नेपाली फिल्म क्षेत्र कहिले खुल्ने  ?

६ महिनादेखि फिल्मी गतिविधि ठप्पसिनेकर्मी भन्छन्– ‘अब पनि खुलेन भने थेग्न सकिन्न’

काठमाडौँ — कोरोना भाइरसको त्रास बढेपछि गत साल चैत ११ गतेबाट सरकारले देशव्यापी लकडाउन घोषणा गर्‍यो तर सिनेमा हलचाहिँ त्यसको ६ दिन अगाडिबाटै बन्द गरिएको थियो । हलमा सुक्खा लाग्न थालेको त फागुन मध्यबाटै हो । छायांकन पनि यही समयबाट प्रभावित भयो ।

लकडाउन खुकुलो भएसँगै केही व्यावसायिक क्षेत्र हल्काफुल्का खुले । निषेधाज्ञाले फेरि कठालो समात्यो । तर, असोज १ गतेबाट लामो–छोटो दूरीको सार्वजनिक यातायात, होटल–कलकारखानासहित प्रायः सबै व्यवसाय बौरिँदै छन् । सिने क्षेत्र भने ठप्पको ठप्पै ।

यो पाँच महिनामा न छायांकन भयो, न त प्रदर्शन । पोस्ट प्रोडक्सन पनि लथालिंगै छ । निर्माता संघको दाबीअनुसार फिल्म व्यवसायमा २ लाख ५० हजार आश्रित छन् । संघका चलचित्र प्रदर्शन तथा वितरण शाखाका सभापति करण श्रेष्ठको गुनासो छ, ‘अन्य उद्योगमा जस्तै फिल्ममा पनि मजदुर छन् तर सरकारले बेवास्ता गर्‍यो ।’

कति फिल्म सुटिङमै रोकिए, कति अन्तिम घडीमा रिलिज हुन पाएनन्, कतिचाहिँ सुटिङको सम्पूर्ण तयारी गरेपछि अलपत्र परे । केही दिनअघि निर्माता संघले चलचित्र विकास बोर्डलाई यस्तै १ सय ५ ‘अभागी’ फिल्मको सूची बुझाएको थियो । ‘धेरैजसो नयाँ फिल्महरू छन् तर केहीचाहिँ दुई–चार वर्षअगाडि बनेर यही वर्ष चल्ने तयारीमा रहेका फिल्म पनि छन् । यी फिल्मले कुनै न कुनै रूपमा राहत पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ वितरकसमेत रहेका श्रेष्ठले भने, ‘नत्र टिक्नै धौ–धौ पर्छ ।’

प्रदर्शनोन्मुख फिल्महरूमा ‘प्रेमगीत ३’, ‘म यस्तो गीत गाउँछु २’, ‘सम्हालिन्छ कहिले मन’, ‘सुस्केरा’, ‘चपली हाइट ३’, ‘लक्का–जवान’, ‘माइकल अधिकारी’, ‘चिसो एस्ट्रे’ लगायतका छन् । त्यस्तै, ‘२ नम्बरी’, ‘गुञ्जन’, ‘देशान’, ‘३ जन्तु’ लगायत झन्डै एक दर्जन फिल्मको छायांकन अधुरै छ । ‘प्रेमपूजा’, ‘बेन्जो’, ‘नाइँ नभन्नु ल ६’, ‘छड्के २’ जस्ता चलचित्र छायांकनमा जानै पाएनन् । यी सबै फिल्मका निर्माता आर्थिक घाटा सहन बाध्य छन् । ‘बनिसकेर चल्न नपाएका र सुटिङ रोकिएका फिल्मलाई ज्यादा नोक्सान पर्छ,’ श्रेष्ठले भने ।

