प्युठान — देश निर्माण र आर्थिक सुधारको अभियानलाई अझ सबल बनाउने प्रतिबद्धतासहित प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस प्युठानको तर्फबाट उम्मेदवारको रुपमा प्रस्तुत हुनु भएका डा. गोविन्द राज पोख्रेलले भारत र चीनबीच रहेको नेपालको रणनीतिक भौगोलिक अवस्थाले व्यापार, ऊर्जा, ट्रान्जिट र सेवा क्षेत्रमा विशाल अवसर सिर्जना गरेको उल्लेख गर्दै, ती अवसरको सदुपयोगमार्फत समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।
उहाँका अनुसार हाल नेपालको प्रति व्यक्ति आय १,४०० अमेरिकी डलर नाघिसकेको र विश्वव्यापी आर्थिक संकटका बाबजुद पनि देशले क्रमिक प्रगति गरिरहेको विश्लेषण छ। प्रा. पोख्रेलका अनुसार निरन्तर ७ प्रतिशत वार्षिक आर्थिक वृद्धि कायम राख्न सकिए आगामी १० वर्षभित्र नेपालको प्रति व्यक्ति आय २,८०० अमेरिकी डलर पुर्याउन सकिन्छ। यो लक्ष्य सम्भव, व्यवहारिक र राष्ट्रिय प्रतिबद्धता तथा कानुनी–नीतिगत सुधार र उच्च क्षमताको परिचालनबाट हासिल गर्न सकिनेछ ।
प्युठान जिल्ला नेपाली कांग्रेसका उम्मेदवार प्रा. डा. गोविन्द राज पोख्रेल ले सुशासन कायम गर्दै अनुत्पादक र फजुल खर्च कटौती गर्नुपर्नेमा जोड दिनुका साथै, देशको सबैभन्दा ठूलो पूँजीका रूपमा रहेको युवा जनशक्तिलाई सीप, प्रविधि र उद्यमशीलतामार्फत स्वदेशमै नयाँ आर्थिक सम्भावना सिर्जना गर्ने नीतिगत र प्रक्रियागत वातावरण निर्माण गर्न संसदको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नु भएको छ ।
आउँदो निर्वाचनमा प्यूठानी जनताले आफुलाई सदनमा पुग्ने अवसर प्रदान गरे आफ्नो योग्यता र लामो अनुभवका आधारमा यिनै सकारात्मक पहलहरू संसदमा अघि बढाउने उहाँले आफ्नो सामाजिक संजाल मार्फत प्रकाश पार्नुभएको छ।






