बलिउडका निर्देशक निशिकान्त कामतको निधन


एजेन्सी । बलिउडका निर्देशक निशिकान्त कामतको निधन भएको छ । कामतको सोमबार हैदरावादको एक अस्पतालमा निधन भएको हो । ५० वर्षीय कामतको सोमबार ४ बजेर २४ मिनेटमा निधन भएको हो । अस्पतालका अनुसार उनको स्वास्थ्यअवस्था सोमबार निकै बिग्रिएको थियो । अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार कामतलाई अत्याधिक ज्वरो र थकाई महसुस भएपछि ३१ जुलाईमा उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई २ वर्षयता लिवर सिरोसिसको उपचारका लागि एन्टियोटिक र अन्य औषधी पनि चलाइँदै आइएको थियो ।’

विज्ञप्तिमा भनिएको छः ‘उनको स्वास्थ्यमा पछिल्ला महिना केही सुधार पनि आएको थियो तर बिस्तारै उनको कलेजो झन् झन् खराब हुँदै गयो र स्वास्थ्य बिग्रिँदै गयो । आइतबार उनलाई सास फेर्न समेत गाह्रो भयो । उही समयमा उनको रक्तचाप पनि कम हुँदै गयो । त्यसपछि थुप्रै अंगहरुले समेत काम गर्न छाडे र उनको निधन भयो ।’ उनको मृत्युपछि बलिउड कलाकारदेखि सर्वसाधारणले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् । कामतले दृश्यम र मदारी लगायतका फिल्महरुको निर्देशन गरेका थिए । Ratopati

Facebook Comments