राइड सेयरिङबारे पछिल्लो समय देखिएको विवादबारे पठाओ नेपालका क्षेत्रीय निर्देशक असीममानसिंह बस्न्यातसँगको कुराकानी

पछिल्लो समय सस्तो, निश्चित शुल्क, छिटोछरितो सेवा र युजर फ्रेन्ड्ली अर्को यात्रु भएको स्थानमा आएर राइडरले यात्रामा सहजीकरण गर्दै आएपछि राइड सेयरिङ पछिल्लो समय यात्रुमाझ लोकप्रिय बन्दै गएको छ । समयको बचत र बजेट सेवा लिन पाएकै कारण पठाओले दिनप्रतिदिन सर्वसाधारणको मन जितिरहेको छ भने यता सरोकारवाला निकायसँग विवाद पनि बढिरहेको छ । राइड सेयरिङमा कानुनीगत नियमन र नियन्त्रणमा सरकारले कुनै किसिमको कार्यविधि जारी नगर्दा राइड सेयरिङ व्यवसाय विवादमा पर्दै आएको छ । सवारी यातायात व्यवस्था ऐन–२०४९ अनुसार निजी सवारीलाई सावर्जनिक सवारीको प्रयोगमा रोक लगाएको छ । तर, समयअनुसार सरकारले नीति परिवर्तन नगरेको भन्दै राइड सेयरिङले आरोप लगाउने गरेका छन् भने राइड सेयरिङमा एक दर्जनभन्दा बढी कम्पनी कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइसकेका छन् र केही सञ्चालनमा समेत रहेको भए पनि सरकारले नियमन, नियन्त्रण गर्न हालसम्म कुनै राइड सेयरिङबारे कानुन जारी गरेको छैन । पठाओ नेपाल प्रत्यक्ष वैदेशिक लगानीमा स्थापना भएको अमेरिकाको जनरल एडमिनिस्ट्रेसन पठाओ इंक कोर्पोरेटेडको स्वामित्वमा रहेको कम्पनी हो । यो कम्पनीको लगानी बंगलादेश र नेपालमा रहेको छ । सन् २०१८ देखि नै क्षेत्रीय निर्देशकका रूपमा कार्यरत असीममानसिंह बस्न्यातले वैदेशिक लगानीमा पठाओ नेपाल भित्र्याउनका लागि स्थापना कालदेखि सक्रिय रहेर नेतृत्वदायी काम गर्दै आएका छन् । नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो । सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुराँका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो । राइड सेयरिङबारे पछिल्लो समय देखिएको विवादबारेमा केन्द्रित रहेर पठाओ नेपालका क्षेत्रीय निर्देशक असीममानसिंह बस्न्यातसँग कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानीको सार :

पछिल्लो समय पठाओ नेपाल विवादमा आइरहनुको कारण के हो ? अन्तर्राष्ट्रिय अभ्यासभन्दा फरक गरेर नेपालमा राइड सेयरिङको प्रयोगलाई पेसामा परिणत गरिएको हो ?
राइड सेयरिङ एक नयाँ सोच हो । यो नयाँ सोचमा धेरै कुरा मिल्दै जानुपर्छ । सरकार र हामीजस्तो कम्पनी मिलेर यसलाई मिलाउँदै जाने हो । हामीले विस्तारै आफ्नो सेवा राम्रो बनाउँदै जाने र सेवाग्राहीले पनि चाहिने सल्लाह सुझावबाट यसलाई माझ्दै ल्याउनु जरुरी छ । यस क्रममा पुराना सोच भएका केही व्यक्ति र संस्थाहरूलाई यो कुरा पच्दैन । रूढिबादी सोच र व्यवहार गर्नेहरूलाई चाहिँ नयाँ कुरा पाच्य हुन सकेको छैन । त्यही कारणले बर्सेनि विवाद आइरहेको छ । विदेशमा पनि दुई किसिमका राइडर छन् । पहिलो पूर्णकालीन राइडर नै बनेर सेवा दिने र जीवनयापन गुजारा गर्ने भनेको पार्ट टाइम क्याजुअल राइडर राइडरको समयको सहजतामा राइडर बनेर काम गर्ने गरेका छन् । नेपालमा राइडरको संख्या वृद्धि हुनुमा कोभिड–१९ का धेरै सेवाका क्षेत्र चलायमान हुन नसक्दा बन्द भए, त्यसैले राइडर पेसामा आबद्ध भएको पाइन्छ । विस्तारै व्यापार–व्यवसाय तथा सेवा क्षेत्र लयमा फिर्ता भएपछि राइडरहरू पुरानै पेसामा फिर्ता हुनुहुन्छ होला । एकपटक आबद्ध भएको राइडर सबै पठाओमा नै आबद्ध हुनुपर्ने बाध्यकारी नीति छैन । एप प्रयोग नगरेपछि वा एप अफ गर्दा यो बाध्यकारी हुँदैन । तर, राइडरको विवरण भने हामीसँग रहिरहन्छ ।

