विद्यालय तहको छात्रवृत्तिको काम अब एकै ठाउँबाट हुने

विद्यालय तहको छात्रवृत्तिसम्बन्धी सबै काम अब एकैठाउँबाट हुने भएको छ । माध्यमिक तहको विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि जिम्मेवारी तोकिएको विद्यार्थी वित्तीय सहयोग विकास समिति खारेज गरेर सबै काम शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट गर्ने निर्णय भएको छ । 

माध्यमिक तह (कक्षा ९-१२)मा अध्ययन गर्ने विपन्न विद्यार्थीलाई समितिबाट छात्रवृत्ति दिइँदै आएको थियो । शिक्षा मन्त्रालयअन्तर्गत १३ थरी शीर्षकमा छात्रवृत्ति प्रदान गरिँदै आएको छ । केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले अब छात्रवृत्तिको काम एकैठाउँबाट गर्ने निर्णय भएको बताए । 

विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि विनियोजन भएको रकम गत वर्ष धेरै कम खर्च भएको छ । ६ असारमा समिति खारेज भएपछि त्यो काम पनि थपिएको डा. थपलियाले बताए । ‘अघिल्ला वर्ष केन्द्रको भूमिका थिएन, हामीले आवश्यक बजेट र कार्यक्रम दिएका थियौँ, अब पहिलेको कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएर आएको छ,’ उनले भने । चालू आर्थिक वर्षको कार्यक्रमअनुसार विपन्न विद्यार्थीले छात्रवृत्तिका लागि फारम भरेको भए पनि रिजल्टसमेत आएको छैन । 

शिक्षा मन्त्रालयले आर्थिक वर्ष ०७४-७५ देखि माध्यमिक तहमा गरिबलक्षित छात्रवृत्ति कार्यक्रम ल्याएको थियो । कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने विद्यार्थीलाई वार्षिक २४ हजार र अन्यलाई १८ हजार छात्रवृत्ति दिने गरिएको छ । त्यस्तै, कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई ६ हजार दिने व्यवस्था छ ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले गरिब विद्यार्थी छनोट र रकम वितरणको जिम्मा सरकारले गठन गरेको विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिलाई दिएपछि विद्यार्थी यो रकमबाट वञ्चित भएका छन् । गरिबलक्षित छात्रवृत्ति सुरु भएपछि यसअघि माध्यमिक तहमा एक हजार सात सय रुपैयाँसम्म छात्रवृत्ति पाउने विद्यार्थी पनि वञ्चित भएका छन् । 

माध्यमिक तहमा मात्र करिब ६० हजार विद्यार्थीले छात्रवृत्ति पाउँदै आएका थिए । सरकारले विद्यालयदेखि उच्च शिक्षासम्म छात्रवृत्ति वितरण हुँदै आएको छ । तर, एकीकृत व्यवस्था नहुँदा छात्रवृत्ति भद्रगोल बनेको छ । शिक्षा मन्त्रालयले विद्यालय तहमै धेरै प्रकारका छात्रवृत्ति दिँदै आएको छ । कक्षा ८ सम्म आवसीय र गैरआवसीय छात्रवृत्ति दिने व्यवस्था छ । यसमा विद्यार्थीले चार सयदेखि ४० हजार रुपैयाँसम्म छात्रवृत्ति पाउँछन् । 

विपन्न विद्यार्थीको एक अर्ब २६ करोड फ्रिज

सरकारले शैक्षिक सत्र ०७६ मा माध्यमिक तहका विपन्न विद्यार्थीका लागि विनियोजन गरेको एक अर्ब २६ करोड ७२ लाख रुपैयाँ फ्रिज भएको छ । कार्यक्रम सुरु गर्न ढिलाइ भएको र वर्षको अन्तिमतिर कोरोना भाइरसका कारण अघि बढ्न नसकेपछि रकम फ्रिज भएको हो ।

शिक्षा मन्त्रालय अधिकारीका अनुसार चालू आर्थिक वर्षको बजेट फ्रिज भए पनि आगामी आर्थिक वर्षमा निरन्तरता पाउनेछ । यस वर्ष पनि एक लाख २५ हजार पाँच सय ९२ विद्यार्थीका लागि सवा अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । ०७६ मा विपन्नलक्षित छात्रवृत्तिका लागि साढे तीन लाख विद्यार्थीले फारम भरेका थिए ।

गरिब विद्यार्थी पहिचान गरी उनीहरूको अध्ययनका लागि सहयोग पु¥याउन बजेट छुट्टिए पनि पर्याप्त जानकारी नहुनु, अनलाइनमार्फत फारम भर्नुपर्ने, स्थानीय तहको सिफारिस आवश्यक हुनेलगायत झन्झटिलो प्रक्रियाका कारण ०७५-७६ मा पनि धेरै रकम फिर्ता भएको थियो ।

माध्यमिक तहमा ५३ हजार गरिब विद्यार्थीलाई लक्षित गरी करिब एक अर्ब बजेट विनियोजन गरिएकोमा १२ हजार सात सय विद्यार्थीले मात्र छात्रवृत्ति पाएका थिए । उनीहरूलाई १७ करोड ५१ लाख १० हजार रुपैयाँ वितरण भएको थियो । Source : Nayapatrika

Facebook Comments