काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप, पसल बिहान दुई घण्टामात्रै खोल्न पाइने

२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप गरिएको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । योसँगै उपत्यकामा २९ वैशाखसम्म निषेधाज्ञा जारी रहने छ । 

यस्तै, बैठकले बजार बिहान सातदेखि ९ बजेसम्म मात्रै खोल्न दिने निर्णय गरेको उनले बताए ।  यसअघि कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा २२ वैशाखसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको थियो ।  उनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पूर्ण पालना गर्न सबैमा अपिल गरे । विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दूरी कायम गरी गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिइएको तथा खाद्यान्न, अत्यावश्यक वस्तु, औषधिलगायतलाई पासको व्यवस्था गरी सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको उनले बताए ।पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजीकरण गर्ने, सम्बन्धित संचारगृहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र त्यसको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन पनि निर्देशन दिइएको उनले बताए । 

मृत्यु संस्कार र बिरामी लिएर जिल्ला बाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने व्यवस्था मिलाइएको पराजुलीले बताए ।
 स्रोत : नेपाल लाइभ

Facebook Comments

You may have missed