सरकारले पठाओलाई अझ कानुनी मान्यता दिएको छैन । सवारी यातायात व्यवस्था ऐन–२०४९ अनुसार निजी सवारीलाई सार्वजनिक सवारीको प्रयोगमा रोक लगाएको छ, त्यसैले यो राइड सेयरिङ व्यवसाय गैरकानुनी भन्ने जमात पनि छ ?
रिफरेन्सको साथ भन्छु म, ‘मिति २०७५-०८-१८ बाट लागू भएको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १३(४) मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बिमा गरी यात्रु ओसारपसार गर्न सक्नेछ’ भनी बागमती प्रदेशले राइड सेयरिङलाई समेट्ने गरी उल्लेख गरेको छ । त्यही कारण पठाओविरुद्ध हालेको मुद्दामा पाटन उच्च अदालतले राइड सेयरिङ कार्यलाई निरुत्साहित नगरी उक्त कार्यको लगानी अभिवृद्धि गर्नुपर्छ भनी जोड दिई यो सेवा नरोक्न भनेर आदेश जारी भएको छ । बाँकी रह्यो, संघीय कानुनको कुरा, संघीय यातायात कानुनमा हामीजस्तो कम्पनीलाई नसोचिकन यो २०–२५ वर्षअगाडि नसमेटिएको हो । यो कानुन परिवर्तन हुने क्रममै छ, त्यस कारणले हामीलाई कानुनी मान्यता नदिएको होइन, मान्यता आइसक्यो तर यसलाई कसरी चलाउने भन्ने नीति–नियम नआएको हुनाले अहिले यस्तो देखिन गएको छ ।

राइड सेयरिङलाई राज्यले कानुनी मान्यता दिन नसक्नुको कारण के हो ?
सर्वप्रथम त यो नयाँ सोच हो, हाम्रो राज्यमा नयाँ सोचलाई कानुनी दायरामा ल्याउनका लागि केही समय लाग्छ । हामीले त पहिलेदेखि नै माग उठाइरहेका छौं कि राइड सेयरिङलाई ऐन अथवा नीति बनाउन प-यो भनेर । अब त्यो बन्ने क्रममा सबैभन्दा पहिला यातायात ऐन नै संशोधन हुनु आवश्यक छ । यातायात ऐन संशोधित भएपछि राइड सेयरिङको ऐन आउँछ र त्यसपछि चाहिँ हामीलाई काम गर्न सजिलो हुन्छ ।