निर्माताभन्दा पीडा छ, प्राविधिकलाई । चलचित्रमा काम गर्ने प्राविधिकहरूको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघका अनुसार फिल्म क्षेत्रमा करिब ३ हजार ५ सय प्राविधिकले प्रत्यक्ष रोजगारी पाएका थिए । यसमा स्पटब्वाई, लाइटम्यान, क्यामेरापर्सनदेखि मेकअप आर्टिस्टसम्म पर्छन् । उनीहरू सबैको रोजीरोटी पूर्ण रूपमा गुमेको छ । ‘प्राविधिकहरूलाई त खान–बस्नै समस्या छ, धेरै बिचल्लीमा परेका छन् तर सरकारबाट अपेक्षाकृत साथ पाइएन,’ संघका अध्यक्ष पुष्कर लामाले गुनासो पोखे । निम्न आयमा काम गरिरहेका प्राविधिकको दैनिक जीवनमै संकट परेको गुनासो बढ्दै गएपछि बोर्डले २ सय प्राविधिकका लागि पाँच–पाँच हजारका दरले राहत उपलब्ध गरायो तर यो ‘हात्तीको मुखमा जिरा’ समान भएको लामाले बताए । ‘सबै प्राविधिकहरू विपन्न छन्, छाक टार्ने सकिरहेका छैनन्, त्यति रकम कसलाई चाहिँ बाँड्नु ?,’ लामाले पीडामिश्रित भावमा भने, ‘म त साथीहरूको दुःख सुन्दा/देख्दा आजित भइसकें । तैपनि राहतका लागि सक्दो प्रयास गरिरहेका छौं ।’

सिनेमा हलको उस्तै कन्तबिजोग । लकडाउनअगाडि पनि आस गरिएकै नेपाली र विदेशी फिल्मले हलमा दर्शक तान्न सकिरहेका थिएनन् । नयाँ वर्ष लागेसँगै नयाँ उमंग छाउने र हलमा दर्शक भरिभराउ हुने अपेक्षामा प्रदर्शकहरू थिए तर लकडाउनले चौपट बनाइहाल्यो । त्यसैले हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघले पनि हल बचाउन राज्यस्तरबाटै पहल चाल्न बारम्बार आग्रह गरिरहेको छ । देशभरका कुल २ सय ५ पर्दामा ३ हजारभन्दा धेरैले प्रत्यक्ष र नियमित रोजगारी पाइरहेका थिए । हल सञ्चालकलाई बैंकको ऋण, हल भाडा र हलको आधारभूत खर्च जोडजाम गर्न सकस छ, त्यहाँ काम गर्ने कर्मचारीलाई परिवार पाल्न । कोभिडकै कारण कति हलहरू सदाका लागि बन्दको स्थितिमा पुगेको संघले जनाएको छ ।

लेखकदेखि निर्देशक, कलाकारदेखि प्राविधिक, निर्मातादेखि प्रदर्शक, फिल्मका हरेक क्षेत्रमा जोडिएकाहरू भविष्यको चिन्ता मात्र होइन, अहिल्यै टिक्न पनि अप्ठ्यारो भएको गुनासो गर्न थालेका छन् । यसमा सन्देह छैन कि, सिने क्षेत्रको रमझम र चमकधमक हालका लागि फिक्का भएको छ । फेरि उही उज्यालो फर्कने कहिले ? अझै अन्योल छ । कोरोनाबाट बच्न मान्छे–मान्छेबीच दूरी कायम राख्नु अनिवार्य हुन्छ । जति भीड, उति धेरै संक्रमणको सम्भावना । तर,

फिल्मको प्रकृति नै मान्छे जम्मा हुनैपर्ने, चाहे सुटिङ गर्न होस् वा फिल्म चलाउन नै । यही कारण फिल्म अन्य व्यवसायभन्दा छिट्टै बन्द भयो र अरू जसोतसो खुल्ने तरखरमा हुँदा पनि फिल्ममा शून्यता कायम छ । यो अनिश्चितता बढेसँगै फिल्मकर्मी भन्न थालेका छन्– ‘तर, कहिलेसम्म ?’ अहिलेकै अवस्थामा यसको जवाफ कोहीसँग छैन ।

