प्युठानमा डा. गोविन्द राज पोख्रेलका योजनाहरू प्रति चासो बढ्दै

माघ २५ ,प्युठान

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिनु भएका प्रा. डा. गोविन्द राज पोख्रेलका योजनाहरु प्रति प्युठानी युवाहरूको चासो बढ्न थालेको छ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहनु भएका डा. पोख्रेलले नीतिगत तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका उम्मेदवारको रुपमा चिनिनुहुन्छ। विषय विज्ञता, कार्य अनुभव र प्युठानको चौतर्फी विकासका स्पष्ट योजनाका कारण युवाहरू उहाँप्रति आकर्षित हुँदै गएको बताइन्छ।

डा. पोख्रेलले आफू निर्वाचित भएपश्चात मुख्यतः दुई पाटोमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पहिलो, नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि नीतिगत, कानुनी तथा संस्थागत सुधार ल्याउन पहल गर्ने र संसदमा दक्षतापूर्वक भूमिका निर्वाह गर्ने। यस अन्तर्गत विकाससँग सम्बन्धित नीतिगत विषय, पुँजीगत खर्चको अवस्था र सुधार, स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन, व्यापार घाटा न्यूनीकरण, सार्वजनिक संस्थानहरूको कार्यसम्पादन र विदेशी मुद्रा सञ्चितिजस्ता विषयमा काम गर्ने उहाँको भनाइ छ।

दोस्रो, प्युठान जिल्लाको प्रत्यक्ष विकासलाई प्राथमिकतामा राख्दै स्वर्गद्वारी क्षेत्रको विकास, नौमुरे सिँचाइ आयोजना, राजमार्ग विस्तार, सिँचाइ योजनाहरू, शिक्षा र सीप विकासमा सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य, साथै नदी नियन्त्रणका योजनाहरू अघि बढाइने बताउनुभएको छ।

डा. पोख्रेलका यी योजनाहरूले जिल्लाको समग्र विकास र युवाको भविष्य सुनिश्चित हुने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।