अमेरिकामा कामविहीन बन्दै नेपाली विद्यार्थी

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्कासन गर्ने योजना कार्यान्वयनमा ल्याएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली विद्यार्थीमा पनि परेको छ । गैरकानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यावसायिक फर्महरूमा छापा मारिरहेको छ ।

यसै क्रममा कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमतिपत्र (वर्क पर्मिट) भएकाबाहेकले व्यावसायिक फर्महरूमा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्कासन गर्ने गर्दै आइरहेको छ । यसैको प्रभावमा नेपाली विद्यार्थी परेका हुन् । उनीहरूलाई काम गरिरहेको भेटेमा प्रहरीले पक्राउ गर्न सक्छ ।

गैरआवासीय नेपाली संघ (एआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष अर्जुन बञ्जाडेले इन्डोर कलेजबाहेक अमेरिकामा विदेशी विद्यार्थीले काम गर्न पाउने कुनै प्रावधान नरहेको बताउँछन् । उनले हाल गैरकानुनी आप्रवासीलाई मात्र होइन, गैरकानुनी काम गरिरहेका जोकोहीलाई पनि प्रहरीले पक्राउ र निष्कासन गरिरहेको र यसको जोखिममा नेपाली विद्यार्थी पनि परेको जनाए ।

‘म आफैं मेरिल्यान्डमा कलेज पढाउँछु, विद्यार्थीको अवस्था मलाई थाहा छ । अहिले विद्यार्थी समस्यामा परेका छन् । उनीहरू कामविहीन मात्र भएका छैनन्, पढाइ पूरा गर्न पनि नसक्ने अवस्थामा छन्,’ कान्तिपुरसँग उनले भने, ‘विदेशी विद्यार्थीले यहाँ कलेजबाहिर काम गर्न पाउँदैनन् । वर्क पर्मिट लिएर काम गर्ने नेपाली विद्यार्थी अत्यन्त न्यून छन् । वर्क पर्मिट लिन विद्यार्थीलाई निकै गाह्रो हुने भएकाले उनीहरूले आपसी समझदारीमा काम गर्दै आइरहेका छन् ।’

Nepalese student becoming jobless in America

एआरएनए अमेरिकाको तथ्यांकअनुसार हाल अमेरिकामा करिब ५० हजार नेपाली विद्यार्थी छन् । एआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बञ्जाडेले पछिल्लो ३ वर्षमा अमेरिकामा नेपाली विद्यार्थीको संख्या बढ्दो रहेको बताए । नेपाली विद्यार्थीको संख्या एउटै कलेजमा एक हजारभन्दा बढी रहेको उनको दाबी छ । उनका अनुसार न्युयोर्क, टेक्सास, क्यालिफोर्निया, भजिर्निया, फ्लोरिडा, ओक्लाहोमा, ओहायो, नर्थ क्यारोलाइना, कोलोराडो, वासिङ्टन, मेरिल्यान्ड र मासाच्युसेट्समा नेपाली विद्यार्थी बढी छन् ।

अमेरिकामा विदेशी विद्यार्थीले इन्डोर कलेज वर्क गर्न पाउने प्रावधान छ । प्रायः ठूला युनिभर्सिटीमा सीमित संख्यामा ‘इन्डोर कलेज वर्क’ पाउने भएकाले कम्युनिटी कलेजमा अध्ययन गर्ने विद्यार्थीका लागि व्यावसायिक फर्महरूमा काम खोज्नुको विकल्प छैन । युनिभर्सिटीले ‘सोसल सेक्युरिटी नम्बर’ (सामाजिक सुरक्षा दर्ता) लिई करको दायराभित्र रहेपछि मात्र इन्डोर कलेज वर्क गर्न पाइन्छ ।

यसअन्तर्गत कलेज प्रशासनले लाइब्रेरी, रेसिडेन्ट हल, कन्फरेन्स हल, किचेन व्यवस्थित गर्ने काम साताको २० घण्टासम्म गर्न दिन सक्छ । एकातर्फ संख्या सीमित हुने र धेरै समय नहुने भएकाले अधिकांश विद्यार्थीले भने कलेजबाहिरै काम खोज्ने गर्छन् । जुन अमेरिकामा गैरकानुनी हो ।

News Source : Ekantipur