निर्मात्री तथा अभिनेत्री रेखा थापा भने छायांकन र हल खोल्न हतारिनु नहुने धारणा राख्छिन् । नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्ने उनको भनाइ छ । ‘अहिले नै हल खोल्न र सुटिङ गर्न दबाब दिनु भनेको अपरिपक्वता हो जस्तो लाग्छ,’ नयाँ फिल्मको तयारीमा रहेकी थापा भन्छिन्, ‘हामीलाई पनि पक्कै असर परेको छ तर हाम्रा गतिविधिका कारण संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले हामी जिम्मेवार बन्नुपर्छ ।’ यतिबेला फिल्मको गृहकार्यमा बिताउनु उपयोगी हुने उनको ठहर छ ।

प्राविधिक संघका अध्यक्ष लामाको भनाइचाहिँ अलग छ । ‘हल नखुले सबै गतिविधि बन्द । सुटिङ नभए प्राविधिक र कलाकार होल्ड । त्यसैले सरकारले सुटिङ र प्रदर्शनलाई एकसाथ खोलिदिनुपर्छ,’ प्राविधिक संघका अध्यक्ष लामा भन्छन्, ‘अब कोरोनासँग भोगेर साध्य लाग्दैन । अब आफू सुरक्षित र सतर्क हुँदै अगाडि बढ्नुबाहेक अर्को विकल्प छैन । सरकारले काम गर्न पनि नपाउने, खान पनि नपाउने विडम्बना हटाउनुपर्छ ।’ उनले निराश हुँदै अगाडि भने, ‘नत्र प्राविधिक साथीहरू रोगले भन्दा भोकले मर्ने चिन्ता बढ्यो । सरकार गम्भीर बनिदिनुपर्‍यो ।’

लामाको भनाइमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि सहमत छन् । उनले पनि अब फिल्म क्षेत्र चलायमान हुनुपर्ने मत राखे । ‘दसैं आउन लाग्यो, अब चलचित्र घर सुरक्षित छ भन्ने दर्शकलाई जानकारी गराउनुपर्छ । सुटिङ थाल्नुपर्छ,’ फिल्म निर्देशकसमेत रहेका दाहाल भन्छन्, ‘ठूलो भवितव्य आएन, यस्तै अवस्था भइरह्यो भने असोज मध्यबाट फिल्म क्षेत्र खुल्छ । मेरो प्रयास यसमै छ ।’ राजधानीमा निषेधाज्ञा खुकुलो भएसँगै सिने क्षेत्र सुचारु गर्न आफूले सञ्चार मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका पदाधिकारीसँग छलफल गरेको उनले बताए । छलफलमा निर्माता संघ र चलचित्र संघका प्रतिनिधि पनि सहभागी थिए । ‘अब खोल्नुपर्छ भन्नेमा सबै सकारात्मक छन्, यसका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डलाई पछ्याएर मोडालिटी बनाएका छौं,’ दाहालले भने ।

बोर्डले एक महिनाअगाडि नै चलचित्र संघ, निर्माता संघ, प्राविधिक संघ र कलाकारको संघसँग सुरक्षित तवरले कसरी खुलाउन सकिन्छ, सुझाव मागेको थियो । त्यहीअनुरूप व्यवस्थित र व्यावहारिक मापदण्ड बनाएको दाहालले जनाए । यसअनुसार छायांकनको हकमा सेट र सामग्री ‘डिस्इन्फेक्ट’ गर्ने, छायांकन नहुँदा कलाकार भौतिक दूरी कायम गरेर बस्ने, फेससिल्ड र मास्क लगाउने, छायांकन गर्दा खोल्ने, मेकअप आर्टिस्ट र हेयरड्रेसरले अनिवार्य पीपीई लगाउनुपर्नेछ । त्यस्तै, सुटिङको गाडीमा पनि दूरीमा बस्ने, क्यामेरा र गाडी एकपटक प्रयोग गरेपछि ‘डिस्इन्फेक्ट’ गर्ने, सुटिङ सेटका हरेक सदस्यको ज्वरो नापिरहने, बाहिरका मान्छेलाई सेटमा भीडभाड गर्न नदिनेलगायत मापदण्ड रहेको दाहालले जानकारी दिए 

Source Ekantipur

Facebook Comments