राष्ट्रिय साइबर ओलम्पियाडमा उपत्यकाका ३१ विद्यालयलाई पछि पार्दै त्रियोग हाई स्कुल प्रथम

काठमाडौं ।

राष्ट्रिय साइबर ओलम्पियाडको पाँचौं संस्करणको अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगितामा त्रियोग हाई स्कुल प्रथम भएको छ । पाइला क्रिएसनको व्यवस्थापन तथा टेक्स्पायर कलेजको मुख्य प्रायोजनमा सोमबार सम्पन्न ओलम्पियाडमा काठमाडौं उपत्यकाका ३१ विद्यालयलाई पछि पार्दै त्रियोग हाई स्कुल विजयी बनेको हो । 

त्यस्तै माउन्ट एसईबी स्कुल, सैनिक आवासीय महाविद्यालय र बुढानीलकण्ठ स्कुल क्रमशः दोस्रो, तेस्रो र चौथो भए । उनीहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र अन्य उपहार वितरण गरिएको थियो । प्रतियोगितामा काठमाडौं उपत्यकाका ३२ विद्यालयका ९६ जना विद्यार्थीहरू सहभागी थिए । 

प्रतियोगितामा सूचना प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्याम्ब्लिङ र ग्यास्पिङ राउन्डमा विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराइएको थियो । जसमा क्वालिफाइङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा प्रतिस्पर्धा भएको थियो ।

सूचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत विद्यार्थीहरूले प्रतिस्पर्धा मार्फत सूचना प्रविधिको ज्ञान हासिल गर्ने र सो क्षेत्रमा आफूलाई अद्यावधिक राख्ने आयोजकको विश्वास छ ।

कार्यक्रममा बोल्दै सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा सूचना प्रविधिको ज्ञान बढ्ने बताए । कार्यक्रमका संस्थापक अध्यक्ष लक्ष्मण पोखरेलले निकट भविष्यमा राष्ट्रिय साइबर ओलम्पियाडको +२ संस्करण आयोजना गर्ने जानकारी दिए ।

News Source: Techpana