राइड सेयरिङमा निर्धारण भएको भाडादर कुन मापदण्डमा टेकेर निर्धारण गरेको हो ? भाडादर महँगो भयो भन्ने गुनासो छ नि ? कमिसन पनि २० प्रतिशत बढी भयो भन्ने आरोप छ ?
हामीले अन्तर्राष्ट्रिय अभ्यासमै राइड सेयरिङमा केके कुराका लागि कति कति खर्छ लाग्छ र कति सञ्चय हुनुपर्ने भन्ने न्यूनतम मापदण्ड अध्ययन गरेर त्योअनुसार चलाइरहेका छौँ । जस्तै राइड सेयरिङ गर्दा कमाएको पैसाको ३५ प्रतिशतसम्म चाहिँ इन्धन खर्चमा जाने भनेर हाम्रो तथ्यांक र विदेशमा पनि भएको तथ्यांकबाट त्यो पुष्टि भएको छ । त्यसैगरी उहाँहरूलाई एप खर्चहरू जस्तै राहत कट्टा, डिप्रिसेसन, एप सञ्चालन गर्न लाग्ने अन्य खर्च, जहाँ सूचना प्रविधि जोडिएको छ, यी सबै ध्यानमा राखेर एउटा न्यूनतम तलबभन्दा अलिकति माथि उहाँहरूले सञ्चय गर्नसक्ने जति हामीले यसको मूल्य राखेका छौँ । यदि यो महँगो भयो भनेर गुनासो आएको भए राइड सेयरिङ यति चाँडै फस्टाउन सक्दैनथ्यो । यो एकदमै सस्तो, सेवा दिने र लिने दुवैलाई मार नपर्ने भएका कारणले यो दिन दुई गुणा, रात चौगुणा बढ्दै गएको हो । हामीले हाम्रो कमिसनमा सरकारलाई कर यसैबाट तिर्छौं, प्राविधिक पक्षको व्यवस्थापनको खर्च व्यवस्थापन गुगलको स्पेस खरिद गर्दालगायतको खर्च कटाउँदा हामीले सस्टेन मात्र गर्न सकेका छौं । पठाओेले १ करोड रुपैयाँ दैनिक आर्जन ग¥यो भनेर आरोप लगाउँदै आइएको छ । हामी वैदेशिक लगानीमा सञ्चालन भएको कम्पनी भएकाले हामीले नाफा लानका लागि राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ । हामीमाथि आरोप लगाउनेलाई म के चुनौती दिन चाहन्छु भने नेपालबाट हामीले नाफा कमाएर बाहिर पैसा पठाएको छौं भने देखाउन अनुरोध गर्छु । यसको नियमन तथा नियन्त्रण गर्न सरकारले राइड सेयरिङको नीति जारी गरेपछि सहज हुन्छ होला ।

ट्राफिक प्रहरीले राइड सेयरिङले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै आएका छन्, यसलाई कसरी हेर्नुभएको छ ? के सही व्यवस्थापन हुन नसकेको हो ?
बाटोमा जति नै गाडी गुड्यो, त्यति नै ट्राफिक व्यवस्थापन नहुने हो । राइड सेयरिङको मूलभूत आधार भनेको म गइरहेको बाटोमा कसैलाई पायक पर्छ भने म उहाँलाई पनि त्यहाँसम्म छोडिदिन्छु भन्ने हो । त्यो भनेको एउटा बाइकमा दुई जना चढ्नु हो, यदि त्यो नभएको भए सबै जनाले आ–आफ्नो सवारी साधन लिएर बाटोमा आउनुपथ्र्याे र बाटोमा चाप झन् बढ्थ्यो । राइड सेयरिङको अर्को एउटा फाइदा भनेको पार्किङ लटमा कम चाप हुनुुु हो । काठमाडौँमा पार्किङ स्थान नपुग्ने स्थितिमा छ । सबै जना आ–आफ्ना गाडी र बाइक लिएर गन्तव्यमा गएर पार्क गर्न खोज्नुभयो भने समयको बर्बादी र पार्किङ स्पट नपाउने पनि ठूलो समस्या हुन्थ्यो । त्यही कारण राइड सेयरिङले त उल्टो ट्राफिक व्यवस्थापनमा टेवा पु-याएको छ । अहिलेसम्म ट्राफिक प्रहरीलाई पनि क्लियर जनादेश आएको छैन । कसरी यसलाई व्यवस्थापन गर्ने, रोक्ने वा नरोक्ने, कुन–कुन ठाउँमा चढ्ने र ओराल्ने जस्ता कुराहरू उहाँहरूलाई पनि निर्देशन आएपछि यो अहिलेभन्दा झनै राम्रो भएर जान्छ । उहाँहरूले व्यवस्थापन गर्न नसकेको पनि होइन, व्यवस्थापन आफ्नो ठाउँबाट गर्दै हुनुहुन्छ, तर अब राइड सेयरिङलाई मध्यनजर गरेर केके गर्नुपर्ने भन्ने विषयमा सोच्नचाहिँ बाँकी छ ।

