सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब माथि पुग्यो

काठमाडौं- मुलुकको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिना (साउन–पुस)सम्ममा १ खर्ब २ अर्ब ३ करोड थप वृद्धि भई सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको हो । यो कुल गार्हस्थ्य उत्पादनको ४४.४६ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋणको हिस्सा २१.६४ प्रतिशत र बाह्य ऋणको अनुपात २२.८१ प्रतिशत रहेको छ ।

सरकारले प्रत्येक वर्ष बजेटको आकार बढाउँदै ल्याएको छ । तर, त्यसअनुसार राजस्व असुली बढ्न सकेको छैन । यही कारण सार्वजनिक ऋणको आकार बढ्दै गएको हो । त्यसमा पनि पछिल्लो वर्षमा ऋण उच्च दरले बढ्दै गएको छ । सार्वजनिक कार्यालयका अनुसार यस वर्षको पुस समान्तसम्म विनिमय दरमा भएको परिवर्तनले ११ अर्ब ६१ करोड सार्वजनिक ऋण दायित्व वृद्धिमा प्रभाव परेको छ । कुल सार्वजनिक ऋणमा पुससम्ममा वैदेशिक ऋणको हिस्सा ५१.३१ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४८.६८ प्रतिशत रहेको छ ।

कार्यालयका अनुसार चालु आवको पहिलो ६ महिनामा आन्तरिक ऋण १२ खर्ब ३४ अर्ब ७१ करोड पुगेको छ भने बाह्य ऋण १३ खर्ब १ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए । बजेटमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको छ भने ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । पुससम्म २ खर्ब ४० अर्ब ८ करोड ऋण प्राप्ति भएको छ ।

यो वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ४३.८९ प्रतिशत रहेको छ । यसमध्ये आन्तरिक ऋणको हिस्सा ५४.८६ प्रतिशत प्राप्ति गरेको हो भने बाह्य ऋणको हिस्सा २७.२० प्रतिशतमात्र प्राप्ति गरेको हो । चालु आवमा सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण लिने लक्ष्य छ । जसमा पुस महिनासम्म १ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ प्राप्ति गरेको छ । यस्तै, बाह्य ऋण २ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखिएकोमा पुससम्ममा ५९ अर्ब ३ करोड रुपैयाँ मात्र प्राप्ति गरेको छ ।

सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । कार्यालयका अनुसार पुस मसान्तसम्म १ खर्ब ८२ अर्ब ४० करोड खर्च भइसकेको छ । यो विनियोजनको तुलनामा ४५.२८ प्रतिशत रहेको छ । यस्तै, कुल गार्हस्थ्य उत्पादनको आधारमा पुससम्ममा कुल ऋण सेवा खर्च ३.२० प्रतिशत रहेको छ ।

यसबीच आन्तरिक ऋणको ब्याज भुक्तानीमा २७ अर्ब ९५ करोड र साँवा भुक्तानीमा १ खर्ब २७ अर्ब रुपैयाँ खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा २२ अर्ब २० करोड र ब्याज भुक्तानीमा ४ अर्ब २७ करोड खर्च भएको कार्यालयले जनाएको छ ।

news Source: karobardaily