रिय सरकार बनाउँ भन्दै प्रधानमन्त्री देउवाले एमाले दललाई सहमतिमा आउन आव्हान गर्नुभयो । अहिलेको आवश्यकता पनि त्यही भएको उहाँले बताउनुभयो ।

देउवालाई देउवालाई विश्वासको मत दिने एमाले सांसद
माधवकुमार नेपाल
 विरोध खतिवडा
कल्याणी खड्का 
जीवनराम श्रेष्ठ
पार्वती विशुंखे
मेटमणि चौधरी 
भवानी खापुङ
निरादेवी जैरु
मुकुन्द न्यौपाने
कलिला खातुन
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान 
गोपाल बम 
सविना हुसेन 
 कृष्णलाल महर्जन
प्रेमबहादुर आले
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
लक्ष्मी चौधरी
रामकुमारी झाँक्री 

पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको आजको दोस्रो बैठक सुरू भएको चार घन्टापछि ओली बैठकमा सहभागी भएका हुन्।

 संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अर्को बैठक  साउन ८ गते दिनको १ बजे बस्नेछ । 

यो पढ्ने समाचार गोरखापत्र बाट साभार गरिएको हो।

Facebook Comments