भावी दिनमा पठाओ कसरी अगाडि बढ्छ ? उपत्यकाको सेवा विस्तार मोफसलमा हुन्छ कि हुन्न ?
पठाओ भनेको एउटा नितान्त राइड सेयरिङ कम्पनी होइन, यो एउटा अन डिमान्ड इकोनोमीलाई प्रोत्साहन गर्ने कम्पनी हो, जहाँ राइड सेयरिङ एउटा पाटो मात्र हो । हामीले राइड सेयरिङबाहेक ट्याक्सी सेवा पनि अगाडि ल्याएका छौँ । त्यस सँगसँगै फुड डेलिभेरी (रेस्टुराँमा पाकेको खाना घरघरमा पु-याउने सेवा) पनि ल्याइसकेका छौँ । यस्तै नवीन सोचका केही सेवाहरू हामी अझै ल्याउँदै छौँ । साथै यो सेवालाई हामीले काठमाडौँ उपत्यकामा मात्र नभई अरू मुख्य सहरमा पनि लानको लागि अध्ययन गर्दैछौं, अध्ययनअनुसार हामी यो सेवा अरू सहरमा पनि छिटोभन्दा छिटो सुरु गर्छौं ।

राइड सेयरिङमा आउने समस्या केके हुन् ? कानुनी लडाइँ कहाँ पुगेको छ ?
सर्वप्रथम राइड सेयरिङ नेपालका लागि अहिलेको प्रसंगमा नियम–कानुन नभएको भएर हामीलाई काम गर्न एकदमै बाधा भइरहेको छ । यदि प्रस्ट नीतिगत व्यवस्था हुने हो भने हामीलाई काम गर्न धेरै सजिलो हुने थियो । अहिलेको समयको माग र आवश्यकताअनुसार काम गरिरहेका छौँ । केही नयाँ केही भिन्न गर्न खोज्यो भने यहाँ विरोध हुने भएर हामीले चाहेको जति काम गर्न पाइरहेका छैनौं । त्यही कारण सबैभन्दा पहिला त नेपालको सन्दर्भमा हामीलाई राइड सेयरिङको कानुन नै चाहिएको छ । त्यो कानुन आएपछि धेरै कुरा आ–आफ्नो ठाउँमा मिल्दै जान्छ र सायद ९० प्रतिशत हाम्रा समस्याहरू त्यहीँबाट समाधान हुन्छन् । २०७६ माघ २९ गते पाटन उच्च अदालतमा परेको रिटमाथि संयुक्त इजलासलबाट परमादेश जारी गर्दै पठाओलाई नरोक्नु, यदि राइड सेयरिङ रोकिएको खण्डमा हक, धेरै अधिकार हनन हुन्छ, यसलाई रोक्न मिल्दैन, यसलाई राम्रोसँग चलाउनका लागि चाहिने नीति बनाउनु भनेर मातहतको निकाय र महानगरीय ट्राफिक प्रहरीलाई आदेश दिएको छ । बागमती प्रदेशले जारी प्रदेश सवारी तथा यातायात ऐन– २०७५ मा दफा १३ को ४ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिएर यात्रु बिमा गरेर यात्रु ओसारपसार गर्न पाउने भनेर आएको छ । गैरकानुनी भएको भए बन्द गर भनेर आदेश आउने थियो होला, गर्न मिल्ने भनेर ऐनमा आएपछि कसरी गर्ने भन्नेबारेमा कानुन नआएको कार्यविधि मापदण्ड बनाउन भनेको हो ।

