बजारमा सधै अगाडि वर्ल्डलिंकको कारोबार अन्य सेवाप्रदायको तुलनामा निकै राम्रो छ । एक वर्षमा साढे नौ लाख ग्राहकलाई सेवा दिएको वर्ल्डलिंकपछि दोस्रो स्थानमा देखिएको नेपाल टेलिकमको फाइवरनेट हो । यसको ग्राहक संख्या जम्मा साढे तीन लाख मात्रै छ । सेवा र सुविधाको हिसावले भने गतवर्ष छैटौँ स्थानमा रहेको टेलिकम यो वर्ष दोस्रो स्थानमा आउन सफल भएको हो ।
काठमाडौं । नेपालको इन्टरनेट सेवामा अब्बल हुँदै अग्रणी वर्ल्डलिंक एक्लैको बजार हिस्सा ३१.८८ प्रतिशत रहेका छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८१ मंसिरसम्मको तथ्यांकअनुसार वर्ल्डलिंकको ग्राहक संख्या ९ लाख ५२ हजार पुगेको छ ।
वर्ल्डलिंकले गत वर्ष २०८० को सोही अवधिको तुलनामा एक लाखभन्दा बढीले ग्राहक संख्या बढाउँदै बजार हिस्सा पनि ४.२३ प्रतिशतले बढाउन सफल भएको हो । यो कम्पनीको गत वर्ष ८ लाख ४७ हजार ग्राहक हुँदा बजार हिस्सा २७.६७ प्रतिशत थियो।
नेपालको इन्टरनेट सेवामा लामो समयदेखि अब्बल हुँदै आएको यो कम्पनीले २५ वर्षदेखि निरन्तर सेवा दिइरहेको छ । लामो समयको सेवा र ग्राहकप्रतिको विश्वास बढाउन सफल भएकै कारण बजारमा १०९ वटा इन्टरनेटको तुलनामा वर्ल्डलिंक अग्र स्थानमा छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार हाल ११० वटा सेवाप्रदायकले इन्टरनेट सञ्चालनको अनुमति लिएका छन् । यी सेवाप्रदायक मध्ये पनि नियमित विवरण बुझाउने र ग्राहक सेवामा प्रतिवद्ध भएका सेवाप्रदायक भने सीमित छन् । प्राधिकरणले नै ग्राहक सेवामा प्रतिवद्ध भएका २० कम्पनीको मात्रै विवरण सार्वजनिक गरेको छ ।
बजारमा प्रतिस्पर्धी कम्पनी बढ्दै गएको र नयाँ कम्पनीले ग्राहक संख्या बढाउँदै जादाँ पनि वर्ल्डलिंकको बजार हिस्सा भने बढ्दै गएको छ । दूरसञ्चार प्राधिकरणका एक अधिकारीका अनुसार वर्ल्डलिंकले नेटवर्क बनाएको र यसले निःशुल्क वाईफाईको नाममा ब्याकबोण्डसमेत तयार पारेकोले यसका ग्राहक बढ्दै गएका हुन् । ति अधिकारीले भने, ‘ग्राहकले सेवा सुविधा र सहजता खोज्ने हुन, अन्यको तुलनामा नेटवर्क बनाइसकेको र लामो समयदेखि सेवा दिएको हुँनाले बढी बजार हिस्सा हुनु सामान्य हो ।’
पछिल्लो समय सेवा सुविधा र सजगता मात्रै नभएर आफ्टर मेन्टिनेन्सलाई पनि ग्राहकले बढी महत्व दिने गरेका छन् । ग्राहकलाई जुन कम्पनीले बढी विश्वास दिलाउँदै जान्छ त्यसैको इन्टरनेटको प्रयोगकर्ता बढ्दै जान्छन् । त्यसका लागि भने सेवाप्रदायकले ग्राहकलाई दिने सेवाको गुणस्तर र भनेजतिको स्पिड दिएकाहरुको अवस्थामा बजार हिस्सा बढ्दै जाने पनि प्राधिकरणकै तथ्यांकले देखाएको छ ।
