नेपालका खेलाडीहरुले विश्व स्तरीय बुद्धिचाल प्रतियोगितामा भाग लिदै

काठमाडौं : नेपालका बुद्धिचाल खेलाडीले विश्व वरीयतामा शीर्ष १०औं स्थानमा रहेका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्। नेपाल बुद्धिचाल संघले साउन १ गते आयोजना गर्न लागेको अनलाइन प्रतियोगितामार्पmत नेपाली खेलाडीले विश्वका चर्चित खेलाडीसँग खेल्ने मौका पाउन लागेका हुन्।

प्रतियोगितामा नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं, शीर्ष वरीयताका विवेक लामा, फिडे मास्टर मनिष हमाल, महिला च्याम्पियन सुजना लोहनीलगायत १५ जना, विभिन्न उमेर समूहका १० र छैटौं राष्ट्रिय प्रतियोगिताका पाँच महिला खेलाडीसहित ३० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

भर्चुअल प्रतियोगितामा नेपाली खेलाडीले ग्रान्ड मास्टर अनिष गिरीसँग प्रतिस्पर्धा गर्न पाउनु नेपाली चेसका लागि ठूलो उपलब्धि हुने नेपाल बुद्धिचाल संघले जनाएको छ। अनिषसँग प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीको छनोट भइसकेको छ। नेपाली मूलका अनिष नेदरल्यान्ड्सका स्थायी बासिन्दा हुन्। उनका बाबु सञ्जय गिरी लामो समयदेखि नेदरल्यान्ड्समा बस्दै आएका छन्। उनकी आमा रसियन हुन्।

अनिष सन् २०१४ मा १४ वर्षको उमेरमै ग्रान्ड मास्टर बनेका थिए। सन् २०१६ मा विश्व वरीयतामा तेस्रो स्थान हासिल गरेका उनले सन् २०२० मा अन्तर्राष्ट्रिय बुद्धिचाल संघले गरेको वरीयतामा १०औं स्थान ओगटेका थिए। उनले नेदरल्यान्ड्सबाटै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्दै आएका छन्। अनलाइन प्रतियोगिता सिनियर र विभिन्न उमेर समूहका गरी ३० जनाले प्रतिस्पर्धा गर्ने छन्।

Source :Annapurnapost

Facebook Comments