राइड सेयरिङका अवसर र चुनौती केके हुन् ?
मैले अघि भनेजस्तै राइड सेयरिङ भनेको अन डिमान्ड इकोनोमीको एउटा उदाहरण हो । प्रविधिमैत्री समाजको सिर्जना गर्नका लागि राइड सेयरिङ र यस्तै अरू अन डिमान्ड सेवाहरूले एकदमै ठूलो टेवा पु-याउँछन् । एप साक्षरता अर्थात् यो प्रविधि सिकाउने जुन कुरा छ यसमा हामीले पनि केही योगदान गरेका छौँ र हामीजस्ता अरू धेरै कम्पनीले पनि योगदान पु-याउनुभएको छ । यदि बिचौलियाहरू हट्दै जाने हो भने, यो अन डिमान्ड अथवा एपबाट गर्न मिल्ने कामहरू गर्न सक्यो भने हाम्रो सेवा प्रवाह गर्ने क्षमता अभिवृद्धि हुन्छ । चुनौतीको हकमा हामी जस्तो कम्पनीका लागि एड्भान्स्ड फोनजस्तै एन्ड रोइड अथवा आईओएस फोन चाहिने र इन्टरनेटको राम्रो पहुँच हनुपर्नेजस्ता चुनौतीहरू पनि छन् । एप साक्षरता पनि अहिलेका लागि ठूलो चुनौती छ । एप साक्षरता भयो भने हामी र हामीजस्ता अन डिमान्ड प्लेटफर्ममा सेवा दिने कम्पनीहरूले देश विकासमा ठूलो योगदान पु-याउन सक्छन् ।

यात्रुले मैले गर्ने यात्रा सुरक्षित छ भनेर कम्पनीले कसरी सुनिश्चित गरेको छ ? पछिल्लो समय यात्रु सवार केही दुर्घटना भएका छन्, यस्तो अवस्थामा कम्पनीले यात्रुलाई कसरी क्षतिपुर्ति गरेको छ ?
हामीले हाम्रा सेवाप्रदायकहरूलाई सेवा प्रदान गर्नुभन्दा अगाडि नै एउटा क्लास लिएका हुन्छौं । त्यो क्लासमा शिष्टाचार, मितव्ययिताजस्ता कुराहरू जुन नैतिक शिक्षामा पर्ने कुरा हो । त्यस्ता कुराहरू पनि हामीले सिकाउँदै आएका छौँ । त्यो सँगसँगै अपराध भनेको के हो, केके कार्यले फौज्दारी अपराधलाई आकर्षण गर्न सक्छ भनेर पनि हामीले सिकाएका हुन्छौं । यो हाम्रो प्रोएक्टिभ भागको काम भयो । यदि राइडका क्रममा कसैले केही गरेको खण्डमा हाम्रो एपमा इमर्जेन्सी सिग्नल छ, जुन थिच्नेबित्तिकै प्रहरी कन्ट्रोल रुम अथवा ट्राफिक प्रहरीमा फोन जान्छ । यसरी प्रहरीबाट पनि सहायता लिन मिल्छ । कम्पनीले हरेक राइडको विवरण आफ्नो सर्भरमा राखेको हुन्छ, त्यो सर्भरबाट पनि लाइभ ट्र्याकिङ गर्न सकिन्छ । हाम्रा हरेक सेवाप्रदायकहरूको लाइसेन्सको प्रतिलिपि राखेका हुन्छौं, फोन नम्बर रजिस्ट्रर गरिएको हुन्छ । त्यही कारण केही अप्रिय घटना घट्यो भने पनि उहाँहरूलाई समात्न एकदम सजिलो हुन्छ र त्यो डरले पनि अप्रिय घटना घट्ने सम्भावना न्यून हुन्छ । अर्को कुरा, पठाओको हरेक राइडमा बिमाको सुविधा राखिएको छ । त्यो बिमाको सुविधाबाट दुर्घटना हुँदा उहाँहरूले उपचार खर्च १ लाखसम्म कभर हुन्छ र मृत्यु भएमा ५ लाखसम्म कभर गर्छ । पठाओ बिमाको अधिकतम भुक्तानी ६ लाखसम्मको छ ।

