प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहिता उल्लंघन गरे कडा कारबाही हुने

काठमाडौँ — प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेसँगै सोमबार मध्यरातदेखि मौन अवधि लागू भएको छ।

निर्वाचन आयोग का अनुसार मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान प्रक्रिया सम्पन्न नभएसम्म कायम रहने यस अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचार–प्रसार, भाषण, सभा–भेला, छलफल, समीक्षा तथा मतदातालाई प्रभाव पार्ने गतिविधि गर्न पाइने छैन।

मतदानका क्रममा प्रतिस्पर्धी उम्मेदवार वा समर्थकबीच विवाद, झडप वा अप्रिय घटना नहोस् र मतदाता निर्भय वातावरणमा मतदान गर्न सकून् भन्ने उद्देश्यले मौन अवधि व्यवस्था गरिएको आयोगले जनाएको छ।

मौन अवधिमा मत माग्ने, सामाजिक सञ्जालमार्फत प्रचार गर्ने, वा निर्वाचन परिणामलाई प्रभाव पार्ने उद्देश्यले कुनै पनि किसिमको गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने गरी आर्थिक कारोबार वा अन्य अवैध गतिविधि गरेको पाइए उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउनेसम्मको कडा कारबाही हुन सक्ने चेतावनी दिएका छन्।

आयोगले सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई आचारसंहिता पालना गरी स्वच्छ, निष्पक्ष र मर्यादित रुपमा निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न आग्रह गरेको छ।