प्रधानमन्त्री र मुख्यमन्त्रीहरू बीच तीन घण्टा संवाद, संघीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

बैशाख ३ ,काठमाडौँ — सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद सम्पन्न भएको छ।

संघीयता कार्यान्वयनका जटिलता समाधान, विकास निर्माणमा तीव्रता, स्रोत–साधनको समुचित बाँडफाँड तथा संघ–प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा केन्द्रित छलफल निकै अर्थपूर्ण र नतिजामुखी बनेको बताइएको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूका समस्या र सुझाव ध्यानपूर्वक सुन्दै प्राविधिक तथा व्यावहारिक समस्या समाधानका तत्काल उपायहरू सुझाउनुभएको थियो। उहाँले नीतिगत गाँठाहरू फुकाउन संघ र प्रदेशको साझा संयन्त्रमार्फत शीघ्र काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रधानमन्त्री शाहले संघ र प्रदेशबीचका अप्ठ्यारा समाधान गर्न सरकार सदैव तयार रहेको उल्लेख गर्दै प्रदेश सरकारले आफ्नै तहबाट गर्न सकिने सुधारका काम ढिला नगरी अघि बढाउन आग्रह गर्नुभयो। साथै, बजेट विनियोजनमा कुनै विभेद नहुने स्पष्ट पार्नुभयो।

बैठकपछि मुख्यमन्त्रीहरूले प्रधानमन्त्री शाहको संवादशील, सक्रिय र समाधानमुखी कार्यशैलीको प्रशंसा गर्दै छलफलबाट सकारात्मक सन्देश गएको बताएका छन्।