प्युठान — नेपाली साहित्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएकी कवयित्री तथा सरकारी विद्यालयकी शिक्षिका राजकुमारी कुँवर ‘सानु गुल्मेली’को नयाँ कविता संग्रह ‘उल्टो थपडी’ एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

गुल्मीमा जन्म भई हाल प्युठानलाई कर्मथलो बनाउनु भएकी कुँवरले आफ्ना सिर्जनशील लेखनमार्फत समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै आउनु भएको छ। उहाँका कविताहरूमा जीवनका गहिरा अनुभूति, समाजका नबोलिएका कथाहरू तथा चेतनाका सूक्ष्म स्पन्दनहरू कलात्मक रूपमा अभिव्यक्त हुने उहाँका सहकर्मी शिक्षक सुवास भण्डारी बताउनु हुन्छ।

लुम्बिनी नाट्य प्रतिष्ठान, प्युठान शाखाकी अध्यक्ष तथा लुम्बिनी प्रदेश बालसाहित्य समाजकी सचिव समेत रहनु भएकी कुँवरको यसअघि ‘ऐंजेरु’ नामक कथा संग्रह पनि प्रकाशित भइसकेको छ।
साहित्यिक योगदानलाई निरन्तरता दिँदै आएको उहाँको ‘उल्टो थपडी’ संग्रहले नेपाली साहित्य क्षेत्रमा थप नयाँ आयाम थप्ने अपेक्षा साहित्य परिषद् प्युठान परिवारले गरेको छ। संग्रहमा ४३ वटा कविता समावेश गरिएका छन्।
कविता संग्रह बजारमा छिट्टै उपलब्ध हुने प्रकाशकले जानकारी समेत गराएको छ।
सम्पर्क ९८६६९७५२५७
कविता संग्रह ‘उल्टो थपडी’