पठाओ नेपालले कति रोजगारी दिएको छ ?
पठाओ नेपालमा दुई किसिमको रोजगारी छ । एउटा आंशिक रोजगारी छ भने अर्को छ पूर्ण रोजगारी छ । आंशिक रोजगारीलाई पूरक रोजगारी पनि भन्न मिल्छ । उहाँहरू कुनै अफिसमा पूरा दिन काम गर्नुहुन्छ र बिहान–बेलुका अलि अलि काम गरेर उहाँहरूले आंशिक रोजगारी पाउनुभएको छ । सो रोजगारी पाउनेमा विद्यार्थीवर्ग धेरै हुनुहुन्छ जो कलेज सक्काएपछि केही घण्टा काम गर्नुहुन्छ । पूर्ण रोजगारी गर्ने व्यक्तिहरू बिहानदेखि बेलुकासम्म पनि यसमा खटिनुहुन्छ, जसको संख्या १५ हजारभन्दा बढी छ । पठाओमा फरक क्षमता भएका चारपाङ्ग्रे स्कुटी चलाउने साथीहरूदेखि बच्चा स्कुल पठाएर दिउँसोको समय सदुपयोग गर्ने आमाहरूसमेतले यो प्लेटफर्मको सदुपयोग गरिरहनुभएको छ । हाल पठाओमा बाइक राइडर, क्याप्टेन (ट्याक्सी चालक) र फुडम्यान गरी करिब १ लाख आबद्ध भइसक्नुभएको छ । योबाहेक अप्रत्यक्ष रोजगारी पठाओको सेवाबाट लाभ गर्ने अरू रोजगारदाता जस्तै मेकानिकहरू पनि हुनुहुन्छ । करिब १५ हजार मोटरसाइकल र ३ देखि ४ हजार ट्याक्सी सक्रिय राइडर रहेका छन् । नेपालमा राइडरबाहेक करिब अन्य १ सयले रोजगार प्राप्त गरेका छन् ।

पठाओ नेपाललाई सरकारले किन कानुनी मान्यता दिनुपर्छ ?
हामीसँग केही हदसम्मको कानुनी मान्यता त भइ नै सकेको छ । हामी दर्ता भएको कम्पनी हौं । हामीले कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरेको, उद्योग विभागमा दर्ता भएर राष्ट्रिय बैंकबाट अनुमति लिएर वैदेशिक मुद्रा नेपाल भित्र्याएका हौं । पठाओ नेपाल प्रालि एक वैधानिक कम्पनी हो । पठाओ नेपाल प्रालिले चलाउने पठाओ एपभित्रको बाइकवाला राइड सेयरिङलाई चाहिँ तपाईंले कानुनी मान्यता नभएको भन्न खोज्नुभएको होला, त्यसका लागि पाटन उच्च अदालतले सवारी यातयात व्यवस्था ऐन–२०४९ मा निजी सवारीले यात्रु बोक्नु गैरकानुनी भनेको छ । सस्तो, छिटो र सहजताका लागि राइड सेयरिङका प्रयोग कानुनअनुसार भएन भन्ने आरोप छ नि ? बाध्यबारी हुँदैन, २०७६ फागुन २९ गतेको निर्णयबाट यो सेवा चल्न दिनुपर्छ र सो चल्नका लागि नेपाल सरकारले छिटोभन्दा छिटो नीतिनियम ल्याउन आदेश आइसकेको छ । हामी त्यही आदेशको पालना भएको हेर्ने पर्खाइमा छौँ ।