वर्ल्डलिंकले गत आर्थिक वर्ष २०७९/८० मा दूरसञ्चार प्राधिकरणलाई बुझाएको विवरण अनुसार यसको कुल आम्दानी ५ अर्ब ५९ करोड रुपैयाँ छ । दूरसञ्चार सेवाप्रदायकले कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष शुल्क बुझाउनुपर्छ । सोही शुल्कका आधारमा वर्ल्डलिंकले सो आर्थिक वर्षमा कमाएको आम्दानी साढे ५ अर्ब भन्दा बढी हुन आउँछ । यस्तो आम्दानी पछिल्ला वर्षहरुमा थप बढ्दै गएको छ ।
गत मंसिरसम्ममा वर्ल्डलिंकका ग्राहक साढे ९ लाख पुगेको छन् । यी ग्राहकले औसतमा मासिक न्यूनतम १५ सय रुपैयाँ तिर्छन् । वर्ल्डलिंकले ग्राहकबाट वार्षिक संकलन गर्ने कुल आम्दानी औसतमा १५ हजार रुपैयाँ मात्रै वार्षिक संकलन गर्दा पनि यसको आम्दानी १४ अर्बभन्दा माथि पुगिसकेको प्राधिकरणकै तथ्यांकले देखाउँछ ।
वर्ल्डलिंकको वास्तविक आम्दानी भने आर्थिक वर्ष २०७९/८० मा १० अर्ब ३८ करोड रुपैयाँ भएको यो कम्पनीको अडिट रिपोर्टमा उल्लेख छ । यसले अघिल्लो वर्ष ९ अर्ब ४२ करोड रुपैयाँ आम्दानी गरेको देखिएको छ । गत वर्ष २०८० मंसिरसम्ममा वल्र्डलिंकका ग्राहक ८ लाख ४७ हजार छन् । यस्ता ग्राहक २०७९ को सोही अवधिमा ७ लाख १७ हजार रहेको छन् । पछिल्लो ५ वर्षको तथ्यांक अनुसार वल्र्डलिंकका ग्राहक वार्षिक एक लाख भन्दा बढीले बढीरहेका छन् ।
छैटौँ स्थानमा रहेको टेलिकम दोस्रो स्थानमा
बजार हिस्साका आधारमा गत वर्ष २०८० को मंसिरसम्ममा छैटौँ स्थानमा रहेको नेपाल टेलिकम दोस्रो स्थानमा आएको छ । टेलिकमले फाइवरटु होमबाट फाइबरनेट सेवा दिँदै आएको छ । यो कम्पनीले २०८१ मा ३ लाख ४७ हजार ग्राहक बनाएको छ । यसको ग्राहक संख्या अघिल्लो वर्ष सोही अवधिमा यसका ग्राहक २ लाख ७३ हजार मात्रै थिए ।
गत वर्ष मंसिरसम्ममा छैटौँ स्थानमा रहेको टेलिकमले एकै वर्ष ७९ हजार ग्राहक बढाउँदा यसको बजारमा उपस्थिति पनि उल्लेख्य देखिएको छ । गत वर्षसम्म टेलिकमभन्दा अगाडि डिस होम, भायनेट, क्लासिक टेक, र सुविसु थिए । अहिले यी सबै सेवाप्रदायकलाई पछि मात्रै टेलिकम दोस्रो स्थानमा आइपुगेको हो ।
नेपाल टेलिकमले देशैभरी सेवा विस्तारको रणनीति बनाएको, प्रतिस्पर्धी कम्पनीसँगको तुलनामा सस्तो प्याकेज दिएको र इन्टरनेटको स्पिडसमेत ग्राहकलाई प्रतिवद्धताअनुसार नै दिएकोले सरकारी सेवाप्रतिको विश्वास बढ्दै गएको दाबी टेलिकमको छ । टेलिकमले पछिल्लो समय फाइवर इन्टरनेटमा ग्राहकलाई विश्वास्त बनाउन सकेकै कारण ग्राहक संख्या विस्तारै बढ्दै गएको टेलिकमको भनाइ छ ।
प्राधिकरणको तथ्यांकअनुसार बजार हिस्सामा अग्रणी कम्पनीमध्ये तेस्रो स्थानमा डिस मिडिया नेटवर्क छ । यसको ग्राहक संख्या ३ लाख ३४ हजार छ । चौथो स्थानमा सुविसु छ । यसको ग्राहक संख्या ३ लाख ५ हजार छ भने छैटौ स्थानमा भायनेट छ । यसको ग्राहक संख्या ३ लाख १७ हजार रहेको तथ्यांकले देखाएको छ ।
News Source: clickmandu