मंसिर २३, काठमाडौं ।
निर्वाचन आयोगले आजदेखि सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली दर्ता र अद्यावधिक कार्य पुनः सुरु गरेको छ । स्थानीय तह उपनिर्वाचनको मिति घोषणासँगै रोकिएको नामावली सङ्कलन अनलाइन माध्यमबाट सजिलै गर्न सकिने व्यवस्था आयोगले मिलाएको छ ।
आयोगको वेबसाइटमा रहेको प्रि-रजिस्ट्रेशन प्रणाली (applyvr.election.gov.np) मार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ । यस प्रणालीमार्फत कुनै व्यक्ति आफ्नो स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गरिरहेका भए पनि आवश्यक प्रमाणहरू अपलोड गरेर स्थायी ठेगानामा नाम दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।
नामावली दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य गरिएको छ । ठेगाना फरक भएमा बसाइँसराइ प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र वा अन्य आवश्यक कागजात अपलोड गर्नुपर्नेछ ।
त्यस्तै मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु भएका व्यक्तिको नाम अद्यावधिक गर्ने तथा बसाइँसराइको विवरण संशोधन गर्न पनि अनलाइन प्रणालीबाटै आवेदन गर्न सकिने आयोगले जनाएको छ ।
News Source: Tech pana