पठाओले आजसम्म आउँदा के–कस्तो समस्या भोग्नुप-यो, सरकारले कसरी सहजीकरण गर्नुपर्छ ?
हामीले सामाजिक रूपान्तरण गर्नुप-यो, जहाँ एउटा राम्रो जागिर भएको व्यक्तिले पनि राइडर भएर राइड लिँदा उहाँलाई पनि बेइज्जति महसुस नहुने र अन्जान व्यक्तिको बाइकपछाडि बस्न पनि भरोसा निर्माण गर्नका लागि कस्टुमरलाई पनि हामीले संलग्न ग-यौं र विस्तारै समाजै परिवर्तन हँुदै गयो । त्यससँगसँगै सरकारले पनि सुरुमा चाहिँ गलत फहमीका कारणले के हो, कसो हो, यसलाई रोक्ने प्रयास सरकारको कुनै निकायबाट भएको थियो । प्रधानमन्त्रीज्यूले हस्तक्षेप गर्नुभएर अहिले नरोक्नु, बरु यसको कानुन बनाउनु भनेर आदेश दिनुभएपछि पनि केही साथीहरूले पाटन उच्च अदालतमा मुद्दा दायर गर्नुभयो र मुद्दा किनारा लाग्दाखेरि पठाओ नवीन सोच हो, यसलाई चल्न दिनपर्छ भनेर परम आदेश पनि जारी भयो । यो समयकालखण्डमा चाहिँ परिवर्तन गर्न नचाहने केही तŒवहरूले यसलाई रोक्न खोजे, तर परिवर्तन भनेको राम्रो हो भन्नेहरूले यसलाई अगाडि बढ्नलाई हौसला दिंँदै जानुभयो ।

पठाओले पछिल्लो समय फुड सर्भिस पनि दिएको छ, यसप्रति सेवाग्राहीको आकर्षण कस्तो छ ?
नेपालमा सायद पठाओ सबैभन्दा चाँडो खाना पु-याउने फुड सर्भिस हुन सक्छ । हाम्रो तथ्यांकअनुसार पनि यही छ र त्यो कारणले गर्दा सेवाग्राहीहरू पठाओ फुडबाट अर्डर गर्नुहुन्छ । हामीले अहिले औसतमा ३८ मिनटेमा खाना पु-याएका छौँ । त्यो गरेपछि भोक लाग्न पा’ छैन, कसैले अर्डर गरेर भोक टर्नुअगाडि नै खाना पु-याउन हामी चाहन्छौं र त्यसकै लागि हामी लागिपरेका छौँ ।

पठाओ अन्य कम्पनीभन्दा कसरी फरक छ ?
नेपालमा अरू एपहरू युनिफाइड छैनन् । यहाँ धेरै टेक बेस्ड स्टार्टअपहरू छन्, जसले केवल एउटा मात्र सेवा दिइरहेका छन् । त्यो एउटा मात्र सेवा दिएर उहाँहरूले आफ्नो परिचय बनाउँदै हुनुहुन्छ भने पठाओले चाहिँ एउटै प्लेटफर्ममार्फत दिइरहेको छ र यो सेवाहरू थप्ने क्रम जारी छ । साथै हाम्रो एप युजर फ्रेन्ड्ली भएकाले चलाउन सजिलो छ । राइड सेयरिङमा बिमा प्रदान गर्ने हामी पहिलो र एकमात्र कम्पनी हौं ।

Source: Karobardaily

Facebook Comments