इलाम–१ मा नेपाली कांग्रेसका निश्कल राई विजयी

इलाम — फाल्गुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन्।

३५ वर्षीय राईले १४ हजार ५ सय ४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६ सय ३२ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी र एमालेबीच जितका लागि कडा प्रतिस्पर्धा भएको थियो।

शंकरदेव क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय रहँदै अघि बढेका राई कलेज जीवनमै कुशल कार्यक्रम प्रस्तोता तथा लोकप्रिय वक्ताका रूपमा परिचित थिए।

राईको विजयसँगै प्रतिनिधिसभामा नेपाली कांग्रेसको प्रत्यक्षतर्फको सिट संख्या १८ पुगेको छ।